विद्यार्थीले आफ्नै हातमा आगो लगाएपछि. . .

-हरिसुन्दर छुकां/ भक्तपुर । स्कूल ड्रेसमा रहेकी एक छात्राले आफूले लगाइरहेको सर्टको बाहुला माथि सारिन्, टेबलमा साबुनको जस्तो फिँज आइरहेको बाटामा हात धोइन्, तीन पल्ट । त्यसपछि नजिकैको एक साथीले बाटाको पानीमा एउटा बोटल घोप्ट्याइन्, बाटामा साबुनको फिँज र फोकाहरु उनले हत्केलामा उठाइन् ।
अर्को छात्राले बगलीबाट लाइटर झिकिन् र आफ्नै सहपाठीको हत्केलामा आगो लगाइन् ।
लगाएको आगो झिलिक्क बल्यो, क्षणभर । आगो लागेका छात्राले आफ्नो हात छामिन्, केही भएको रहेनछ । उनी दंग परिन् ।
त्यो दृष्य हेरिरहेका अन्यलाई छात्राले अनुरोध गरिन्, ‘तपाइँ मैले जस्तै आफ्नो हातमा आगो बाल्न सक्नुहुन्छ ?’ हेरालु कोहीले पनि आँटेनन् ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज देकोचामा बुधबारदेखि सुरु भएको शैक्षिक प्रदर्शनीका क्रममा स्टल राखेको प्रभात माविका विद्यार्थीले त्यो प्रदर्शनी गर्दा हेर्नेहरुको निक्कै घुइँचो लागेको थियो ।
आफूले पाठ्यपुस्तकमा पढेका विषयलाई विद्यार्थीले प्रयोगात्मक तरिकाले प्रदर्शनी गर्न पाउँदा प्रदर्शनी हेर्ने हेरालु विद्यार्थी, शिक्षक, प्रधानाध्यापकलगायत दंग थिए भने प्रदर्शन कर्ता अझ दंग ।
ख्वप माविको १९ औं, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औं वार्षिक उत्सवको अवसरमा भएको दुईदिने प्रदर्शनीमा आयोजकले अन्य विद्यालयलाई पनि निमन्त्रणा गरेको थियो । त्यही निमन्त्रणाको उपयोग गर्दै प्रभात माविले जस्तै अन्य विद्यालयले पनि शैक्षिक प्रदर्शनी गरेका थिए ।
कलेज प्राङ्गणमा राखिएको प्रदर्शनीमा देकोचाकै जेन्यूइन सेकेण्डरी स्कुलका विद्यार्थीहरुले अटोमेटिक फुड सप्लायर्स भेइकल प्रदर्शनी गरी वारिबाट पारी खाद्यान्न पुर्याएका थिए । उनीहरुले विपद्को समयमा मा राहतका लागि उपयोगी हुने सो भेइकल प्रदर्शनी गरिरहँदा धेरैले २०७२ सालको भूकम्पलाई सम्झे । अवलोकनकर्ताहरुले ‘त्यो बेला यो खालको सवारी भएको भए कति सहज हुने थियो’ भन्ने बताइरहँदा सो सवारी बनाएका विद्यार्थी रोहन सुवालले त्यस्तै परिस्थितिले यो खालको कन्सेप्ट आएको बताए ।
बाहिरको स्टलअन्तर्गत ज्वालामुखी विस्फोट, हिमालयन ग्लोरी स्कुलले आधुनिक थोपा सिञ्चाइ प्रविधि, सिक्का छुट्याउने मेसिन, ख्वप इञ्जिनियरिङ कलेजका विद्यार्थीहरुले हाइड्रोलिक पुल, जेसिस माविले ग्यास उत्पादन र चुम्बकीय शक्ति अनि पारागन एकेडेमीले भने भ्याकुम क्लिनर र रकेटको प्रदर्शनी गरेका थिए ।
त्यो प्रदर्शनी हेरिरहेका भक्तपुरकै राजर्षी गुरुकूलका प्रिन्सिपल लियोन श्रेष्ठले शैक्षिक प्रदर्शनी राम्रो भएको टिप्पणी गर्दै छुटाउन नहुने बताए ।
भक्तपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुका स्टलका साथै प्रदर्शनीमा ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पसमा दश जोड दुईदेखि स्नातकोतर तह अध्ययनरत विद्यार्थीले पनि स्टलहरु राखेका थिए ।
खेर गएका र जाने कागजबाट बनाइएका विभिन्न सामानहरु, मनकामना जाँदा प्रयोग हुने केवलकारको नमूना, बढिरहेको बजारको प्रवृत्ति र प्रकृति झल्किने स्टल, पुराना पैसा र सिक्कालगायतको स्टल राखिएको थियो ।
मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा संकायमा पढिरहेका विद्यार्थीहरुले आफूले पढ्दै गर्दाका विषयसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्रीहरु बनाइ प्रदर्शन गरेका छन् ।
सो प्रदर्शनीको उद्घाटन तथा अवलोकन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल लगायतले गरेका थिए ।
:1300 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव