उहिलेको एसएलसीमा आफू फेल हुँदा छक्क परेँ– भास्करराज राजकर्णिकार

मैले आफ्नो व्यावसायिक ‘करियर’को सुरुवात ‘प्रोफेसनल विज्ञापन एजेन्सी’ बाट गरेँ। त्यसपछि नेपालमा सम्भवतः पहिलो ‘प्रोफेसनल एक्जिबिसन’मा पनि गरेँ। एभिन्युज टेलिभिजनको जन्म धेरै पछि भएको हो । अब ‘कम्युनिकेसन’बाट बिस्तारै बाहिर जानुपर्छ जस्तो लागिरहेको छ । कम्युनिकेसनबाहेक शिक्षा क्षेत्रमा पनि थोरै लगानी गरेको छु । मेरो इच्छा चाहिँ ‘एचआर डेभेलपमेन्टमा ट्रेनिङ एन्ड एक्सपोजर्स’मा छ । नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको मिडिया स्कुलको कल्पना गरेको छु, जसले डिग्री मात्र दिने नभएर ‘एक्स्पोजर’ दिनुका साथै ‘प्रोफेसनल मिडिया स्किल’ र ‘ट्रेनिङ’ पनि दिनेछ । यो सोच मात्र हो अहिलेका लागि ।

म नयाँ शिक्षा लागू भएको बेला स्कुल भर्ना भएँ ०२८ सालमा । पछि ‘ल्याब स्कुल’ मा पढ्न थालियो । त्यहाँ ‘भोकेसनल’मा कुखुरा पाल्न पथ्र्यो । विशेष संगीत कक्षा हुन्थ्यो । खेलमा पनि हामी राम्रा थियौँ । गाडी चलाउन आउँथ्यो । अनि भन्थ्यौँ– केही नभए ट्याक्सी चलाएर जीवन धान्न सक्छौँ । कोही म्युजिकमा त कोही खेलबाट जीवन चलाउन सक्ने अवस्थामा थियौँ । हामी जे गर्थ्यौ, त्यो बाँच्न सक्ने आधार हुन्थ्यो । शिक्षा भनेको आफूले आर्जन गर्न सक्ने, आफूलाई बचाउन सक्ने हुनुपर्छ । पिएचडी गरे पनि कहीँ केही गर्न नसक्ने शिक्षाको के अर्थ ? स्कुल पढ्दा मलाई के लाग्थ्यो भने म भन्दा राम्रो पढ्नेहरू धेरै छन् । उनीहरूसँग म प्रतिस्पर्धा गर्न सक्दिनँ । एक नम्बर त कहिल्यै हुन सक्दिनँ झैँ लाग्थ्यो । तर, मैले जीवन भोग्दै जाँदा त्यो १ नम्बरभन्दा बढी गरेँ। किनकि मैले सिप सिकेँ, आर्जन गर्न सिकेँ । स्वरोजगार बन्न सके“, अरूलाई रोजगार दिन सके“ । शिक्षा यस्तै हुनुपर्छ जस्तो लाग्छ ।

शिक्षा भनेको आफूले आर्जन गर्न सक्ने, आफूलाई बचाउन सक्ने हुनुपर्छ । पिएचडी गरे पनि कहीँ केही गर्न नसक्ने शिक्षाको के अर्थ ?

एउटा गाउँको केटो पढ्दापढ्दै एसएलसी दिन काठमाडौँ आउँछ । उसले अनेक दुःख गरेर पढ्छ, लोकसेवामा लड्छ । एउटा कोठा लिएर सरकारी जागिर गर्छ । सुब्बा, खरिदार, उपसचिव गर्दै सचिव पनि हुन्छ । त्यसपछि सिद्धिन्छ । राष्ट्र सेवामा उसको ठूलो योगदान होला, तर शिक्षा भनेको त्यस्तो हुन पर्यो कि त्यसले अर्को २५ जनालाई रोजगार दिन सकोस् । त्यो खालको शिक्षाचाहिँ आज छैन नेपालमा । आफ्नो शैक्षिक अवधारणाले अरूलाई बचाउन सक्ने शिक्षा हुनुपर्छ ।

मैले प्रि–प्राइमरी तहको शिक्षा मोडल प्राइमरी स्कुलबाट लिएँ । नेपालमा दार्जिलिङका शिक्षकहरूले खोलेको यो पहिलो–दोस्रो स्कुल होला । त्यसपछि महेन्द्र आदर्श स्कुल हुँदै म ल्याब स्कुल पुगेँ । त्यही“बाटै मैले एसएलसी दिएँ । मच्छिन्द्र स्कुल मेरो एसएलसी सेन्टर थियो । त्यसपछि कमर्स पढ्न थालेँ । शंकरदेवबाट ब्याचलर अनि त्रिभुवन विश्वविद्यालयबाट एमकम गरेर पढाइको क्रम रोकेँ ।

