चुनौतिलाई अवसर ठान्ने प्रअ छाती फुलाई भन्छन् :‘समस्या पर्दछ मान्छेलाई, ढुंगालाई के पर्दछ ? इज्जत मागेर र किनेर हैन, कमाएर पाइन्छ ’

पुरुषोत्तम पहाडी,काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित नेपाल राष्ट्रिय निर्माण माविका प्रअ हुन् । आफूलाई प्रअभन्दा बढी शिक्षककै रुपमा परिचय दिन चाहने उनले एम एडसम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं.२०२१ साल पुस ६ गते सिन्धुली जिल्लामा जन्मेका पहाडीलाई ‘तपाईं शिक्षक चाहिँ किन बन्नु भयो ?’ भन्दा भन्छन् : ‘शिक्षक बन्दा इमान्दारिता, कर्तव्यबोध र सेवाभाव जागृत हुन्छ भनेर म शिक्षक बनेको हुँ । म यो पेशालाई छोड्न सक्तिनँ ।’ उनीसँग थप कुराकानी नुवागीका हरिसुन्दर छुकांले गरेका छन्  :

कहिलेदेखि शिक्षक बन्नुभयो तपाईं ?
म २०४२ सालबाट प्रावि तहमा छिरेर शिक्षण सुरु गरेको हुँ ।त्यो बेला सिन्धुलीको बैंकटेश्वर माविबाट शिक्षण सुरु गरेँ । २०४६ सालमा आएर धनुषाको क्षिरेश्वर जनतामाविमा प्रवेश गरेँ । त्यसपछि म २०६३ सालसम्म धनुषामा बसेँ । त्यसपछि म काठमाडौंमा आएँ । २०४२ सालमा मेरो तलब ४ सय चानचुनमात्र थियो ।

सिन्धुली, धनुषा हुँदै काठमाडौं आउनुभयो ? शिक्षण क्रियाकलापमा बढी याद आइरहने कुनै घटना, सन्दर्भ चाहिँ के ?
मलाई सबैभन्दा खुसी के कुरामा लागिरहन्छ भने हामीले प्रशस्त मात्रामा विद्यार्थीबाट जुन आदर सम्मान पाइरहेका छौं , त्यही नै मेरो जीवनको ठूलो उपलब्धि हो । हरेक बच्चाले आज दुबइमा छन्, अमेरिका, अष्ट्रेलियामा छन्, विभिन्न ठाउँमा छन्, हरेक ठाउँमा रहेका बच्चाहरुबाट जुन प्रकारको माया पाएको छु, त्यो नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । जुन उपलब्धि म जीवनमा अरु काममा लागेको भए पाउँदिन थेँ ।

शिक्षक,सहायक प्रअ र प्रअसम्मको यात्रामा हुनुहुन्छ, सहायक प्रअ कहिलेदेखि बन्नुभयो ?
२०६४ सालबाटै म सहायक प्रअ भएँ। प्रअ, चाहिँ २०७४ बैशाख १ गतेबाट भएको हुँ । मेरो पूर्व प्रअ मणिराम फुयाँल हुनुहुन्थ्यो। उहाँले प्रअबाट राजिनाम दिनुभएपछि म प्रअ बनेँ ।मेरो अग्रज उहाँ निष्कलंक, आर्थिक पारदर्शिता भएको व्यक्ति हुनुहुन्थ्यो उहाँ ।

स्कुलको परिचय कसरी दिनुहुन्छ ?
२०१८ सालमा स्थापना भएको विद्यालय हो यो । स्थापना हुँदा म त २०२१ सालमा जन्मेको साल। २०३४ सालमा निमावि, २०५४ सालमा मावि र २०६४ मा ११ र १२ सञ्चालन भयो ।

