म अभ्यासले निखारिएकी हुँ

उमेरले भन्दा पनि अभ्यासले खारिएको बताउने पुष्पाञ्ली सन्नी बन्नी किन्डरगार्डेन बानेश्वरकी सञ्चालिका तथा पुष्पाञ्ली टिचर्स ट्रेनिङ सेन्टरकी संस्थापक मिरा शर्मा बालबालिकाको उचित पालन पोषण र शिक्षा दीक्षाबाट नै समाज परिवर्तन हुने बताउँछिन् । भारतको गुहावटीमा जन्मिएकी मिराले विद्यालयस्तरको शिक्षा उतै सकाइन् । त्यसपछिको शिक्षा उनले नेपालको त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्व विद्यालयबाट हासिल गरिन् । १७ वर्ष पहिले एक जना परम्परागत शिक्षिकाको रूपमा शिक्षणमा प्रबेश गरेकी उनले पढ्दै पढाउँदै समाज बुझ्दै काम गरिन् । त्यहीबीचमा उनले नेपालमा उपलब्ध भएका धेरै जसो बालबालिकाको शिक्षणसम्बन्धि तालिम पनि लिइन् । त्यसपछि आफैले विद्यालय सञ्चालन गरिन् । हाल उनी विभिन्न विद्यालयहरूमा साना बालबालिकाको उचित अध्यापनका लागि परामर्शदाताको रूपमा काम पनि गर्छिन् । उनै हँसिली, मिहिनेती र कर्ममा विश्वास गर्ने मिराको व्यक्तित्वको चर्चा उनकै शब्द र शैलीमा ।

म बालबालिकामा संसार देख्ने गर्छु । म उनीहरूलाई माया गर्छु । त्यसैले मैले उनीहरूको लागि काम गर्ने निर्णय गरेँ । मैले काठमाडौंको बानेश्वर र ललितपुरमा

पुष्पाञ्जली सन्नी बन्नी किन्डरगार्डेन सञ्चालन गरिरहेकी छु । नेपाली प्रिस्कुलका लागि चाहिने दक्ष शिक्षकहरू उत्पादनमा सहयोग गर्ने उद्देश्यले एउटा तालिम केन्द्र सञ्चालन गरेकी छु । त्यसबाहेक म नेपालका विभिन्न विद्यालयहरूमा गएर त्यहाँका शिक्षकहरूलाई प्रिस्कुलका विभिन्न विषयमा सहयोग पनि गरिरहेकी छु । कतै बेला बेलामा गएर परामर्शकर्ताको भूमिका निर्वाह गर्छु भने अहिले सरकारी विद्यालयका शिक्षकहरूसँग प्रिस्कुलको अध्यापनको बारेमा एक वर्षे परियोजनामा ब्यस्त छु । त्यही क्रममा भक्तपुरका २ दर्जन बढी सरकारी विद्यालयका शिक्षकहरूसँग नियमित सम्पर्कमा छु । अब केही महिनामा सकिँदैछ परियोजना ।

धेरैले यो सबैका लागि समय कसरी मिलाउनुहुन्छ भनेर सोध्नुहुन्छ । म भन्छु सजिलो थिएन । सुरु सुरुमा निकै तनाव पनि भयो । तर तनावकै बारेमा मात्र सोचिरहेको भए म यति अघि बढ्ने थिइनँ । मैले फरक फरक अभ्यास गरेँ । र त्यसपछि भने विस्तारै सहज हुँदै आयो । नयाँ सुरु गर्दा जहिले पनि तनाव उत्पन्न हुने रहेछ । तर अभ्यासबाटै त्यसको समाधान निस्किने रहेछ । म साताको सातै दिन काम गर्छु । शनिवार विदा बस्न छाडेकी छु । अभिभावकहरूसँग समय लिएर उहाँहरूको घरघरमा जान्छु । उहाँहरूका छोराछोरीबारे भलाकुसारी गर्छु । आवश्यक सरसल्लाह दिन्छु ।

तर मैले यसबाट कसैलाई सिकाउनुभन्दा प्रत्येक होम भिजिटबाट नयाँ नयाँ कुरा सिकेर फर्कन्छु । यो गर्न मलाई असाध्यै रमाइलो लाग्छ । सोमबार र शुक्रबार भने तालिम र परामर्शका काम गर्छु । अन्य दिनहरू विद्यालयमा हुन्छु । मैले प्रिस्कुलसम्बन्धि नेपालमा उपलब्ध धेरै जसो तालिमहरू लिने अवसर पाएकी छु । त्यसले मेरो आत्मविश्वास बढेको छ । मेरो काम सहज बनाइदिएको छ । कामलाई बुझ्ने क्षमता दिएको छ । कामको सिलसिलामा आउने विभिन्न समस्याहरू समाधान गर्ने आँटको विकास भएको छ ।

सुरु सुरुमा निकै तनाव पनि भयो । तर तनावकै बारेमा मात्र सोचिरहेको भए म यति अघि बढ्ने थिइनँ । मैले फरक फरक अभ्यास गरेँ । र त्यसपछि भने विस्तारै सहज हुँदै आयो । नयाँ सुरु गर्दा जहिले पनि तनाव उत्पन्न हुने रहेछ । तर अभ्यासबाटै त्यसको समाधान निस्किने रहेछ ।

धेरै मानिसहरूसँगको संगतले पनि होला म निखारिएकी छु । अहिलेको प्रविधिले मलाई अझ सघाएको छ । मैले आफ्नो वरीपरी नपाएका कतिपय विषयको जानकारी इन्टरनेटमा खोजेर पाउँछु । यही कारण पहिलेको म र अहिलेको ममा धेरै अन्तर छ । तर यो काम कम चुनौतीपूर्ण छैन । साना साना मान्छेहरूलाई ठूला र सक्षम मान्छेहरू बनाउने काम निकै जटिल छ । त्यसो भन्दैमा उनीहरूमाथि प्रयोग गर्ने कुरामा म कति पनि सहमत छैन । उनीहरूमाथि गरिने प्रत्येक व्यवहारको प्रमाणित नतिजाबारे शिक्षक वा प्रिस्कुल सञ्चालकलाई हुनुपर्छ ।

त्यसैले प्रत्येक प्रिस्कुलमा दक्ष र लगनशील मानिसहरूको संलग्नता हुनुपर्छ । तर हाम्रा सबै प्रिस्कुलहरू त्यसरी प्रिस्कुलको मुल्य मान्यताभित्र चलेका छैनन् । त्यसमा दुख लाग्छ ।

म समुहमा बस्न रुचाउने सामान्य मान्छे हुँ । मलाई पारिवारिक जमघटहरू निकै प्यारा लाग्छन् । काम विशेषले परिवारबाट टाढा बस्न परेपनि समयसमयमा उहाँहरूसँगको भेटले मलाई महिनौँ महिना उर्जा मिलिरहन्छ । मेरो उर्जा केन्द्र यही नै हो । ज्ञान आर्जन ठूलो कुरा हो तर त्यसको अभ्यास त्योभन्दा पनि महत्वपूर्ण लाग्छ । मैले कति सिकेँ भन्ने भन्दा पनि मैले कति गर्न सकेँ भन्ने कुराले झन् महत्व राख्दछ भन्ने ठान्छु ।

:252 Views

Leave a Reply