म एसएलसीमा अप्सनल म्याथमा २२ नम्बर ल्याएर फेल भएको मान्छे । रिटोटलिङ गराउँदा ३६ नम्बर ल्याएर पहिलो श्रेणीमा उत्तीर्ण भएँ । त्यसबेला एसएलसी सेन्टरहरूमा कडाइ गरिन्थ्यो । ल्याब स्कुलबाट गएकालाई त्यसले खासै फरक पार्दैनथ्यो । मेरा साथीहरूलाई नेपाली गाह्रो हुन्थ्यो । म भने नेपालीमा ट्युसन लिने गर्थें । त्यसैले मलाई खासै त्यस्तो तनाव थिएन । समूह छलफल गर्दा एक–दुई घन्टा पढेपछि पुग्ने खालको थिएँ । म एकदमै गहिरो ढंगबाट नपढ्ने तर सामान्य ज्ञानको भरमा पास हुने खालको विद्यार्थी थिएँ । त्यतिबेला पनि चिट चोर्ने चलन थियो, तर मैले चाहिँ चोरिनँ । किनकि मलाई परीक्षा दिन जाँदै छु जस्तो कहिल्यै लागेन । परीक्षामा पूरा समय पनि बस्दिनथेँ । आफूलाई आएकोजति गरेर हिँडिहाल्थेँ । दायाँ–बायाँ कहिल्यै पनि गरिनँ । किनकि मलाई लाग्थ्यो, म ठीकै गर्छु, पास त हुन्छु । मलाई अभिभावकको दबाब पनि खासै थिएन । स्कुलमा पनि अतिरिक्त क्रियाकलापमा बढी सहभागी हुन्थेँ । सिनियर विद्यार्थीहरूसँग बढी हुन्थेँ । पढाइभन्दा अरू कुरामा बढी ध्यान दिने भएकाले पनि स्कुलले मबाट धेरै आशा राखेको थिएन । त्यही भएर फेल भएछ, ठीकै भयो भन्ने प्रतिक्रिया पनि आए । फेल भएको कुरा सुन्दाचाहिँ छक्क परेँ । फेलै त नहुनुपर्ने मान्छे म । ‘रिटोटलिङ’ पछि पास त भएँ, तर रिटोटलिङको दौरान एकदमै तनाव भयो । दिनदिनै रिटोटलिङ गर्ने सेन्टरमा जानुपर्थ्यो । बुबाले पनि धेरै प्रयास गर्नुभयो । करिब ६ महिनै लाग्यो ।

मसँग एसएलसीदेखिकै कुनै पनि सर्टिफिकेट छैन । कहिल्यै त्यसको जरुरत पनि परेन । म योभन्दा बढी गर्न सक्छु जस्तो लाग्छ । प्रमाणपत्र मात्रै जीवन जिउने मापदण्ड होइन । पढ्दै नपढेको मान्छेले पनि समाजमा उत्कृष्ट काम गरेको छ, पैसा मात्र होइन, नाम पनि कमाएको छ ।

अहिले अभिभावक, शिक्षक र विद्यालयले बच्चाहरूलाई चौबीसै घन्टा स्कुलमा राखेर ‘कोच’ गरेको देख्दा एसएलसी त्यसरी दिलाउन पर्ने परीक्षा हो र भन्ने लाग्छ । मेरो शिक्षाको परिभाषा अलिक फरक छ । एसएलसी परीक्षा पास हुनैपर्छ भन्ने जरुरी छैन । आफ्नो जीवनमा बाँच्नका लागि, जीवन अघि बढाउनका लागि, पढ्दै नपढी पनि धेरै ठूलो काम गर्नेहरू छन् नि । अब जागिर नै खाने हो भने चाहिँ डिग्री गर्नुपर्यो । ठीक छ, पढ्न पर्छ, एसएलसी पास हुन पर्छ । तर, सर्टिफिकेटकै लागि पढ्न पर्छ भन्ने मलाई कहिल्यै लागेन । मसँग एसएलसीदेखिकै कुनै पनि सर्टिफिकेट छैन । कहिल्यै त्यसको जरुरत पनि परेन । म योभन्दा बढी गर्न सक्छु जस्तो लाग्छ । प्रमाणपत्र मात्रै जीवन जिउने मापदण्ड होइन । पढ्दै नपढेको मान्छेले पनि समाजमा उत्कृष्ट काम गरेको छ, पैसा मात्र होइन, नाम पनि कमाएको छ । शिक्षासँग प्रमाणपत्र मात्र आएर अरू कुरा आएन भने काम लाग्दैन । प्रमाणपत्र चाहिँदैन भनेको होइन, तर संस्कार, सामाजिक मूल्य र मान्यता पनि सँगसँगै आउन पर्यो ।

:977 Views

Leave a Reply