फोहरबाट मोहर र मोहरबाट पढ्ने सामग्री

सबिना बानियाँ

प्लास्टिक एउटा बाकसमा, कागज एउटा झोलामा र फलफुल अर्को बाकसमा राख्दै थिए स्कुलका दुई कर्मचारी दिदीहरू । यी फोहर स्कुलभित्रैबाट संकलन गरिएका हुन् । विद्यार्थी र शिक्षकले काम नलाग्ने भनी फालेका र विद्यालयको भान्साबाट निस्किएका फोहर कुहिने र नकुहिने अलग अलग बाकसमा राखिँदै थियो ।

स्कुलले ती फोहरलाई जम्मा गरेर त्यसलाई त्यसरी छुट्टा–छुट्टै राख्ने व्यवस्था गरेको रहेछ । प्लास्टिक र कागजलाई मात्र नभएर स्कुलले फलाम, सिसालाई पनि अलग राख्ने व्यवस्था गरेको छ । त्यसरी संकलित कागज, प्लाष्टिक जस्ता नकुहिने अन्य वस्तुहरू स्कुलले बेच्ने गरेको रहेछ जसबाट भएको आम्दानी उसले दुर्गम क्षेत्रका स्कुलहरूमा अध्ययन गर्ने विद्यार्थीका लागि कापी कलम जस्ता स्टेशनरी सामानहरू किनेर पठाउने गरेको छ ।

फोहर व्यवस्थापनको यो अभ्यास गरिरहने स्कुल हो भक्तपुरको मिबाछेँस्थित एभरेस्ट स्कुल । स्कुलले हरेक शिक्षक, विद्यार्थी, कर्मचारी तथा शुभचिन्तक र अभिभावकसमेतको जन्मदिनमा निश्चित रकम जम्मा गरी जन्मदिन कोष ‘एभरेस्ट बर्थडे फन्ड’ स्थापना गरेको छ । सो कोषबाट दूरदराजका विद्यालयमा पुस्तकालय स्थापना गर्न र त्यसका लागि पुस्तकहरू उपलब्ध गराउँदै आएको छ । २०६६ सालदेखिथापना गरेको सो जन्मदिन कोषले देशका ग्रामीण क्षेत्रमा रहेका केही विद्यालयका बालबालिकाहरूले पुस्तकालयको अनुभव गर्न पाएका छन् । सो कार्यसँगसँगै एभरेस्टको यो अर्को नयाँ कार्य हो ।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी वातावरण सफा राख्ने सिलसिलामा यो कार्यलाई अगाडि बढाएको बताउँछन् । ‘हाम्रो भक्तपुर नगरपालिकाले ‘फोहरलाई मोहर बनाऊ’ भन्ने गर्छ । त्यही नारालाई आत्मसात गर्ने सन्दर्भमा त्यसका लागि उपायहरू सोच्दै जाँदा हाम्रो घरघरमा ‘खाली सिसी पुराना कागज’ भनी फोहरको थुप्रोबाट कागजलगायत फलाम, सिसाहरू संकलन गरी लाने मानिसहरूको याद आयो । त्यहीँबाट फोहर संकलन गर्ने र बेच्ने जुक्ति आएको हो । लिन आउनेहरू छन् भने हामीले किन नबेच्ने भन्ने प्रश्न उठ्यो मनमा र हामीले फोहरलाई बेच्न थाल्यौँ ।’

‘हामीले फोहर व्यवस्थापनको काम २०४५ सालबाटै सुरु गरेका हौँ । हाम्रो विद्यालय झौखेलबाट स्थानान्तरण भइ ब्यासीमा आएदेखि फोहरको लागि ठाउँ छुट्याउँदै गयौँ । त्यो बेलादेखि नै फोहरलाई छुट्याएर राख्यौँ । त्यो समयमा ४ वटा खाल्डो बनाएरप्लास्टिक, कागज, टिन र कुहिने फोहर अलग अलग राख्ने गरेका थियौँ ।’ उनले भने । वि.सं २०५८ सालदेखि स्कुलले काम नलाग्ने कापीहरू बेच्न सुरु गरेको प्रिन्सिपल राजण्डारीले बताउँदै वि.स.२०६७ सालबाट भने फोहर पनि व्यवस्थित र बिक्रि गरेर ‘एभरेष्ट स्टेशनरी फन्ड’ को स्थापना गरेको जानकारी दिए ।

‘हाम्रो भक्तपुर नगरपालिकाले ‘फोहरलाई मोहर बनाऊ’ भन्ने गर्छ । त्यही नारालाई आत्मसात गर्ने सन्दर्भमा त्यसका लागि उपायहरू सोच्दै जाँदा हाम्रो घरघरमा ‘खाली सिसी पुराना कागज’ भनी फोहरको थुप्रोबाट कागजलगायत फलाम, सिसाहरू संकलन गरी लाने मानिसहरूको याद आयो । त्यहीँबाट फोहर संकलन गर्ने र बेच्ने जुक्ति आएको हो । लिन आउनेहरू छन् भने हामीले किन नबेच्ने भन्ने प्रश्न उठ्यो मनमा र हामीले फोहरलाई बेच्न थाल्यौँ ।’ भक्त राजभण्डारी, प्रिन्सिपल ।

