र‌ंगहरूको पर्वः होली

होली हिन्दूहरूको ठूलो पर्व हो । फागु पनि भन्ने गरिएको यो पर्व नेपालमा पनि धुमधाम मनाउने गरिन्छ । किसानले बाली भित्र्याईसकेपछि खुशीको रूपमा सबैले एक आपसमा रमाईलो गर्दै रंग खेल्ने, मनमा भएका कटुतालाई मेटाउँदै गला मिलाउने, प्रेम साटासाट गर्ने उत्सवको रूपमा होली मनाइन्छ । पहाडमा पूर्णिमाका दिन मनाइन्छ भने तराईमा त्यसको भोलिपल्ट मनाउने गरिन्छ । होलाष्टक फाल्गुन शुक्ल अष्टमीका दिनदेखि बिधिपूर्वक बाँस या काठको लिङ्गो गाडेर पात–पतिङ्गरहरू थुपारी पूर्णिमाका दिन होलिका दहन गर्ने प्रचलन रहेको छ । होलिका दहनको लागि प्रदोषव्यापिनी(ब्रत सहितको) पूर्णिमा लिनुपर्छ ।

होलीबारे किम्बदन्तिहरू

दैत्यराज हिरण्यकशिपुका चार भाइ छोरामध्ये कान्छा प्रल्हाद आफूले शत्रु ठानेका भगवान विष्णुका भक्त भए । त्यो कुरा उसलाई निकै मन परेको थिएन । छोरा प्रलहादलाई विष्णुको भक्ति नगर्न धेरै अनुरोध गरे, चेतावनी पनि दिए । तर भक्तिको रंगमा रंगिएका प्रल्हादले विष्णुको आराधना छोडेनन् । जसो गर्दा पनि विष्णुको साधना गर्न नछाडेपछि छोरालाई नै मार्नेसम्मको निर्णयमा पुगे पिता हिरण्यकशिपु ।

पहाडबाट खसालियो, हात्तीबाट कुल्चाइयो, आगोमा होमाइयो तर विष्णु स्वयम् रक्षक बनिदिएकाले प्रल्हादलाई केही भएन । विष्णुभक्त प्रल्हादलाई मार्न हर प्रयास विफल भएर चिन्तित बसिरहेकाबेला होलिका नामकी उनकी बहिनीले आफूलाई आगोले नडढ्ने बताइन् । त्यसैले प्रल्हादलाई काखमा लिएर उनी आगोमा बसिन् । होलिकाले भनेजस्तै आगो लगाइदिए हिरण्यकशिपुले । होलिका जलेर भष्म भइन् प्रल्हाद सकुशल फर्किए । होलिका जलेर भष्म भएको र सत्यको जित भएको सम्झनामा होलिकोत्सव मनाउन थालिएको बताइन्छ ।

पूतना नामकी राक्षसीलाई रसराज श्रीकृष्णले मारेपछि खुशीका साथ ब्रजवासीहरूले रंग, अविर गुलाल एक आपसमा लगाउँदै खुशी मनाएबाट होली सुरुभयो भन्ने पनि भनिन्छ । र अर्को भविष्योत्तर पुराणमा वासुदेव कृष्णसँग युधिष्ठिरले फागु किन मनाइन्छ र होलिका किन जलाइन्छ भन्ने प्रश्नमा कृष्णको उत्तर यस्तो रहेको छ–राजा रघुको राज्यमा सर्वत्र सुख–शान्ति थियो । त्यसैवेला त्यहाँ एउटा ढुण्ढा नामक राक्षसीले बच्चाहरू चोर्न थाली । राज्यमा हाहाकार भयो । जनता आतङ्कित भए । उक्त राक्षसीलाई कुनै उपायले मार्न भगाउन नसकेपछि राजाले आफ्ना कुलगुरुकहाँ गई सबै हाल सुनाए । गुरुले योगबलद्वारा हेरेर राक्षसीलाई राज्यबाट धपाउन फागुनको पूर्णिमाको दिन अग्निकुण्डमा आगो बाली सबैले नाच्ने, गाउने, हाँस्ने गर्नाले राक्षसी भाग्नुका साथै राज्यमा सुख, शान्ति छाउने बताए । र त्यसैदिनदेखि होलिका मनाउन थालियो ।

