‘परीक्षा नदिएका अस्थायी शिक्षकले के सुविधा पाउँछन् ?’ – ‘परीक्षा नदिएका शिक्षकेबारे मन्त्रालयबाट स्पष्ट निर्देशन आउन बाँकी ।’

म २०६६ साल पुस १३ गतेदेखि निमावि तहको स्थायी दरबन्दीमा कार्यरत अस्थायी शिक्षक हुँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने प्रयोजनका लागि २०७५ असारमा लिएको परीक्षामा सहभागी हुन आवेदन फारम भरेको थिएँ । तर परीक्षाको समयमा स्वास्थ्य अवस्था प्रतिकूल हुन गई उक्त परीक्षा दिन पाइनँ । अब म कार्यरत दरबन्दस् खाली नै रहन्छ कि त्यसमा परीक्षामा उत्तीर्ण भएर आउने नयाँ स्थायी शिक्षकको पदस्थापन हुन्छ ? यदि नयाँ शिक्षकको पदस्थापनसँगै मैल अवकास पाउनुपर्ने भएमा सरकारी कोषबाट मैले कस्तो सुविधा प्राप्त गर्न सक्छु ?

–अस्मिता शर्मा, लक्ष्मी मावि, भरतपुर नपा–४, चितवन ।

तपाईंको सन्दर्भमा शिक्षा ऐन २०२८ नवौं संसोधन २०७४ को दफा ११(च) को उपदफा(९) र (१०) बमोजिमका व्यवस्थाहरु आकर्षित हुने देखिन्छ । उपदफा(९) मा आवेदन फारम भरेर परीक्षा नदिएका शिक्षकको हकमा छुट्टै व्यवस्था नगरे पनि स्थायी पदमा नियुक्तिका लागि दरखास्त दिएका तर शिक्षक सेवा आयोगबाट सिफारिश हुन नसकेका अस्थायी शिक्षकले पाउने सुविधाबारे उल्लेख छ । ऐनले भनेको छ,‘संवत् २०७३ असार १५ गतेसम्म अविच्छिन्न रुपमा कार्यरत रहेका अस्थायी शिक्षकले स्थायी पदका लागि भएको विज्ञापनमा दरखास्त नदिएमा वा दरखास्त दिए पनि स्थायी पदमा आयोगबाट नियुक्तिको लागि सिफारिश हुन नसकेमा त्यस्ता शिक्षकलाई ५ वर्षदेखि १० वर्षसम्म सेवा गरेको भए प्रत्येक वर्षको निम्ति आखिरी आधा महिनाको तलब बराबरको रकम, १० वर्षभन्दा बढी १५ वर्षसम्म सेवा गरेको भए प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम र १५ वर्षभन्दा बढी सेवा गरेको भए प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम सुविधावापत उपलब्ध गराइनेछ।’

प्रश्नमा उल्लेख गर्नुभएको नियुक्ति मितिअनुसार तपाईको अस्थायी सेवा अवधि ९ वर्ष पूरा भएको देखिएकाले ऐनको उपदफा(१०) को व्यवस्था अनुसार अवकाश भएमा तपाईंले सोवा गरेको प्रत्येक वर्षको आखिरी आधा महिनाको दरले साढे चार महिनाको तलब बराबरको रकम सुविधावापत पाउन सक्ने दखिन्छ । सो उपदफाले स्थायी नियुक्ति प्रयोजनका लागि दिइएको परीक्षामा छनोट हुन नसकेका अस्थायी शिक्षक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकाश भएको मानिने व्यवस्था गरेको छ । यहाँ उल्लेख भएको परीक्षामा छनोट हुन नसकेका अस्थायी शिक्षक भन्नाले परीक्षा दिएर अनुत्तीर्ण भएका शिक्षकहरु त पर्ने नै भए । तपाईं जस्ता दरखास्त फारम भरेर परीक्षा नदिएका शिक्षक यसमा पर्छन् या पर्दैनन् भन्नेबारे यस किताबखानालाई मन्त्रालयबाट स्पष्ट निर्देशन आउन बाँकी छ । अहिले अस्थायी शिक्षकहरुको विवरण संकलनको काम भइरहेकोले सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाइमा आफ्नो विवरण टिपाउनुहोला ।मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि तपाईंको अवकास र सरकारी कोषबाट प्राप्त हुने सुविधाबारे उचित निर्णय हुने नै छ ।

संगीता रेग्मी, निमित्त महानिर्देशक, विद्यालय शिक्षक किताबखाना ।

शिक्षक मासिक २०७५ को माघ अंकबाट ।

:1825 Views

One thought on "‘परीक्षा नदिएका अस्थायी शिक्षकले के सुविधा पाउँछन् ?’ – ‘परीक्षा नदिएका शिक्षकेबारे मन्त्रालयबाट स्पष्ट निर्देशन आउन बाँकी ।’"

  1. राम प्रसाद बिक। says:

    म 30 वर्ष अबिचिन निमा अस्थायी शिक्षक हु।जाच को फारम भरिन।सुबिधा को फारम भरेको छु ।सुबिधा कति पाइन्छ।

Leave a Reply