म त स्कुलको मोडल पो हुँ

नुवागी मासिकको २०७३ भाद्र अंकबाट साभार
जन्मथलो गुल्मीमा १५ वर्ष निजी विद्यालय सञ्चालनको अनुभव बोकेर काठमाडौं प्रवेश गरेका रामबहादुर केसी २०६२ सालदेखि न्युटन हाई स्कुलमा प्रिन्सिपलका रूपमा कार्यरत छन् । नेपालको शैक्षिक क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने ध्येय राखेर हाल काठमाडौं प्याब्सनका सचिवको जिम्मेवारी वहन गरिरहेका केसी आफूलाई यो क्षेत्रमा पाउँदा गौरवशाली ठान्दछन् ।
हामी जे लगाउँछौँ त्यो नै फेसन हो । अथवा, मानिसले दैनिक जीवनमा लगाउने, खाने, बस्ने, उठ्ने, उसको चालचलन, स्वभाव वा व्यवहारलाई म फेसनका रूपमा लिन्छु । र, फेसन यस्तै हुनुपर्छ भन्ने मलाई लाग्दैन । फेसन मानिसको रुचि अनि उमेर अनुसारले फरक हुन्छ ।
व्यक्तिको आवरणबाट उसको चरित्रको निर्धारण फेसनले नै गर्छ । फेसनले सबै कुराको परिभाषा दिन्छ । कोही व्यक्तिसँग बोल्दै नबोली ऊ कस्तो खालको हो र उसको मनोविज्ञान के हो भन्ने कुरा उसको फेसनबाट थाहा हुन्छ ।
म सामान्य पहिरनमा आफूलाई सहज महसुस गर्छु । म सामान्यलाई नै विशेष जोड दिन्छु । विद्यालयमा विद्यालयकै पोसाक लगाउँछु । आफूसँगसँगै विद्यालयका अन्य शिक्षकशिक्षिकालाई पनि विद्यालय पोसाकमै प्रस्तुत हुन सल्लाह दिन्छु ।
आफूलाई सजाएर हिँड्न खासै सोख छैन । तर, मलाई फुर्तिलो भने देखिन मन पर्छ । मेरो फेसनले समाजमा सकारात्मक प्रभाव पारोस् भन्ने चाहन्छु । मलाई तयार हुन खासै समय लाग्दैन । १५ देखि २० मिनेटमा तयार भइसकेको हुन्छु ।
साँझ–बिहान कसरत गर्दा वा खेल खेल्दा खुकुलो किसिमका ट्र्याकसुट लगाउने गर्छु । त्यसबाहेक म औपचारिक फेसनमै हुन्छु । म सर्ट–पेन्टमा निकै स्मार्ट देखिन्छु जस्तो लाग्छ । झकिझकाउभन्दा पनि हलुका खालको रंग मन पर्छ । कालो, निलो, हरियो, मेरी ब्लु, मरुन मलाई विशेष मन पर्ने रंगहरू हुन् ।
शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकमाझ उदाहरणका रूपमा मेरो फेसन यस्तै छ है भनेर प्रस्तुत गर्न आवश्यक ठान्छु । बच्चालाई तिमी राम्रो भएर आऊ है भन्नलाई पहिले आफू राम्रो पोसाकमा हुन जरुरी छ । अनि पो उनीहरूले हाम्रो सिको गर्छन् त ।
समय, अवस्था सबै कुराको अनुकूल मिलाएर सपिङ गर्ने गर्छु । कहिलेचाहिँ आवश्यकता अनुसार वा नभई नहुने बेलामा गर्छु । कुनै बेला फेसनकै लागि गर्छु । बजारमा नयाँ डिजाइनका कपडा आएको चाल पाउनासाथ बिदाको समय र कहिलेकाहीँ विद्यालय छिटै छुट्टी भएको बेलाको समय सदुपयोग गर्छु ।
