नगर प्रमुखसँग प्याब्सनका प्रतिनिधिहरूको भेट

भक्तपुर, २३ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार प्याब्सनका प्रतिनिधिहरूले भेट गरेका छन् ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकासमा सामुदायिक र निजी विद्यालयको भूमिका उल्लेखनीय भएको बताउँदै विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक र सेवा गर्ने भावनाको विकास गर्नुपर्ने बताए ।
निजी विद्यालयको योगदान र भूमिकाबारे चर्चा गर्दैै प्रमुख प्रजापतिले कानुन र संविधानको पालना सबैको हितमा हुने र सबैले त्यसको पालना गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।
वर्तमान सरकारले पुँजीमार्फत् देशलाई आफ्नो नियन्त्रणमा लिन खोज्नु गलत भएको बताउँदै प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, सेवा हो र शिक्षा र स्वास्थ्यमा राज्यले बढी लगानी गरी सबै जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
शैक्षिक गुणस्तर राम्रो भएको विद्यालय नै विद्यार्थीको पहिलो रोजाइँ हुने बताउँदै प्रमुख प्रजापतिले राजनीतिशास्त्र, इतिहास, भूगोल, संस्कृति पढ्ने विद्यार्थीको लागि भक्तपुर नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको बताए ।
भेटमा प्याब्सन भक्तपुर जिल्लाका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले भक्तपुर नगरपालिका नगर शिक्षा शाखाले निर्धारण गरेको शुल्क प्रस्ताव र छात्रवृत्तिबारे जिज्ञासा व्यक्त गर्दै गुणस्तरीय शिक्षाको लागि शुल्क व्यवस्थापन आवश्यक भएको, छात्रवृत्ति पाउने विद्यार्थीको पहिचान आवश्यक भएको र शुल्क निर्धारणले भक्तपुरका विद्यालयहरू सञ्चालनमा कठिनाई हुन नहुनेलगायतका विचार प्रस्तुत गरेका थिए ।
एभरेष्ट इ. स्कूलका प्रिन्सिपल एवं भक्तपुर प्याब्सनका सल्लाहकार भक्त राजभण्डारीले भक्तपुरका विद्यालयहरूले अन्य क्षेत्रको भन्दा कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र विद्यार्थीलाई प्रदान गरिएको सेवा सुविधा पनि स्तरीय भएको बताए । अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण विद्यालयहरूले गर्नुपर्ने बताउँदै उनले शिक्षकहरूको स्तर अभिवृद्धि गर्न विभिन्न तालिमहरू सञ्चालन गरिरहेको बताए ।

:368 Views

Leave a Reply