दायित्व बढ्दै आएको छ, शिक्षक हुनु र प्रअ हुनुबीचको फरक के ?
शिक्षक हुँदा पनि मैले विद्यालयप्रति गर्नुपर्ने कर्तव्य त गरेकै थिएँ । विषयगत रुपमा पढाएकै थिएँ, साथीभाइसँग सुमधुर सम्बन्ध थियो । शिक्षकबाट सहायक प्रअ हुनु भनेको अभिभावकबाट एक किसिमले गौरब भयो, जिम्मेवारी थपिँदा बोझ पनि हुन्छ । तर, जीन्दगीलाई बोझको रुपम कहिले पनि लिनु हुँदैन । त्यसले गर्दा प्रअ हुँदा शिक्षक अभिभावक संघ, व्यवस्थापन समिति, सरोकारवाला सबैसँग मध्यनजर गर्दा अलि बढी समय दिनुपर्ने, अझ पनि चिन्तनशील हुनुपर्ने देखेँ । मेरा लागि यो अवसर पनि हो । जीन्दगीमा अवसर पनि लिनुपर्छ । यसलाई पूरा गर्दै जानुपर्छ । समस्या त आइहन्छ, गइहन्छ ।समस्या पर्दछ मान्छेलाई, ढुंगालाई के पर्दछ, असिना आई पहिला फूलबारीकै फूल झार्दछ ।

हामीलाई अहिले विद्यालयको भौतिक निर्माणका सवालमा, शिक्षकका सेवाका सम्बन्धमा, विद्यार्थीका हक हितका सम्बन्धमा, अभिभावका सम्बन्धमा अलि बढी ध्यान दिनुपर्ने अवस्था आएको, अभिभावक भएका हिसाबले त्यसलाई निभाउनुपर्छ, त्यो उसको दायित्व हो ।

विद्यालयको शैक्षिक अवस्था कस्तो छ ?
हामी काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ मा यो विद्यालय छ । विद्यालयको हिजोको र आजको अवस्थाबीच तुलना गर्दा अझ यो स्तरसम्म ल्याउनका लागि सम्झनै पर्ने व्यक्तिमा पूर्व प्रअकै दे्न छ । उहाँकै योगदान र देनमा यो स्थिति बनेको हो । सबैजना आफ्नो आस्था विचार छाडी विद्यालया सामाजिक सहकर्मीका हिसाबले अघि बढिरहेको छ ।अहिले यहाँ ७५० विद्यार्थी र शिक्षक कर्मचारी गरी ३१ जना छौं । निजीमा कक्षा ११ र १२ का लागि आंशिक शिक्षकमा ३ जना छन् ।

भौतिक अवस्था नि?
हिजोको भन्दा राम्रो छ, ल्याब छ, घेरावाल बन्ने क्रममा छ । बिहान ६ बजेदेखि साढे ११ बजेसम्म कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन हुन्छ । कक्षा नर्सरीदेखि कक्षा ७ सम्म बिहान १० देखि ४ सम्म चल्छ ।

बिहान चाहिँ किन ?
यसमा दुईटा कारण छन्, एउटा कक्षाकोठा नपुगेर, कक्षा ११ र १२ मात्र दुई दरबन्दीका शिक्षक दिएका छन् । दुई दरबन्दीमात्र दिएकाले पुगेन । हामीले कक्षा मिलाउनका लागि विहान चलाएका हौं ।

बिहान चलाउँदा विद्यार्थीलाई चाहिँ कस्तो समस्या परेको छ ?
त्यस्तो समसया छैन। हाम्रा बच्चाहरु खुुसी छन् । बरु हामीलाई अरु बच्चाले पनि के भनेका छन् भने सर हाम्रो पनि कक्षा राख्दिनु भनेका छन् । बरु हामीले चाहिँ के सोचेका छौं भने बिहान चलाउनुभन्दा दिउँसो चलाउन पाए चाहिँ राम्रो हुन्छ भन्ने सोचेका छौं । तर एघार र बाह्र फेरि दिउँसो चलाउँदा त्यति प्रभावकारी नभएको वरपरका स्कुलहरुबाट थाहा पाएका छौं । बच्चाहरुले स्कुल छुट्टै हो, कलेज छुट्टै हो भन्ने धारणा राखेका छन् । त्यो धारणालाई फेर्न नसकुञ्जेलसम्म हामीलाई गाह्रो पर्छ । अर्को कुरा बिहान जो बच्चाहरु ११ र १२ मा पढ्छन्, उनीहरु दिउँसो काम गर्छन् । हामीकहाँ एउटा सामान्य परिवारबाट आएका बच्चाहरु छन् । उनीहरु बिहान पढेर दिउँसो काम गर्छन् । आयआर्जनको बाटो बनाएर अघि बढेका छन् ।

