कहिले बुझ्छ समाजले छोरीको मर्म?

प्राचीन कालदेखि समाजमा अन्धविश्वासले जरो गाडेको छ । समाजमा भेदभाव छुवाछुत, दाइजो तथा बली प्रथा चलिआएको छ । यस्तै भेदभावमध्ये एउटा भेदभाव हो, ‘छोरा र छोरीबिच गरिने भेदभाव’ । यो आफैँमा सरासर गलत छ । छोरा हुन् कि छोरी आखिर आमाबुबाका सन्तान नै हुन् । दुबैलाई आमाले नौ महिना कोखमा राखी जन्माउँछिन् । आफ्नो बर्कतले भ्याएसम्म पालनपोषण, लालनपालन तथा शिक्षादीक्षाको उचित व्यवस्था गर्छन् । भनिन्छ, ‘‘पुत्र कुपुत्र हुन सक्छ तर आमा कुमाता कहिल्यै हुन सक्दैनन्’’ ।

हामी दिनहुँ समाचार सुन्छौँ । फलानो गाउँमा आमाले छोरीलाई जन्म नदिई पेटमा नै मार्दिइन् । आमाले छोरी पाएको निहुँमा पिटाइ भयो, कहीँ त हत्या भयो । के छोरी सन्तान होइन ? के छोरी परिवारका लागि बोझ हो ? के छोरीले छोरा सरह केही गर्न सक्दिन ? अर्काको घर जाने जात भनेर किन हेपिन्छ ? छोरीलाई छोरा सरह किन अवसर दिइँदैन ?

छि ! हाम्रो समाज कस्तो होला ? छोरीलाई पढाउँदैनन् तर बुहारी खोज्दा पढेलेखेकी खोज्छन् । हरे शिव ! यो समाजलाई कसरी सम्झाउने ? यो बुहारी पनि यही समाजकी सदस्य हो । यही समाजमा जन्मेकी, हुर्केकी हो । किन अझै पनि छोरीलाई पढ्न पठाउन पाउने अधिकारबाट बञ्चित गर्छन् । यसो हो भने यो समाजलाई पढेलेखेकी, सुशील, सभ्य बुहारी खाज्ने अधिकार कसले दियो ?

मैले सुनेकी छु “हाम्रो समाजमा छोराले छोरी/केटीलाई जिस्क्याउँदा चाहिँ छोराको जात हो केटी जिस्क्याउनु स्वभाविक हो, मानिन्छ । तर छोरी/केटीले केटा साथीसँग हाँसे, बोले बाइफाले, बैँस चढेकी, उत्ताउली, असभ्य भनेर खिसी गरिन्छ र अनेक शारीरिक तथा मानसिक यातना दिइन्छ । छोरीलाई नै हप्काएर, दप्काएर, पिटेर र दुष्ट व्यवहार गरेर रून बाध्य गराइन्छ । केटा रूँदा उदाहरण बनाइन्छ ‘‘छ्या केटा मान्छे भएर केटीको जस्तो रुने” । समाजले राम्रो उदाहरण दिएको छ । समाजमा जब केटा मान्छेले केही गर्न सक्दैन, ऊ असफल हुन्छ, ऊ पिरले सताइन्छ त्यसबेला पनि केटा भएर के केटीको जस्तो रूने बनेको भनेको सुन्दा अचम्म लाग्छ । किन केटीलाई मात्र उदाहरण ?

“आजकलका केटीहरू कति चाँडो मिन्स हुन्छन् । १३–१४ वर्षको उमेरमा” भन्ने सुनिन्छ । के रहरले भएको हो यो ? यसमा हुने पेट दुःखाई अरूलाई के थाहा ? अझ चाडै १७–१८ नपुग्दै पनि विवाह गरी पराइ घरमा पठाइन्छ । उसले ती पराइलाई आफन्त तुल्याउन कति कसरत गर्नु पर्छ ? त्यतिमात्र कहाँ हो र ऊ ती पराइलाई विश्वास गर्न बाध्य हुन्छे । उसले अर्को भूमिका निर्वाह गर्नुपर्छ । कसैको पत्नी, बुहारी, माइजू, भाउजू के के हो के के । अर्कोतिर पति, सासु, ससुरा, देवर, जेठाजु, नन्द, भान्जा, भान्जी आदिलाई आवश्यकभन्दा बढी नै सेवा सम्मान दिनुपर्छ । फेरी सन्तानका कुरा आउँछन् । सन्तान नजन्मिए बाँझी, थारी, निसन्तान आदि विभिन्न उपमा दिन्छ यही समाज । फेरि सन्तान भइहाले पनि छोरा कि छोरी ? त्यही पनि प्रश्न उठाउँछ यहि समाज । आखिर किन ? यी सामाजिक पीडा कहिलेसम्म सहने ? यही समाजमा किन अपहेलित नारी जाति ?

पुरुष र नारीलाई ‘एउटै रथका दुई पाङ्ग्रा’ भनिन्छ तर किन एक पाङ्ग्रोलाई टुटाइन्छ, फुटाइन्छ, कमजोर पारिन्छ र रद्दिमा फालिन्छ, आखिर किन ? कहिले समानता आउला समाजमा ? समाजका चल्दाबल्दा पुरुष भनाउँदा पनि ती नै महिला/नारीका गर्भबाट जन्मेका होइनन् र ? आखिर यस्तो भेदभाव कहिलेसम्म ?

कक्षाः ९
काव्य स्कुल (नयाँ बानेश्वर,काठमाडौँ)

:607 Views

Leave a Reply