अक्षराम्भसँगै पुरस्कृत भए विद्यार्थी

भक्तपुर । भक्तपुरको लौहकिल्थलीस्थित नवजीवन शिशु निकेतन(एनजेएसएन मन्टेश्वरी) ले सरस्वती पूजाको अवसरमा विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

शैक्षिक सत्र २०७५ को माघभित्र गरिएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई वसन्तपञ्चमीको अवसरमा आयोजित अक्षराम्भ कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा बाल साहित्यकार तथा सञ्चारकर्मी हरिसुन्दर छुकांले कक्षा नर्सरीदेखि कक्षा युकेजीसम्मका विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीचको अन्तरसम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले विद्यार्थीलाई उत्साहित गरेर जीवनप्रति सकारात्मक सोचको विकास गराउन, आशाको सञ्चार गराउने क्रियाकलाप जरुरी रहेको बताउँदै त्यस निम्ति शिक्षक र अभिभावकबीच सहकार्यको आवश्यकता रहेको बताए ।

‘विद्यालयमा हुने शैक्षिक क्रियाकलापका साथै विद्यार्थीको सीप, क्षमता र प्रतिभा प्रस्फुटन गराउने क्रियाकलापलाई निरन्तर रुपमा अघि बढाउनु पर्छ, त्यसले मात्र शिक्षाको उद्देश्य पूरा हुन्छ’ उनले भने,‘शिक्षक तथा अभिभावकले शिक्षासँगै संस्कारको आवश्यकतालाई बिर्सनु हन्न ।’

उनले शैक्षिक रुपमा योग्य भए पनि विद्यार्थीहरुमा सामाजिक भावनाको कमी हुँदै गइरहेकोले संस्कारसहितको शिक्षा दिने काम विद्यालयको तल्लो तह(प्रिस्कुल) बाटै हुनुपर्नेमा जोड दिए ।

सरस्वती पूजाको अवसरमा मुर्ति पूजालाई मात्र प्राथमिकता नदिई सरस्वतीको प्रतिकात्मक अर्थलाई बुझेर विद्यार्थीलाई सही र खराबबीच भिन्नता बताउन सक्नुपर्ने उनको भनाइ थियो । विद्यार्थीको रचनात्मक पक्ष र सिर्जनात्मक पक्षलाई उजागर हुने वातावरण निर्माणको काम शिक्षक र अभिभावक दुबैको भएकाले विद्यार्थीलाई ठूलो बनाउने नाममा पैसामुखी बनाउने काम रोक्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रि–स्कूलका इन्चार्ज जानुका पाठकले विद्यालयले गरिरहेको शैक्षिक र अतिरिक्त क्रियाकलापबारे जानकारी दिँदै बालबालिकाको सुन्दर भविष्यका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष जगत प्रजापतिले विद्यालयले बालबालिकाको सर्वाङ्गाीण विकासका लागि खेलेको भूमिकाको चर्चा गरे ।

:561 Views

Leave a Reply