कुहिने फोहरबाट मल बनाउने गरेको र सो मल स्कुल प्राङ्गणमा रोपिएका विभिन्न जातजातिका बोटविरुवामा प्रयोगमा ल्याउने गरेको विद्यालयका प्रशासन प्रमुख कैलाश प्रधानले बताए । त्यस्तै भान्साबाट निस्कने पानीलाई खेर जान नदिई जम्मा पारेर बोटविरुवामा लगाउने गरेको जानकारी उनले दिए । ६ महिनाभन्दा लामो समयसम्मलाई पुग्ने आकाशे पानी संकलन गर्न ठूलो पानी भण्डारको समेत व्यवस्था गरेको बताउँदै त्यसबाट समय समयमा हुने पानीको अभावले हुने समस्या हटेको सुनाए ।

प्रिन्सिपल राजभण्डारी भन्छन्, ‘फोहरबाट मोहर त बन्यो अब यसलाई के गर्ने भनेर सोचेपछि यसबाट पनि सहयोग गर्रौँ भन्ने निचोड निकाल्यौँ । हामी शिक्षा क्षेत्रमै लागेकाले हामीले शिक्षा क्षेत्रमै सहयोग गर्ने निधो गर्यौँ । ‘एभरेष्ट स्टेशनरी फन्ड’ मा जम्मा भएको पैसाबाट हरेक वर्ष फागुन १ गते विद्यालयको स्थापना दिवसको अवसरमा दुर्गम जिल्लाका छनोट भएका विद्यालयलाई जन्मदिन कोषबाट पुस्तक सहयोगसँगै स्टेशनरी सामान पनि दिने निधो गर्यौँ ।’

कसैलाई सहयोग खाँचो परेमा वा कुनै बालआश्रमबाट सहयोगको लागि अनुरोध भइ आएमा पनि स्कुलले यही रकमबाट स्टेशनरी सामान उपलब्ध गराउने गरेको राजभण्डारीले बताए । फोहर संकलन गरी बिक्रीगर्दा वार्षिक २८ देखि ३५ हजार रुपैयाँसम्म आम्दानी गरेको उनले सुनाए । विद्यार्थीको संख्या हेरेर विद्यालयले स्टेशनरी सामानको परिमाण निर्धारण गर्छ ।

सहयोग गर्ने स्कुलको छनोटको सन्दर्भमा प्रिन्सिपल राजभण्डारी भन्छन्, ‘जन्मदिन कोषको र पुस्तक संकलनको समाचार प्रकाशनपछि विभिन्न स्कुलहरूले ‘हाम्रो स्कुललाई पनि पुस्तकालयको लागि पुस्तक आवश्यक छ’ भनेर पत्र पठाउन थाल्नु भयो । अनि हामी पत्र र आवश्यकता हेरेर कागजपत्रहरू माग्छौँ र मापदण्ड पूरा भएपछि मात्र स्कुलको छनोट गर्छौँ । र सोही स्कुललाई फोहर बेचेर जम्मा भएको रकमबाट स्टेशनरी सामान पनि सँगै दिन्छौँ ।’

स्कुलले विद्यार्थीलाई घरमा भएका पत्रिका, कार्टुन बक्स, पुराना जुत्ता, स्याम्पुको बट्टाहरू मात्र भएपनि जम्मा गरेर बेचेको रकमले जन्मदिन कोषको रकम बुझाउन हौस्याउने गरेको छ । हालसम्म विद्यालयले १७ वटा स्कुललाई स्टेशनरी सामानहरू सहयोग गरिसकेको प्रिन्सिपल राजभण्डारी बताउँछन् ।

‘अहिले उपत्यका बाहिरका स्कुलहरूबाट पनि यहाँ फोहरको संकलन र आकाशे पानीको सञ्चयको अवलोकन गर्न आउनुहुन्छ । हाम्रो स्कुल त अध्ययन केन्द्र नै बनेको छ ।’ कैलाश प्रधान, विद्यालय प्रशासन प्रमुख ।

एभरेस्ट स्कुलको सो कार्यको जानकारी पाएका कतिपय शिक्षक तथा प्रिन्सिपलहरू स्कुलमै अवलोकनका लागि आउने गरेको बताइन्छ । ‘अहिले उपत्यका बाहिरका स्कुलहरूबाट पनि यहाँ फोहरको संकलन र आकाशे पानीको सञ्चयको अवलोकन गर्न आउनुहुन्छ । हाम्रो स्कुल त अध्ययन केन्द्र नै बनेको छ ।’ विद्यालय प्रशासन प्रमुख प्रधानले भने, ‘हाम्रो स्कुल भ्रमण गरेपछि धादिङको एउटा स्कुलले त हामीले पनि आकाशे पानी संकलन र फोहरलाई व्यवस्थित गरेका छौँ भन्ने जानकारी दिनुभएको छ ।’

प्रिन्सिपल राजभण्डारी खेर जाने वस्तुलाई नगदमा परिणत गरेर कापी कलमका रूपमा सहयोग गर्न पाउँदा गर्व गर्छन् । ‘हामी शैक्षिक भ्रमणका लागि बाहिर जाँदा पनि हामीले लगेको कुनै पनि चिज फ्याक्दैनौँ । फोहर संकलन गरेर स्कुलमै जम्मा गर्छौँ ।’ उनी भन्छन्, ‘हामीले स्कुलमा गरेको अभ्यास देखेर कतिपय विद्यार्थीले घरमा पनि अनुसरण गरेको कुरा अभिभावकहरूले यहाँ आएर हामीलाई सुनाउनु हुन्छ । त्यो सुन्दा मन हर्षित हुन्छ ।

त्यस्तै स्कुलको भ्रमण गर्न आउने प्रिन्सिपलहरू यहाँको जस्तो काम आफूले पनि पछ्याउने प्रतिबद्धता जनाएर जानुहुन्छ ।’

:204 Views

Leave a Reply