भौतिक वातावरण राम्रो भएको बताउनु भयो, विव्यसको सहयोग, शिक्षक अभिभावक संघको सहयोग, स्थानीयको सहयोग पाइरहेको छ भनेर भन्नुभयो, यस्तो राम्रो वातावरण तपाईंले पाउनहुँदा यो स्कुललाई यस्तो बनाउँछु भन्ने सपना देख्नुभएको होला, के छ त्यो सपना ?
काठमाडौंको पूर्वी क्षेत्रमा रहेको यो विद्यालयमा पढ्ने सबै बालबालिकालाई गुणस्तरीय र संस्कारयुक्त शिक्षा दिने सपना छ । आज सबैभन्दा ठूलो कुरा गुणस्तरीय शिक्षा र संस्कारयुक्त शिक्षाको अभाव खट्केको छ । त्यो शिक्षा दिनका लागि हामीले विद्यालयमा शिक्षक विद्यार्थी समूह बनाएका छौं । त्यसमार्फत् हरेक शिक्षकको भागमा कति विद्यार्थी परेका छन्, र त्यो विद्यार्थीलाई हामी शिक्षकमार्फत् मोटिभेसन गरिरहेका छौं । शिक्षक नै विद्यार्थीको वास्तविक अभिभावक हो भन्ने अवधारणा बनाएका छौं । त्यसका लागि हामीले आज बच्चा विद्यालयमा आएन भने किन आएन ? उसलाई केही समस्या भयो कि, उसको अािर्थक अभावका कारण घरमा केही भयो कि ? भनी सम्बन्धित शिक्षकले निगरानी गर्ने काम हुन्छ । फोनबाट के भयो ?, त्यसपछि केही समस्या भयो भने त्यो बच्चाको घरमा शिक्षक स्वयम् पनि पुग्नुहुन्छ । अनि शिक्षकले परामर्श गर्ने, छलफल गर्ने काम हुन्छ । बच्चाको वास्तविक मनोविज्ञान र भावनालाई बुझेर अघि बढिरहेका छौं ।

अर्को, हामी आकस्मिक परीक्षा पनि लिन्छौं । विद्यार्थी कक्षामा बसिरहेका हुन्छन्, अनि जुन दिन हामीलाई मन पर्यो, त्यही दिन हामी आकस्मिक परीक्षा भनेर लिन्छौैं । त्यो परीक्षा लिँदा बच्चाले के कति गरेको छ, गरेको छैन ? भन्ने थाहा हुन्छ । त्यसो गर्दा कक्षामा विद्यार्थीले पढ्ने, सिक्ने कुरामा प्रभावकारी व्यवहार देखिएको पाएका छौं ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको समयमा यो गुणस्तरीय र संस्कारयुक्त शिक्षा दिन्छौं भन्ने जुन प्रतिवद्धता गर्नुभएको छ, त्यो कुरा त्यति सजिलो छैन होला ?
त्यति गाह्रो छैन, हामीलाई के छ भने हामी अहिले जुन अवस्थामा बसेका छौं, रहेका छौं । यो अवस्थामा कक्षा ११ को भर्नाको क्रममा पनि हामीलाई अरुलाई जस्तो प्रचारप्रसार गर्नु परेन । बच्चाहरुले नै यो स्कुलमा राम्रो पढाइ हुन्छ भनेर भन्नु नै हाम्रो ठूलो उपलब्धि हो । त्यही बच्चाहरुले नै विज्ञापन गरेका छन् ।
यो सन्दर्भमा बच्चाहरुले नै राम्रो भनिरहेको अवस्थामा यो राम्रो भन्ने चीजलाई कसरी टिकाउन भन्ने चाहिँ चिन्ता छ । हामी श्रव्यदृष्य सामग्रीको प्रयोग गरी कक्षा चलाएका छौं, हामीसँग राम्रो पुस्तकालय छ, साइन्स ल्याब छ, होटल म्यानेज्मेन्टको ल्याब पनि व्यवस्थित छ । बच्चाहरुलाई हामीले कम्प्यर प्रणालीमा अभ्यस्त बनाएका छौं ।

