‘यसपालिको एसईई दिन हामी पनि तयार छौँ’

सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी तारा न्यौपाने सानै उमेरदेखि पढाइमा अब्बल थिइन्। गाउँकै महेन्द्र क्रान्ति माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्दै गर्दा १४ वर्षको उमेरमा उनको विवाह भयो। विवाहपश्चात पढाइ रोकियो तर पढ्ने इच्छा जीवित नै रह्यो। विवाहपछि घरव्यवहार र सन्तान स्याहारसुसारमा उनको समय कट्दै जान थाल्यो। 

तारा न्यौपाने,  ३० वर्ष

जब उनको छोरा स्कुल जाने उमेरमा टेक्यो उनलाई पीर पर्न थाल्यो। पीर नलागोस् पनि कसरी स्कुल पुग्न घरबाट १ घण्टा हिँड्नुपर्थ्यो।समस्याको समाधान खोज्दै जाँदा उपाय निस्कियो, काठमाडौँ छिर्ने। काठमाडौँ आएपछि उनका श्रीमानले गाडी चलाउन थाले र उनी पनि काम गर्दै घरखर्च र बच्चाको पढाइ खर्च जोहो गर्न थालिन्। पछिल्लो ७ वर्षदेखि भक्तपुरको चार दोबाटोमा बस्दै आएकी ताराको ९ वर्षिय १ छोरा र ४ वर्षकी छोरी छन्।

पढ्ने रहरले उनलाई बेला–बेलामा घच्घचाइरहन्थ्यो। जब उनले आफ्नो उमेरका आफू जस्ता महिलाहरूलाई पनि पढाउने छुट्टै विद्यालय छ भन्ने थाहा पाइन् उनले आफ्नो पढ्ने धोको पूरा गर्ने बाटो भेट्टाइन्। कक्षा ८ को बिहानीको कक्षामा भर्ना भइन्। कक्षा ८ र ९ पढुञ्जेल उनले आफ्नो पढाइबारे कसैलाई जानकारी गराइनन्। अरुले खिसी गर्लान् वा उनको पढाइ बिचैमा रोकिएला भन्ने डरले उनले कसैलाई पनि बताएकी थिइनन्। तर जसै कक्षा १० मा पुगिन्, उनको कक्षा विहान नभइ दिउँसो हुने भयो। त्यसपछि आफ्नो पढाइको विषयमा भन्न बाध्य भइन्। उनी कुनै पनि हालतमा पढ्न चाहन्थिन्। उनले एसईई दिने अठोट गरिन्।

उनी नियमित पढाइसँगसँगै आफ्नो काम पनि गरिरहेकी थिइन्। स्कुलमा खाजा खान छुटाइएको समयमा उनी हतार हतार आफ्नो काम गरेर फर्कने गर्थिन्।

“बिहान घरको काम, बच्चालाई स्कुल पठाउने काम सकेर बिहान ठिक पौने ९ मा उनी स्कुल आइपुग्छिन् भने दिउँसो खाली समय पाउने बित्तिकै काम पनि भ्याउँछिन्। यति व्यस्त भइकन पनि उनको पढाइ राम्रो छ।” उनलाई पढाउने  शिक्षिकाहरू भन्छन्।

अङ्ग्रेजी विषय पढाउने उनकी शिक्षिका भन्छिन्, ‘३–४ ठाउँमा काम गरेर पनि उहाँ सबै विषयमा राम्रो हुनुहुन्छ, यति वर्षको अन्तरमा पनि उहाँको पढाइ र पढ्ने इच्छा निकै उदाहरणीय छ। पढाइमा थप समय दिन सक्नुभयो भने अझ धेरै राम्रो गर्न सक्नुहुन्थ्यो।’

ताराले एसईईमा ‘बि प्लस’ ल्याउने आशा राखेकी छन्। उमेरले ३० पुगेकी उनको इच्छा एसईईसम्मको पढाइमा मात्र सीमित छैन। यसपछिको पढाइ नियमित गरेर सरकारी सेवामा जाने सपना छ उनको।

मिना आलेमगर,५३ वर्ष

त्यस्तै उनकी साथी मिना आलेमगर पनि यही वर्ष एसईई दिँदैछिन्। ५३ वर्षको उमेरमा कसरी पढ्ने रहर जाग्यो भन्ने हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘अहिलेको जमानामा सामान्य नाम लेखपढ गर्न मात्र आएर नहुने रहेछ। पढाइ नभएपछि धेरै ठाउँमा दुःख पाइने रहेछ।’ उनी सम्झँदै भन्छिन्, “श्रीमान आर्मीको पेन्सन पाकेपछि विदेश जानुभयो र पैसाको कमि भएपछि मैले बैंकमा गहना राखे र पछि निकाल्न जाँदा भौचरमा अंग्रेजीबाट सहि गर्नुपर्छ भन्दै त्यहाँको कर्मचारीले भनेका थिए ‘अहिलेको जमाना कहाँ पुगिसक्यो तपाईँलाई यति पनि आउँदैन? तपाईहरूलाई पढाउने विभिन्न विद्यालय छन्’भन्ने भनाइले मेरो मन छोयो।”

उनले भारतको नागाहिनमा कक्षा ३ सम्म अध्ययन गरी १० वर्षको उमेरमा आफ्नो परिवारसँग नेपाल आएकी थिइन्। फरक भाषा र भिन्न परिवेशबाट आएकी उनलाई कक्षा १ मा भर्ना गर्न भनिएको रहेछ। आफूभन्दा साना उमेरकासँग बसेर पढ्न उनलाई मन भएन। त्यही कारण उनको पढाइ रोकिएको उनी सम्झन्छिन्।पढाइ नभइ नहुने रहेछ भन्ने उनको बुझाइले पढ्नलाई उमेरले नछेक्ने उदाहरण बनेकी छिन् उनी।

उनको दैनिकी बिहानको ३ बजेबाट सुरु हुन्छ। उनी आफ्नो घरको काम गरेर स्कुलको लागि हिँड्छिन्। कक्षा ८ र कक्षा ९ मा अध्ययन गर्दा उनी काठमाडौँको नाराणथानदेखि आउने गर्थिन्। राजनीतिक बन्द आह्वानका कारण बन्द हुँदा वा अन्य हड्तालमा पनि हिँडेरै स्कुल आउने गरेको उनी बताउँछिन्। गोरखा घर बताउने उनी अहिले भक्तपुरको दुवाकोटमा बस्छिन्।

आमा छोराको एसईई परीक्षा केन्द्र एउटै

रामेछाप घर भई हाल सानोथिमीमा बस्ने ३४ वर्षिया गंगा थापामगर र उनका १६ वर्षे छोरा रोशन थापामगर यो वर्षको एसईई सँगै दिने भएका छन्।  उनीहरूको एसईई दिने वर्ष एउटै मात्र नभई परीक्षा केन्द्र पनि एउटै रहेको छ। आमालाई पढ्नको लागि छोराले सहयोग गर्ने गरेका छन्। उनीहरू परीक्षाको तयारीका लागि सँगै बसेर अभ्यास गर्ने गर्छन्।

कोटेश्वर माध्यमिक विद्यालयमा कक्षा ७ सम्मको पढाइपछि १६ वर्षको उमेरमा उनी विवाहबन्धनमा बाँधिएकी थिइन्। उनले ५ वर्षअघि नै विद्यालयमा भर्ना गरेको भएतापनि घरायसी समस्याका कारण पढाइ छोडेको उनले बताइन्। भन्छिन्, ‘यो स्कुलमा मसँगैका साथी कक्षा १२ मा पढ्छन् म भने फेरी २ वर्ष ढिलो भएँ। तर पनि ममा पढ्ने इच्छा औधी छ र अहिले पनि ढिला भएको छैन।’

भूकम्पले पढ्ने रहर भत्कायो

सोमिका तामाङ, १७ वर्ष

वि.स. २०७२ सालको भूकम्पले सिन्धुपाल्चोकको फुल्पीङकोट घर भएकी १७ वर्षीया सोमिका तामाङको घर भत्कायो, विद्यालय भत्कायो। सँगसँगै उनको पढ्ने रहर पनि भत्काइदियो। ठूलो क्षतिसँगै आर्थिक संकट खेप्न नसक्ने भएपछि उनले पढाइ छोड्ने निर्णय गरिन् र भिमसेन माध्यमिक स्कुलमा कक्षा ९ छोडेर काम गर्ने सिलसिलामा काठमाडौँ छिरिन्।

उनकी दिदी सलिना तामाङले १७ वर्षमा बिहे गरेर आफ्नो पढ्ने इच्छा अपुरो भएपनि आफ्नी बहिनीलाई पढाउने निर्णय गरिन्। बिहान पढ्दै दिउँसो काम गर्न थालेकी सोमिकाले एसईई तयारीका लागि भने २ महिनादेखि काम छोडेकी छन्। उनी भन्छिन्, “आफ्नो आमा उमेरका महिलाहरूले पढेको देखेर पढाइको महत्व बुझ्दै झन् बढि पढ्ने उत्साह जाग्छ।’ उनी भविष्यमा समाज सेवा गर्न चाहन्छिन्।

मिसलाई ल्याएर घाँसे बनाउनुभन्दा घाँसेलाई ल्याएर मिस बनाउँछु

बुद्धिमाया लामा, ३२ वर्ष

काभ्रे घर भएकी बुद्धिमाया लामाकी आमा उनी १७ महिनाको छँदा नै बितिन्। त्यसपछि बुबा बेपत्ता भए। हाल ३२ वर्ष टेकेकी लामा पनि यो साल एसईई दिँदैछिन्। उनले गाउँमै केही समय प्रौढ कक्षा पढेकी थिइन्।