विदेशी वा महँगोभन्दा पनि राम्रो स्तरको सामान रुचाउँछु । खोजेजस्तो नेपालकै उत्पादन भए झनै उत्साहित हुन्छु । स्पोर्टस्मा एडिडास र रिभोकको जुत्ता किन्दा कुनै शंका लाग्दैन । लेदरमा भने सिफरको प्रयोग गर्छु ।
सर्ट–पेन्टचाहिँ सिलाएकै लगाउँछु । जिउमा चट्ट मिलेको र आफूले चाहेको बनोटमा लगाउन जो पाइन्छ । समयअनुसारको डिजाइनका कपडा सिलाउँछु । मलाई चिटिक्क देखिने कपडा चाहिन्छ । यदि कपडा लगाउँदा मिलेको छैन भने मलाई असह्य हुन्छ । अनौपचारिक लुगाको हकमा भने रेडिमेड नै किन्छु । त्यसमा पनि कोरियन कपडा मलाई असाध्यै मन पर्छ ।
स्वास्थ्यप्रति म एकदम सजग छु । मलाई आयुर्वेदिक सामान प्रयोग गर्दा ढुक्क लाग्छ । सामान्यतया आफूलाई राम्रो बनाउने र छालालाई असर नगर्ने सामान प्रयोग गर्छु । राति सुत्दा एलोभेराको क्रिम लगाउँछु । बिहान र बेलुकी एलोभेराकै जुस खाली पेटमा पिउने गर्छु । शरीरलाई फुर्तिलो राख्न योग पनि समय मिलेसम्म गरिरहेको हुन्छु ।
छोटो र सामान्य कपालमा यसो ऐना हेर्दा म आफैँलाई चिटिक्क देख्छु । कपालको प्राकृतिक सुन्दरता नै नष्ट हुने गरी नानाथरीको कलर गर्न पटक्कै मन लाग्दैन । म कपालको एकदम स्याहार गर्छु । बेलाबेलामा तेल लगाउँछु, त्यो पनि आयुर्वेदिक ।
हामी त अरूको जिम्मेवारी वहन गरेर बसेको । स्वाभाविक रूपमा आफू राम्रो देखूँ भन्ने त सबैले चाहन्छन् । कति राम्रो भइन्छ, त्योचाँहि थाहा छैन । तर, चाहना हुन्छ । म त स्कुलको मोडल पो हुँ । शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकमाझ उदाहरणका रूपमा मेरो फेसन यस्तै छ है भनेर प्रस्तुत गर्न आवश्यक ठान्दछु । बच्चालाई तिमी राम्रो भएर आऊ है भन्नलाई पहिले आफू राम्रो पोसाकमा हुन जरुरी छ । अनि पो उनीहरूले हाम्रो सिको गर्छन् त ।
मानिसको रहर न हो । कहिलेकाहीँ अरूको फेसन पनि हुबहु गर्न मनलाग्दो रहेछ । एकचोटि मैले पनि हिन्दी फिल्मका निर्देशक करन जोहरजस्तो देखिन उनले लगाएको जस्तै कोट किनेको थिएँ । अहिलेसम्म पनि छ मसँग ।
‘साह्रै चिटिक्क देखिनुभएको छ । जहिले पनि नक्कले भएर हिँड्नुहुन्छ’ भनेर मलाई मेरा साथीभाइले जिस्काउँछन् । मेरो फेसनबारे अहिलेसम्म कसैले नराम्रो भनेका छैनन् । सरचाहिँ जहिले पनि अपडेट भएर हिँड्नुहुन्छ भन्ने गर्छन् । खुसी लाग्छ ।
प्रस्तुति ः रचना श्रेष्ठ
:1042 Views
सम्बन्धित अभिलेखहरू
बिभिषिका र जून परी
गणित विषयको ज्यामितिमा चङ्गाको प्रयोग कसरी गर्ने?
राम्रो पाठ योजना बनाएकोमा पुरस्कृत भएँ
कलम
मेरो देश, मेरो सर्वस्व
कहिले बुझ्छ समाजले छोरीको मर्म?
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव