निजी विद्यालयको लगानी र सम्पत्तिको सुरक्षा गर्ने दायित्व सरकारको होः शिक्षा मन्त्री

काठमाडौँ, २८ फागुन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको अवस्थाले नै राष्ट्रको चिनारी दिने बताउँदै निजी विद्यालयसँग सहकार्य गरेर काम गर्ने बताएका छन्।

त्यसका लागि उनले निजी विद्यालयलाई उच्च शिक्षामा आउन आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले निजी विद्यालयको योगदान, व्यवस्थापन र उत्तरदायित्व प्रवृत्ति सार्वजनिक विद्यालयले पनि सिक्नुपर्ने बताएका छन्।

उनले निजी विद्यालयको भूमिकाको चर्चा गर्दै यसले विगतमा भएको समस्या अर्थात् विद्यार्थी विदेशिने क्रमलाई कम गरेको स्वीकारेका छन्।

उनले निजी विद्यालयलाई उच्च शिक्षामा आउन आग्रह गर्दै भने, ‘तपाईँहरू चिन्तामुक्त हुनुहोस्। तपार्ईंहरूको लगानी र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ। शिक्षा अरु व्यवसाय जस्तो होइन। यो सेवाको क्षेत्र हो। सरकार नयाँ शिक्षा नीति कानून ल्याउने तयारीमा छ, त्यसका लागि तपाईँहरू संवाद र सहकार्यमा आउनुहुने छ भन्ने मेरो विश्वास छ।’

उनले शिक्षामा काम गर्ने सबैको मुल मुद्धा शिक्षाको गुणस्तरमा नै केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले औपचारिक रूपमा उद्घाटन गरेको सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको हो।

त्यस्तै प्याब्सन केन्द्राध्यक्ष विजय साम्बाहाम्फेले ७२ सालको भुकम्पले पुर्याएका  सम्पूर्ण वस्तुको गणना गरिरहँदा निजी विद्यालयलाई समावेश नगरिएकोमा गुनासो गर्दै भने, ‘सरकारले निजी विद्यालयले राज्यलाई पुर्याएको योगदानको मूल्याङ्कन गर्न आवश्यक छ।’

कार्यक्रममा सभामुख महराले गोरखाको सरस्वती माध्यमिक विद्यालयकी छात्रा एञ्जिला तिवारी र भोजपुरको सगरमाथा माध्यमिक विद्यालयकी सुदिका खड्कालाई रु १० हजार नगदसहित उत्कृष्ट विद्यार्थी सम्मान एवम पुरस्कार प्रदान गरेका छन्।

यस्तै प्याब्सनले स्थापना गरेका विभिन्न जिल्लाका अध्यक्ष र सल्लाहकारहरूलाई पनि सम्मान गरिएको छ।

फागुन २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय प्याब्सनको नयाँ कार्यसमितिको चयनका लागि निर्वाचन हुनेछ।

:514 Views

Leave a Reply