१४ औं महाधिवेशनमा मेरा १४ प्रतिबद्धता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको लागि उम्मेदवारी दिएका डि.के.ढुङ्गाना ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीका प्रिन्सिपल तथा अक्सब्रिज इन्टरनेशनल कलेज, लगनखेलका कार्यकारी निर्देशक हुन्। करीव तीन दशक लामो समयदेखिको शैक्षिक अनुभव संगालेका उनले यही फागुन २८ र २९ गते हुन लागेको महाधिवेशनमा उनको उम्मेदवारी केका लागि? भन्ने प्रश्नमा उनको जवाफ उनकै शब्दमा।

मैले प्याब्सनमा २० वर्षदेखि काम गरिरहेको छु। महाधिवेशनको लागि एउटा जिल्लाको सामान्य प्रतिनिधिदेखि प्याब्सनमा जिल्लाको सचिव हुँदै केन्द्रीय समितिको संगठन सचिव, दुई कार्यकाल महासचिव, त्यसपछि वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको छु।

म अहिले वरिष्ठ उपाध्यक्ष छु। वर्तमान अध्यक्षले यस वर्षको निर्वाचनमा आफू सहभागी नहुने भनेपछि मैले आफू अध्यक्ष पदमा उठ्ने निर्णय गरेको हुँ।

मेरा प्रतिबद्धताहरूः

1. निजी विद्यालयहरूमा अरबौँ रूपैयाँ लगानी भएको छ। दूरदराजमा सञ्चालित साना तथा मझौैला विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरका विद्यालयहरूको लगानी र स्थायित्वको संरक्षण गर्न।
2. राज्यद्वारा निर्माण गर्ने ऐन, नियमावली र निर्देशिका निजी विद्यालय मैत्री बनाउन।
3. छात्रवृत्तिमा भएका सबैखाले विभेद अन्त्य गर्न आवश्यक कानूनी लडाई लड्न।
4. निजी क्षेत्रमा प्राविधिक विषय पठनपाठन गराउन कानूनमा सम्बोधन गराउन।
5. प्याब्सनलाई पेशागत व्यावसायिक सङ्गठनको रूपमा स्थापित गरेर सङ्गठनलाई आर्थिक रूपमा समृद्ध बनाउन।6. सातै प्रदेशमा शैक्षिक तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्न।
7. निजी विद्यालयहरूमा दक्ष शिक्षक र कर्मचारीको अभावलाई ध्यानमा राखेर एउटा गुणस्तरीय ‘टिचर सेन्टर’ स्थापनाका माध्यमबाट तालिमप्राप्त शिक्षक तथा कर्मचारी देशैभरिका विद्यालयहरूलाई उपलब्ध गराउन तथा शिक्षक र कर्मचारीहरूको स्थायित्व र व्यावसायिकता बढाउने विधि निर्माण गर्न।
8. समन्वयी पेशागत सङ्घ–सङ्गठन तथा अभिभावकका संस्थाहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गरी प्याब्सनको साङ्गठनिक छवि बढाउँदै समृद्ध प्याब्सन निर्माण गर्न।
9. सञ्चार जगतसँग प्रगाढ सम्बन्ध बनाउँदै केन्द्रमा मिडिया डेक्स स्थापना गर्न।
10. विद्यालयहरूका समस्या समाधान गर्न केन्द्रमा विज्ञसहितको हेल्प डेक्स राख्न।
11. शिलान्यास भएको प्याब्सन शिक्षा मन्दिरलाई २ वर्षभित्र निर्माण सम्पन्न गर्न।
12. खेलकुद र अतिरिक्त क्रियाकलापमार्फत देशैभरिका विद्यालयलाई जोड्न ‘प्याब्सन प्रेसिडेन्ट कप’ खेल महोत्सव प्रत्येक वर्ष सञ्चालन गर्न।
13. साना तथा मझौला विद्यालयहरूको स्तरोन्नति गरिनुका साथै राष्ट्रिय छवि कमाएका विद्यालयहरूलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने नीति बनाउन।
14. १३ औँ महाधिवेशनबाट निर्वाचित समितिले अगाडि बढाएका योजनाहरूलाई ग्रहण गर्दै कार्यान्वयन तथा थप नीति कार्यक्रम बनाएर लागु गर्न।

:1170 Views

Leave a Reply