निस्टमा शिक्षण तथा सिर्जनात्मक लेखनसम्बन्धी कार्यशाला सम्पन्न

भक्तपुर । भक्तपुर निस्ट स्कुलको आयोजनामा भाषा शिक्षण तथा सिर्जनात्मक लेखनसम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा वर्णविन्यासगत अन्योलता, माध्यमिक पाठ्यक्रम निर्माणसम्बन्धी आवश्यक कुराहरु, भाषाशिक्षणमा विधाशिक्षण, वर्णविन्यास तथा रचना शिक्षण सम्बन्धी नयाँ विधि, प्रक्रियाका बारेमा अवगत गराउनुका साथै छन्द ज्ञान र विद्यार्थीमा रुचि जगाउने खालका व्यवहारिक क्रियाकलापमा जोड दिइएको थियो । विषय विज्ञको प्रत्यक्ष सहभागितामा सिकारु बनेर सिक्ने अनुकूल वातावरण बनेकोमा प्रशिक्षार्थी उत्साहित भएर आफ्ना जिज्ञासा राख्नुका साथै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

नेपाली विषय शिक्षकहरुको शैक्षिक तथा सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यले आयोजित कार्यशालामा विभिन्न २० विद्यालयका नेपाली विषय शिक्षकहरुको सहभागिता रहेको थियो भने भाषा प्रशिक्षकद्वय वरिष्ठ कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवाली र वरिष्ठ कवि तथा प्राज्ञ डा. देवी नेपालले प्रशिक्षण दिएका थिए । विद्यालयका प्रिन्सिपल तथा प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले सिकाइमा परिवर्तन आउने नवीनतम पद्घतिहरुको व्यवहारिक प्रयोगमा जोड दिई भाषिक सिप सिकाउने यस्ता कार्यप्रति आफू सधैँ सकारात्मक रहेको प्रतिक्रिया दिनुका साथै शिक्षकलाई यस्ता क्रियाकलापहरु आफ्ना कक्षाकोठामा प्रयोग गर्न सुझाउँदै सहभागीलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

:850 Views

Leave a Reply