भौतिक अवस्था, तालिम प्राप्त शिक्षकको पर्याप्तताका बाबजुद पनि समग्र सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोण पछिल्लो समयमा नकारात्मक छ, तपाईंको तीस वर्षे शिक्षण अनभुवले के बताउँछ ?
मीठो कुरा गर्नुभयो । नकारात्मक हुँदै गएको कुरा यततत्र चैं सुनेको पनि हो, छ पनि । तर मैले जहाँ जहाँ पढाएँ, त्यहाँ चाहिँ सकारात्मक कुरा मात्र छ । त्यो अर्थमा पनि म भाग्यमानी शिक्षकमा पर्छु । सबैभन्दा पहिला हामीमा सकारात्मक सोच विकास हुनुपर्छ । हामीमा सकारात्मक सोचको विकास भैसकेपछि आफ्नो कर्तव्य त्याग्नु हुन्न । आलोचना जीवनमा आउँछ । आलोचनाबाट डराएर हुन्न । सामुदायिक विद्यालयप्रति अहिलेको यो जुन नकारात्मक धारणा आउनुमा सबै पक्ष दोषी देख्छु म । हामीसँग आउने बच्चाहरु, अभिभावकहरु, निजी विद्यालयमा पढाउने अभिभावकले टिफिन, ब्याग, किताब पठाएर, सबै व्यवस्थाका साथ गाडीमा पठाउने, हामीकहाँ आउने बच्चाहरु आर्थिक रुपमा कमजोर भएका छन्, जसको घरायसी समस्याहरु झेल्न बाध्य छन्। हामी मुखले एउटा कुरा, व्यवहारमा अर्को कुरा जबसम्म गछौैं, तबसम्म हुनेवाला छैन, तर हामीले गर्दै गयौं भने त्यो असम्भव पनि छैन । गर्नका लागि हामीसँग योग्य शिक्षक छन्, सरकारले व्यवस्थित गरेको छ । केही फरक के भएको छ भने विद्यार्थीको चाप अनुसार विद्यालयमा समानुपातिक रुपमा शिक्षक नहुनु, विषयगत दरबन्दी नमिल्नुजस्ता चुनौतिहरु छन् । कतिपय ठाउँमा हाम्रा शिक्षक साथीहरुका केही कमी कमजोरी रहेका होलान्, छैनन् त म भन्दिनँ । इज्जत मागेर पाइँदैन, कमाएर पाइन्छ र लिनुपर्छ भन्ने कुरा हामी शिक्षकमा हुनुपर्छ ।

:506 Views

One thought on "चुनौतिलाई अवसर ठान्ने प्रअ छाती फुलाई भन्छन् :‘समस्या पर्दछ मान्छेलाई, ढुंगालाई के पर्दछ ? इज्जत मागेर र किनेर हैन, कमाएर पाइन्छ ’"

  1. बिष्णु प्रसाद आचार्य says:

    शानदार प्रस्तुति, तपाइले पढाएका बिधार्थी मात्र हों हामि पनि तपाइको प्रेरणा बाट लाभान्वित भएका छौ

Leave a Reply