उनको कथा केही पृथक छ। १२ वर्षको उमेरमा बन्दुक भिरेकी उनले द्वन्द्वको समयमा बुर्जुवा शिक्षा पढ्न नहुने भन्ने शिक्षा पाएकी थिइन्। आफूलाई बिद्रोही स्वभावको बताउने उनी द्वन्द्वकालमा सिकाइएको कुरा व्यावहारिक नभएको बताउँदै उनी भन्छिन्, ‘पार्टीमा नपढेकोले राम्रो पद नपाउने भन्ने बुझेपछि मैले ६० सालमा पार्टी छोडेँ र बिहे गरेँ।’ काठमाडौँको परिवेशले पढ्नमा प्रोत्साहन गरेको भन्दै उनले थपिन्, ‘मेरो बुढा एकदम सहयोगी हुनुहुन्छ। पढाइको सिलसिलामा उहाँले भन्नुभयो ‘‘मिसलाई ल्याएर घाँसे बनाउनुभन्दा घाँसेलाई ल्याएर मिस बनाउँछु’’।

छोराको मायाले पढ्ने रहर जगायो

विष्णुलक्ष्मी प्रजापति,४३ वर्ष

भक्तपुरको थिमी बस्ने ४३ वर्षे विष्णुलक्ष्मी प्रजापतिको छोरा भारतमा पढ्छन्। उनलाई छोरासँग कुरा गर्न मन लाग्थ्यो तर इन्टरनेट र मोबाइलको प्रयोग नजान्नाले उनी सधै दुःखी भई छोराको सम्झनामा बस्थिन्। उनले गुनासो गर्दै भनिन्, ‘छोराको याद आउँथ्यो, उसँग बोल्न मन लाग्थ्यो तर म मोबाइल चलाउन र विदेशमा फोन गर्न जान्दिनथेँ। नपढेपछि धेरै कुरामा पछि भइने रहेछ भन्ने बुझेँ र पढ्ने निर्णय गरेँ।’

छोरा र १ छोरीकी आमा प्रजापतिले सानोमा सिद्धिकाली स्कुलमा कक्षा २ सम्म पढेकी थिइन्। आमाबुवाको धेरै सन्तान (४ दिदीबहिनी र २ दाजुभाइ) त्यसमा पनि पहिलो सन्तान भएकाले पनि उसमा धेरै जिम्मेवारी थियो। पढाइको आवश्यकता बुझेर नै उनका छोराले उनलाई यो स्कुलमा भर्ना गरिदिएका थिए।

उनी मात्र होइन धेरै महिला दिदीबहिनीहरू उमेरको बार नाघेर पढाइमा अग्रसर भएका धेरै उदाहरण भेटिन्छन्। कोही आफ्नो अधुरो सपना पूरा गर्न त कोही सन्तानसँग कुराकानी गर्न। त्यस्तै कोही सन्तानलाई भेट्न विदेश भ्रमण जान त कोही आफूले खाइरहेको जागिरमा पढाइ योग्यता थप्न पढिरहेका छन्।

 एउटा फरक विद्यालयः आस्था महिला विद्यालय

उनीहरूमध्ये धेरैले कसैलाई नभनी पढिरहेको भेटिए भने धेरै कमलाई मात्र परिवारको साथ र प्रेरणा मिलेको बुझियो। यस्तै अलग अलग कथा, आस्था र पृष्ठभूमि बोकेका थुप्रै महिलाहरू भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट यसपटकको एसईई परीक्षामा सहभागी बन्दैछन्। यो वर्ष १७ जना एसईई दिन तयार छन्। आस्था महिला विद्यालयबाट एसईई दिने यो सातौँ समूह हो भएको प्रधानाध्यापक रविता कार्की भन्छिन्। उनी थप्छिन्, “यहाँ पढ्न आउने महिला दिदिबहिनीहरू बिहान र बेलुकाको समयमा व्यस्त हुने भएकाले उहाँहरूलाई हामीले सबेसम्म बढी समय विद्यालयमा नै बिताउन लगाई एसईईको तयारी गराएका छौँ।’

सो विद्यालयबाट पढेका विद्यार्थीहरू इन्जिनियरिङ, नर्सिङ, फार्मेसी र अमिनि जस्ता पढाइ गरिरहेका र कोही पेशामा लागिसकेको विद्यालयकी सहप्रधानाध्यापक विना देउजा बताउँछिन्। हालसम्म सो विद्यालयबाट ९० जनाले एसईई दिइसकेको उनले बताइन्।

१४ वर्ष उमेर माथिका महिला विद्यार्थीलाई विगत १० वर्षदेखि विद्यालयले पढाउँदै आइरहेको छ। विद्यालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीलाई बिहानी र दिउँसोको कक्षा सञ्चालन गर्दै आएको छ भने कक्षा १० को विद्यार्थीलाई एसईई कै तयारीका लागि बिहान पौने ९ बजेदेखि साँझ पौने ५ बजेसम्म पढाउने गरेको छ।

:337 Views

Leave a Reply