विद्यार्थीको एउटै दाउ : एसईईमा ए प्लस ल्याउने !

–हरिसुन्दर छुकां
भक्तपुर । विद्यालयका अब्बल विद्यार्थीका रुपमा गनिएका ती विद्यार्थीहरुले परीक्षाको तयारी कसरी गरिरहेका छन् ? भन्ने बुझ्न संवाददाता विद्यालयमा साढे ६ बजे पुग्दा त्यतिबेलासम्म उनीहरु कक्षामा नै भेटिए । उनीहरु विद्यालयले सञ्चालन गरिरहेको थप अतिरिक्त कक्षा(एक्स्ट्रा क्लास) मा अध्ययन गरिरहेका थिए ।
ती सबै विद्यार्थीको दाउ एउटै छ, एसईईमा ए प्लस ल्याउने ।
यो कुरा हो, भक्तपुरको अब्बल विद्यालयको रुपमा चिनिएको वागीश्वरी माविको । सोही विद्यालयमा पढिरहेका दैलेखका महेन्द्रकुमार सिजापति यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी हुँदैछ ।
कमलविनायकमा बस्दै पढिरहेका उनको भविष्यमा इञ्जिनियरिङ क्षेत्रमा प्रवेश गर्ने धोको छ, त्यही धोको पूरा गर्न उनी ए प्लस ग्रेड ल्याउने किसिमले तयारी गरिरहेका छन् ।
उनीमात्र नभएर भक्तपुरको वागीश्वरी माविका अन्य २ सय ४० बढी विद्यार्थी एसईई तयारीमा लागिरहेका छन् । ती मध्ये ३० जनाको ए प्लस आउने विद्यालयको अनुमान छ ।
ए प्लस ग्रेडको लक्ष्य लिएका विद्यार्थीहरुमध्ये ओखलढुंगाका सन्दिप कार्की, कमलविनायकका निर्जला कोजू, महोत्तरीका कुशकुमार यादव, बोलाछेंका श्वेता सुवाल, सूर्यविनायकका एञ्जिला भट्टराईलगायतले परीक्षाको तयारीका लागि दैनिक अध्ययन तालिका नै बनाएको बताएका छन् ।
यस्तो छ तयारी विद्यालय र विद्यार्थीको तयारी
निर्जला कोजू बेलुकी ११ बजेपछि मात्र सुत्न जान्छिन् भने बिहान ६ बजे उठ्छिन्, अरु सहपाठीहरुजस्तै उनी बेलुका ७ बजेसम्म त स्कुलमै हुन्छिन् । राती अवेरसम्म बस्ने मन हुँदा हुँदै पनि उनी बस्दिनन्, कारण उनी खुलाउँछिन्, आँखालाई पनि थकाइ लाग्छ ।’
आफूलाई सामािजक विषय अरु विषयभन्दा अलि बढी गाह्रो भएकाले उनी बढी समय त्यही विषयमा घोत्लिन्छन् । त्यस्तै श्वेता सुवाल, एञ्जिलालाई भने अप्सनल म्याथ अलि बढी असजिलो लाग्छ, त्यसैले बढी समय तिनै विषयको अभ्यासमै बित्ने गरेको उनीहरु बताउँछन् । कुशकुमारलाई भने नेपाली विषय गाह्रो छ, स्कुलमा मात्र नभएर घरमा पनि परीक्षाको तयारी गर्दा उनलाई समय नै पुग्दैन ।
यसैले उनीहरु सबैले फुर्सद भयो कि बाहिर जाने कम गरेका छन्, टिभी हेर्न कम गरेका छन्, मोबाइल चल्न, फेसबुक चल्न कम गरेका छन्, विद्यालयले आयोजना गर्ने धेरै अतिरिक्त क्रियाकलापमा सहभागी हुन पनि कम गरेका छन् । उनीहरुलाई थाहा छ, एसईईको तालिका आइपछि नै उनीहरुको ‘काउन्टडाउन’ सुरु भइसकेको छ, त्यही भएर उनीहरुले अघिपछिका क्रियाकलापलाई घटाउँदै पढाइको रफ्तार, अभ्यासलाई बढाएका छन् ।
यतिमात्र हैन, उनीहरु स्वय्मा निर्देशित छन्, उनीहरुको साझा बुझाइ छ : पढे पनि हामीलाई नै हो, नपढे नि हामीलाई नै, यही भएर पनि पढ्नुपर्छ, पढेन भने त राम्रो ग्रेड आउँदैन, राम्रो ग्रेड आएन भने आफूले सोचेको विषय पढ्न पाइँदैन ।’ यही कुराले उनीहरुलाई मार्ग निर्देश गरेको उनीहरु स्वीकार्छन् । त्यही भएर पनि उनीहरु पढाइप्रति एकचित्त भएर लागेका छन् ।
पढाइको बारेमा घरमा आमाबुवा, काकाकाकी, दाजु, दिदीलगायतले कुनै गुनासो गर्दा पनि उनीहरुले आफूहरुलाई हौस्याएको अनुभूति गरेका छन् । त्यो काममा उनीहरुलाई बेलाबेलामा विद्यालयका शिक्षक, प्रअ, सहायक प्रअ र अन्य निमन्त्रणा गरिएका परामर्शकर्ताहरुले दिएका उपदेश, उदाहरणहरुले अझ हौस्याएको छ ।
विद्यार्थीसँगको कुराकानीकै क्रममा विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले उनीहरुलाई २०६२ सालका एसएलसी टपर समीर श्रेष्ठको उदाहरण दिए, प्रअ धन्छाले भने, ‘ समीर श्रेष्ठ, जसले एसएलसीमा बोर्ड ल्याएका थिए, उनको पढ्ने शैली फरक थियो, उनी भन्ने गर्ने, अरु साथीहरु पढ्छन्, लेख्छन् तर म चाहिँ पढेको र लेखेको कुरा याद गर्छु, त्यही याद गरेको पढाइले मलाई बोर्ड दिलायो ।’ त्यसरी उदाहरण दिएर विद्यालयले विद्यार्थीलाई हौस्याइरहेको छ ।
विगतका एसएलसी र एसईईमा समेत राम्रो नतिजा ल्याउन सकेको वागीश्वरीले गत वर्षजस्तै यो वर्ष परीक्षा तयारी गराएको छैन । विद्यालयले हौस्याउने काम गरेको छ । विद्यालयले भनेको छ, दबाबमा हैन, खुसी भएर, बुझ्ने गरी पढ्नुपर्छ ।’
:976 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव