स्थानीय रोजगारीको सृजना गर्नेे पाठ्यक्रम आवश्यक

काठमाडौँ, ६ बैशाख । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले वर्तमान शिक्षा प्रणाली दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

बिहिबार सञ्चार केन्द्रमा भएको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ कार्यक्रममा उनले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने सुझाव दिएका छन् । ‘हाम्रा केही खेतीयोग्य जमिन बाझा भएका छन् र नेपालका अधिकांश जनता कृषिमा निर्भर भएको अवस्थामा विद्यार्थीहरूलाई कृषि शिक्षा दिएर कृषिमा नै लाग्न अभिप्रेरित गर्नुपर्छ । त्यस्तै स्थानीय स्रोतसाधनको प्रयोग गरेर स्थानीय प्रविधिबाट स्थानीय रोजगारीको सृजना गर्ने किसिमको पाठ्यक्रमको विकास गर्नुपर्छ ।’ उनले भने ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले अबको शिक्षा प्रणाली नैतिकतामा आधारित हुनुपर्नेमा जोड दिएका छन् । उनले शिक्षामा गुणस्तरको कुरालाई उठाउँदै भने, ‘दक्ष र सिपमूलक शिक्षालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ । त्यस्तै विषयगत मात्र नभई प्राविधिक शिक्षालाई जोड दिदैँ शिक्षा नीति अगाडि बढाउनुपर्छ ।’

राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शैक्षिक सत्रको सुरुमा विद्यालयले विभिन्न विषयमा शुल्क लिने भएकाले सबै अभिभावकको समस्या यहि समयमा सृजना हुने जानकारी दिए । उनले सरकारले भर्ना अभियान त गर्ने तर भर्ना भइसकेपछि विद्यार्थीलाई विद्यालयमा कसरी टिकाउने भन्ने योजना नभएको गुनासो गरेका छन् ।

‘शिक्षामा बारम्बार गुणस्तरको कुरा उठ्छ तर गुणस्तर भनेको चिल्लो प्रमाणपत्र होइन । शिक्षाबाट रुपान्तरण र परिवर्तन हुन सक्नुपर्छ ।’ उनी थप्छन्, ‘सरकारी शिक्षकहरूले नै आफ्ना छोराछोरीलाई निजी विद्यालय पुर्याएर आफू जनताको बच्चालाई पढाउँछु भन्दै सरकारी विद्यालयमा पढाउन आउनु भनेको उनीहरूलाई आफ्नो शिक्षणमा विश्वास नहुनु हो ।’ बाँच्नको लागि नभई नहुने अर्थात् जीवन उपयोगी शिक्षा विद्यार्थीहरूलाई दिइनुपर्नेमा उनले जोड दिए ।

:183 Views

Leave a Reply