विद्यार्थी भ्रमण अनुभव : सुनेको कुरालाई प्रत्यक्ष आँखाले देख्दा

सलमी रिमाल

माघ १८ गते शुक्रबारका दिन । बिहान ७ः३० बजेको थियो । स्कुलमा हामी कक्षा ९ का विद्यार्थीहरु भेला भईरहेका थियौँ । एकछिन पछि घडिले ७ः४० भएको संकेत गर्यो । त्यसपछि विद्यालय परिसरबाट अभिभावक र विद्यालय प्रशासनको शुभयात्राको सन्देशसहित हामी रिजर्भ डिलक्स गाडीमा चढ्यौँ । गाडी आफ्नो गन्तव्यतर्फ लाग्यो । हामी ३१ विद्यार्थी र २ शिक्षक गरी जम्मा ३३ जनाले गाडीमा यात्रा सुरु गयौँ । म काठमाडौं बस्ने र थानकोटको नागढुङ्गसमेत नदेखेकोलाई उपत्यका बाहिरको भ्रमण भनेपछि कौतुहलता जागेर आयो ।

पोखरा र घान्दु्रकको नाउँमात्र सुनेका मैले, आफ्नो मनको इच्छा यर्थाथपूरक बनाउन म निकै आतुर भए । नागढुङ्गाको अस्तव्यस्त बाटोलाई छिचोल्दै नौबिसेको एक होटलमा बिहानको नास्ता लियौँ र पोखराको रमणीय एवम् पर्यटकीय स्थलको अवलोकन गर्ने तिव्र सोचका साथ मुग्लिङ्गमा खाना खाई दमौली र कोत्रे पुग्यौँ ।

पोखराको रङ्गशाला र एयरपोर्ट देखेपछि पोखरा सिमाना भित्र प्रवेश गरेको थाहा पाए । हाम्रो मनको कौतुहलता शान्त गर्न भ्रमणको पहिलो दिन दुई स्थानः पातले छानो (डेभिट फल्स) र गुप्तेश्वर महादेव गुफाको अवलोकन गर्यौँ। मैले सुनेको र अनुमान गरेको त्यो प्राकृतिक मनोरम दृश्यहरूलाई प्रत्यक्ष आँखाले देख्न पाउँदा मेरो खुशीको सिमा नै रहेन । शान्ति स्तूपा जाने कार्यक्रम रहे पनि साझँ भइसकेकोले त्यो गन्तव्यलाई छारेपाटनबाट दुरदर्शन गरि हामी होटल प्रवेश गर्यौँ।

हाम्रा शिक्षकले व्यवस्थापन गरेको होटल र खानाले पनि होला, हाम्रो भ्रमणमा थप उर्जा मिलेको थियो । संयोगवश हामी विद्यार्थीहरूमध्ये एक जनाको त्यही दिन जन्मदिन रहेछ । पछि वर्थडे सेलिवे्रशन पनि गर्यौँ । भालिपल्ट बिहान सवेरै तालबाराही दर्शन गर्न फेवा ताल पुग्यौँ । फेवातालको रमणीय दृश्यावलोकन त्यसमाथि तालको बीचमा रहेको तालवाराही दर्शन गर्ने इच्छा आकांक्षा लिएर लाइफ ज्याकेट लगाई डुङ्गा सयर गर्यौँ । हामी सबैजना आ–आफ्नो मोवाइलबाट सेल्फी फोटो खिच्न व्यस्त भयौँ । यसै गरी पयर्टकीय नगरी पोखरामा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा समेत हामीले नजर लगाउन भ्यायौँ । संग्रहालयको गेट अगाडि बसी सामूहिक फोटो कैद गर्न समेत हामीले छोडेनौँ ।

फेवाताल र अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन पश्चात हाम्रो गन्तव्य थियो, घान्द्रुक । पोखराबाट हेम्जाको व्यवस्थित आलु खेतीको जमिनपार गर्दै हेम्जा, नौडाँडा र लुम्लेमा विस्तार हुदै आएको सडकको धूलोलाई एकातिर पन्छाउदै नयाँ पुल पुगियो । नयाँ पुलबाट बीरेठाटी, स्याउलेबजार हुँदै ग्रामीण सडकलाई पार गर्दै हाम्रो रिजर्भ गाडी किम्चेसम पुग्यो । किम्चेबाट एक घण्टाको पदयात्रा गरेपछि समुन्दी सतहबाट धेरै माथि पुगेको अनुभूति भयो । र एकछिन बसेर घान्द्रुकको मनोरम दृश्य, हरियाली जंङ्गल, गाउँ परिवेश, गुरुङ्ग जातिको संस्कृति, भेषभूषा, रितिरिवाज, जीवनशैलीसँग प्रत्यक्ष अंकमाल गर्ने मौका मिल्यो ।

साँझको खाना पछि क्यामफायरको व्यवस्था समेत गरिएकाले साँझको मुटु छुने हावाको समेत परवाह नगरी नाचगानमा रमायौँ । भोलीपल्ट बिहानै सूर्यको पहिलो किरणमा चाँदीझै टल्केको अन्नपूर्ण हिमश्रृङ्खला र माछापुच्छे हिमाललाई पृष्ठभूमि बनाई त्यो प्राकृतिक सुन्दरतालाई क्यामरामा कैद गर्न हामी व्यस्त भयौँ । बिहानको मनिङ्गवाकमा घान्द्रुकमा रहेको सुन्दर गुरुङ्गबस्ती हेर्न करीव एक घण्टा हिडियो । अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेको हेलिप्याडमा पाइला टेकि पुनहिल र घान्द्रुक बस्तीमा नजर लगायौँ । ढुवानीको साधनको रुपमा प्रयोग हुने खच्चडको आवाजलाई पनि मनन् गर्न पायौँ ।

बिहानको नास्ता र खाना समेत खाइसकेपछि हाम्रो गन्तव्य पुन : पोखरा र त्यहाँ बाँकी रहेको पयर्टकीय स्थल महेन्द्र गुफा, चमेरो गुफा, विन्दवासिनी मन्दिर र के.आइ.सिंह पुलमा केन्द्रित रह्यो । हामीले शिक्षकहरूको आँखा छलि विविध बाल्यक्रियाकलाप गर्नुको मज्जा लिन पनि छोडेनौं । पोखरावासीको आराध्यदेवी विन्दवासिनी माईको दर्शन पश्चात होटलमा भ्रमणको अन्तिम रात । शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेर हामी विद्यालय फर्कियौं ।

कतिपय कुरा हामीले सुनेकोलाई प्रत्यक्ष आँखामार्फत हेर्न पाउँदा थप जानकारी लिन सफल भयौं । पर्यटकीय नगरीमा भएर पनि ओझेलमा परेको बेगनास तालको दृश्यावलोकन गर्दै ४ दिनको भ्रमण छोटो भएको महसुस भयो । सुनेको, पढेको भन्दाआफ्नै आँखाले प्रत्यक्ष देखेर अनुभव गरेको बढी अविस्मरणीय र बढी सम्झना योग्य हुने रहेछ । भ्रमणले साथीवीच भातृत्व विकास र आपसी सम्बन्ध पनि बलियो बनाउदो रहेछ ।

कक्षा ९
आदर्श जनप्रेमी अङ्ग्रेजी माध्यमिक विद्यालय
कौशलटार, भक्तपुर

:225 Views

Leave a Reply