शिक्षाविद्को सुझाव : राम्रो गर्दिनँ भन्नेलाई ‘हस् त नमस्कार’, भन्नुस् ’

काभ्रे । शिक्षाविदले नपढाउने, पढाउन अल्छी गर्ने शिक्षकलाई बिदाई गर्न सुझाव दिएका छन् ।

माध्यमिक तहसम्मको शिक्षाको अधिकार पाएका स्थानीय तहका मेयर, उपमेयर, अध्यक्षलगायतका जनप्रतिनीधिलाई शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, पूर्व शिक्षा सचिव जनार्दन नेपाल, प्राध्यापक भोला केसी, डा. नवराज खतिवडाले नपढाउने शिक्षकलाई बिदा नगरेसम्म सामुदायिक विद्यालय नसुध्रिने निचोड निकालेका हुन् ।

काभ्रेको नाङ्शाल एसोशिएसन र जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको विद्यालय शिक्षामा स्थानीय सरकारको भूमिका विषय अन्तरक्रियामा प्रा. डा. कोइरालाले भने, ‘शिक्षक दरबन्दी सकेसम्म मिलाउनुस् नभए ठोक्नुस्, गर्ने उपाय त्यही हो ।’

उनले हालै मात्र शिक्षक सेवा आयोगले प्रकाशन गरेको अस्थायी शिक्षकहरुको नतिजा निक्कै खराब भएको सन्दर्भ जोड्दै ४० नम्बर पनि ल्याउन नसक्ने शिक्षकले शिक्षामा गुणस्तर ल्याउन नसक्ने बताए । ‘धेरै शिक्षक काम छैन भनेर बुझिसकेको अवस्था छ । अहिले जाँच दिएका अस्थायी शिक्षकहरुमध्ये ४० नम्बर पनि ल्याउन नसकेका शिक्षकहरु कति प्रतिशत छ भन्ने कुरा बुझिसकियो, दशा त त्यही हो । अब त्यही शिक्षकलाई कसरी राम्रो बनाउने भन्ने तरिका अपनाऔ,’ उनको सुझाव छ, ‘राम्रो बन्छु भन्ने शिक्षकलाई सुधार्नुस्, बन्न सक्दिन भन्नेलाई हस्त नमस्कार, तपाईं बिदा हुनुस् भनेर भन्नुस् । अब गर्नुपर्ने जरुरी त्यही हो ।

काभ्रेको स्थानीय तहका जनप्रतिनीधिहरुले शिक्षा क्षेत्रमा गरेका कामसँगै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा अनुभव साटासाट गर्न आयोजित सो कार्यक्रममा उनले समय सुहाउँदो तरिकाले शिक्षण गर्न नसक्ने शिक्षकलाई पालिकाले नै नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले पढाउन नसक्ने शिक्षक पहिचान गरी त्यस्ता शिक्षकलाई सम्मानसहित बिदाइ गर्न पनि सुझाए । ‘अपडेट नभएका शिक्षकलाई समयसँग मिल्न जानिएन भनेर भन्नुपर्यो । तपाईं पढाउनै जान्नु हुन्न भन्यो भने निहुँ खोज्ला, बरु समयसँग मिल्न सकिएन भनेर भनौं । अहिलेका केटाकेटीले मोबाइल चलाउँछन्, तपाईं जान्नुहुन्न किताव समाउनुहुन्छ, तपाईं किताब समाउनुहुन्छ, विद्यार्थी मोबाइल । कुरै मिल्दैन ।’

कार्यक्रममा पूर्व शिक्षा सचिव नेपालले सामुदायिक विद्यालयले समुदायको विश्वास जित्न नसक्दा निजी विद्यालय मौलाएको बताउँदै हरेक पालिकाले शिक्षकको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए । उनले स्थानीय तहमा शिक्षा गए पनि अझ पनि भौतिक निर्माणमात्र ध्यान गएकोमा चिन्ता व्यक्त गरे । ‘समस्या हार्डवेयरमा हैन, सफ्टवेयरमा छ, त्यो पहिचान हुनुपर्छ ।’

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम संयोजक डा. नवराज खतिवडाले शिक्षाको जग नै कमजोर हुनुमा कमजोर शिक्षक नियुक्तिमात्र नभएर कमजोर पाठ्यक्रम पनि रहेको बताए ।

:973 Views

2 thoughts on "शिक्षाविद्को सुझाव : राम्रो गर्दिनँ भन्नेलाई ‘हस् त नमस्कार’, भन्नुस् ’"

  1. जय प्रसाद तिमिल्सिना says:

    धेरै राम्रो सुझाव हो ।यदि शैक्षिक शुधार काे पहिलो पाईला याेग्य ,सक्षम र,कर्तव्यबोध भएको शिक्षकहरु विद्यालयमा पसाल्नु पर्छ । अहिले का करिव 75 शिक्षक अासिर्वाद ,चाकडी र भान्सुन तथा नातावाद मा अाधारित छन । शिक्षकले राजनीति गरे भनेर भनिन्छ बास्तवमा राजनीति गरेका हाेईनन् बरु कमजोर र अयोग्य शिक्षकले नेताकाे चाकरी गरेर ठग्गे तथा अाफ्नाे कम्जोर लुकाउन खाेजेका मात्रै हुन । धेरै याेग्य व्यक्ति नि शिक्षक छन । तसर्थ अब शिक्षा क्षेत्रमा ठुलो अप्रेसन अावस्यक छ ।

  2. जय प्रसाद तिमिल्सिना says:

    धेरै राम्रो सुझाव हो ।यदि शैक्षिक शुधार काे पहिलो पाईला याेग्य ,सक्षम र,कर्तव्यबोध भएको शिक्षकहरु विद्यालयमा पसाल्नु पर्छ । अहिले का करिव 75 शिक्षक अासिर्वाद ,चाकडी र भान्सुन तथा नातावाद मा अाधारित छन । शिक्षकले राजनीति गरे भनेर भनिन्छ बास्तवमा राजनीति गरेका हाेईनन् बरु कमजोर र अयोग्य शिक्षकले नेताकाे चाकरी गरेर ठग्गे तथा अाफ्नाे कम्जोर लुकाउन खाेजेका मात्रै हुन । धेरै याेग्य व्यक्ति नि शिक्षक छन । तसर्थ अब शिक्षा क्षेत्रमा ठुलो अप्रेसन अावस्यक छ ।

Leave a Reply