यस्ता विभिन्न किम्बदन्तीहरू भएको होली पर्व जहाँ जसरी सुरु भएपनि हाम्रो पर्वले विदेशीमनलाई समेत मोहित पारेको छ । रंगको पर्वले के साना, के ठूला, धनी, गरिव, जातीय भेदभावलाई त्याग गर्दै एकै सुत्रमा बाँधिने सन्देश दिएको छ ।
होली अथवा फागु मनाउने क्रममा हामीले एक आपसमा भएका असमझदारी, असमानता सबैलाई होलिका दहन गरेजस्तै जलाई समानता, अग्रगामी सोंचका साथमा अघिं बढ्नु पर्छ भन्ने सन्देश पर्वले दिएको छ । सबैले आ–आफ्नो मलिनतालाई भष्म गरेर परस्परमा सद्भावको रंग छर्दै देश एवं जनसेवामा जुट्नु पर्छ भन्ने सन्देश पनि होली पर्वले हामीलाई दिइरहेको छ ।

फागु शब्दको अर्थ सल्लाको गेडाभित्र रहेको पहेँलो धुलो भन्ने बुझिन्छ । जुन समय अविर, केशरी आदि विभिन्न रंगको चलन थिएन त्यसबेला यही सल्लाको गेडाभित्रको पहेँलो धुलो दलेर फागु मनाइन्थ्यो । फागु दलेर मनाइने पर्व भएको हुनाले यस पर्वलाई फागु भनिन लाग्यो ।

रंगको पर्व
फाल्गुन शुक्ल पूर्णिमा फागु, होली, चीरदाह आदिको पर्व हो । यसलाई रंग र उत्सवको पर्व पनि भनिन्छ । धार्मिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक सबै दृष्टिकोणबाट फागू पूर्णिमाको अत्यन्त महत्व देखिन्छ । आगोमा डढेको अन्नलाई संस्कृतमा ‘होलका’ भनिन्छ । पहिले पहिले फागुन शुक्ल पूर्णिमाको दिनमा बृहत यज्ञ गरिन्थ्यो । त्यस यज्ञमा आफ्ना घरमा भित्रिएको नवान्नलाई आहुती दिइन्थ्यो । त्यस आहुतीबाट बनेको तिलक लगाएर मनाइने खुसियाली भएर यस पर्वलाई होलीको उत्सव भनिएको पनि हुनसक्छ ।

प्रत्येक युगमा होली पर्वलाई त्यति नै उल्लासपूर्वक मनाइँदै आएको देखिन्छ । त्रेता युगमा पनि होली पर्वको महत्व भएको देखिन्छ । वास्तवमा फागु शब्दको अर्थ सल्लाको गेडाभित्र रहेको पहेँलो धुलो भन्ने बुझिन्छ । जुन समय अविर, केशरी आदि विभिन्न रंगको चलन थिएन त्यसबेला यही सल्लाको गेडाभित्रको पहेँलो धुलो दलेर फागु मनाइन्थ्यो । फागु दलेर मनाइने पर्व भएको हुनाले यस पर्वलाई फागु भनिन लाग्यो ।

सांस्कृतिम विचलन

फागु हर्ष उल्लास, खुसियाली अनि आमोद प्रमोदको पर्व हो । तर केही समय यता आएर यस्तो पवित्र पर्वको मर्यादामा नै आँच आउने गरी हिलो छ्यापछ्याप गरेर, कसैको इच्छा विरुद्ध रंग दल्ने, बाटो ढुकेर लोला, बेलुन हान्ने प्रचलन बढेको देख्दा कताकता साँस्कृतिक मूल्य मान्यता नबुझेको होकी भनेर दुःख लाग्नु स्वभाविकै हो ।

धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा सामाजिक मूल्य मान्यता बोकेको फागु पर्व हाम्रो अमूल्य पहिचान हो । यस्ता पर्वको महिमा उजागर गरी उच्श्रृंखललाई नियन्त्रण गर्नु आजको आवश्यकता देखिन्छ ।

(अच्युतप्रसाद पौडेल ‘चिन्तन’ बाट प्राप्त लेख)

:727 Views

Leave a Reply