अपाङ्गमैत्री संरचनासहित शुरु भयो किकम्पा मण्टेश्वरी इन्टरनेश्नल

भक्तपुर, माघ ३। भक्तपुरको शिक्षा क्षेत्रमा एउटा नवीनतम संस्था किकम्पा मण्टेश्वरी इन्टरनेश्नलको इतबु, सूर्यविनायकमा शुरुवात भएको छ।

किकम्पा साँस्कृतिक प्रतिष्ठान अन्तरगत सञ्चालन हुन लागेको किकम्पा मण्टेश्वरी इन्टरनेश्नलको आज सम्पन्न शुभारम्भ समारोहमा भक्तपुरका प्रतिष्ठित संघसंस्थाका व्यक्तिहरू,सञ्चारकर्मीलगायत ठूलो संख्यामा अभिभावकहरूको उपस्थिति थियो।

प्रारम्भिक बालविकासदेखि इसिडी, किन्डरगार्डेन, मण्टेश्वरीजस्ता विभिन्न नामका प्रिस्कुलभन्दा फरक शैलीमा स्कुल सञ्चालन गर्ने दावीका साथ शुरु गरिएको किकम्पा मण्टेश्वरी इन्टरनेश्नलमा बालबालिकाको चौतर्फी विकासका लागि दक्ष र तालिम प्राप्त शिक्षकहरू व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक राजेश लाखाले बताए।

शैक्षिक क्षेत्रमा भित्रिएका नौला सिकाइ प्रणाली तथा प्रविधिहरू प्रयोग गर्दै खुला र सुरक्षित वातावरणमा बालबालिकालाई भविष्यको लागि तयार पार्ने उनले बताए।

विद्यालयका प्रवन्ध निर्देशक अच्युत प्रजापतिका अनुसार आठ महिनाभित्र तयार भएको विद्यालयको अपाङ्गमैत्री संरचनाले सबै किसिमका बालबालिकाका लागि सो विद्यालय उत्कृष्ट गन्तब्य बन्नेछ।

त्यस्तै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा समेत किकम्पा मण्टेश्वरी इन्टरनेश्नलले विशेष पहल गर्ने विद्यालय सञ्चालक समितिका अध्यक्ष देवचन्द्र बज्राचार्यले बताए।

विगत ७ वर्षदेखि सेसनको अन्तिममा परीक्षा सकेपछिको बालबालिकाको समय सदुपयोग गर्ने उद्देश्यले होलिडे क्याम्प आयोजना गर्दै आएको किकम्पा साँस्कृतिक प्रतिष्ठानले अभिभावकको सुझाव र साथको परिणाम स्वरुप किकम्पा मण्टेश्वरी इन्टरनेश्नलको स्थापना भएको कार्यक्रममा जानकारी गराइएको थियो।

तर खेलाएर सिकाउने नाममा मनपरी ढंगबाट विद्यलय सञ्चालन गरिनु नहुने पूर्व शिक्षा निर्दशक तथा भक्तपुर जिल्लाका पूर्व शिक्षा अधिकारी सुन्दरकुमार शाक्यले बताए।

उनले जे जतिपनि कृयाकलाप गराइन्छ ती सबै नेपाल सरकारको निर्दिष्ट पाठ्यक्रममा आधारित भएर गराउन पर्नेमा जोड दिए।जबर्जस्ती लेखाउने वा घोकाएर पढाउने प्रवृत्ति त्यागेर कृयाकलापमा आधारित सिकाइलाई जोड दिन उनले विद्यालय परिवारलाई आग्रह गरे ।

कार्यक्रममा बालबालिकाकेन्द्रित सिकाइको आवश्यकतामाथि प्रोफेसर डाक्टर उत्तमकृष्ण कर्माचार्यले पनि आफ्नो धारणा व्यक्त गरेका थिए।

:301 Views

Leave a Reply