राम्रो पाठ योजना बनाएकोमा पुरस्कृत भएँ

घर बनाउन नक्सा पास हुनु आवश्यक हुन्छ भने जस्तै कुनै पनि पाठ पढाउन त्यसको योजना गरिएको हुनुपर्छ । पाठ योजना भनेको शिक्षणको नक्सा हो । घरको नक्सा पास गरेको जस्तै पाठ योजना पास गर्ने पनि विभागीय प्रमुखले हुर्ने गर्छन् । यदि शिक्षकहरूले पाठ योजना नबनाई मलाई विषयवस्तु सबै थाहा छ भन्दै शिक्षण गर्दा पाठ व्यवस्थित रूपमा अगाडि बढाउन कठिन हुन्छ र विषयवस्तु बाहिरका कुराहरू हुन जान्छ ।

म शिक्षाशास्त्र पढेको विद्यार्थी होइन । विज्ञान संकाय पढेर मैले शिक्षण सुरु गरेको थिएँ । मेरी श्रीमती शिक्षाशास्त्रको विद्यार्थी भएकाले मैले मेरो श्रीमतीको किताबबाट पाठ योजनाका विषयमा अध्ययन गरेको थिएँ । पहिलादेखि नै पाठ योजना बनाउनुपर्छ भन्ने अवधारणा थियो तर त्यो भक्तपुर क्षेत्रमा लागु भइसकेको थिएन । अन्तराष्ट्रिय रूपमा हेर्दै जाँदा र बुझ्दै जाँदा शिक्षण गर्न शिक्षाशास्त्र नै पढ्न आवश्यक छ ।

वि.स. २०५८ सालबाट साप्ताहिक रूपमा पाठ योजना बनाउन थालेँ र पछि दैनिक रूपमा पाठ योजना बनाएँ । शुुरु शुरुमा आफ्नो शिक्षण अनुभवको आधारमा पाठ योजना बनाउन थालियो । पछि त्यसलाई सुधारिँदै लगियो । अहिले हामी दैनिक पाठ योजना बनाउछाँै । पहिला पाठ योजना बिना पढाएकोभन्दा अहिले पाठ योजनासहित पढाउनु धेरै उपयोगी हुन्छ । यस वर्ष राम्रो पाठ योजना बनाएको भनेर विद्यालयले मलाई पुरस्कृत पनि गर्यो । यो प्रोत्साहनले झन् राम्रो गर्ने उत्साह जागेको छ । गणित विषयमा त्यसभित्र प्राविधिक शब्दहरू हुन्छन् । त्यसलाई म नेपाली र अंग्रेजी दुवै भाषामा सिकाउँछु ।

शैक्षिक सामग्रीको प्रयोगबिना शिक्षण अपूरो नै हुन्छ । नाफा र नोक्सान, छुट र भ्याटको पाठ पढाउनु पढ्दा भ्याट बिलको प्रयोग गर्न सकिन्छ । विद्यार्थीहरूले आफ्नो कपडा किनेको बिल, रेष्टुरेन्टमा खाना खाएको बिल छ भने त्यसलाई हिसाब गर्नु भन्ने गर्छु । विद्यार्थीलाई घरको विद्युतीय मिटर हेरेर पैसा तिर्न जाँदा कसरी लिएको छ भन्ने कुराको ज्ञान हुनु आवश्यक छ । समयमै बत्तीको पैसा तिर्दा कति छुट हुन्छ र यदि ढिला पैसा तिर्न जाँदा कति भ्याट जोड्छ भन्ने हिसाब गर्न आउनुपर्छ । ट्याक्सीमा चढ्दा मिटर कसरी हेर्ने र त्यसबाट पैसा कसरी हिसाब गरेर लिन्छ भन्ने कुरा विद्यार्थीहरूलाई थाहा हुनुपर्छ । त्यस्तै जियोमेट्री पढाउँदा पिरामिड, प्रिज्म पढाउँदा प्लाष्टिकका बोतल, कागजका बाकसहरूलाई देखाएर उनीहरूलाई सिकाउछौँ ।

शैक्षिक सामग्रीको प्रयोग मात्र होइन विभिन्न क्रियाकलाप समेत गर्न लगाउन सकिन्छ । गणित विषय भन्दैमा क्यालकुलेटरमा मात्र थिचेर हिसाब गर्ने भन्ने हुनुहुँदैन । जस्तैः हामी विद्यार्थीलाई सिकाएर विभिन्न पसलहरूमा जस्तै मोबाइल, प्रेसरकुकर, इलेक्ट्रिक सामानहरूको मूल्य सोध्न पठाउँछौँ । उनीहरूले कहाँ सस्तो र महङ्गो कहाँ बढी छुट दिएको भन्ने हिसाब गर्न लगाइन्छ । विदेशिने प्रवृत्ति बढ्दो अवस्थामा हामी उनीहरूलाई मुद्राको बारेमा सिकाउँछौँ ।

विद्यार्थीहरू किताबको अभ्यास अर्थात् गृहकार्य गर्नुलाई शिक्षा मानेर बसेको हुन्छ तर वर्तमान अवस्थामा किताबी ज्ञान मात्र नभएर त्यसलाई व्यवहारमा प्रयोग गर्नु उत्तिकै महत्वपूर्ण हुन्छ । हाम्रो दैनिक जीवनसँग पाठ कत्तिको मिलिरहेको छ भन्ने हेर्न लगाउनुपर्छ । हामी उनीहरूलाई ट्राभल एजेन्सीमा पठाउँछौँ । त्यस्तै उनीहरूले किनमेल गरेको हुनसक्छ यो हप्तामा कसले के के किन्यौ भनेर बिल लेराउन लगाई त्यसैबाट उनीहरूलाई कार्य गर्न दिने गरेका छौँ । विद्यार्थीलाई विभिन्न अनुसन्धान समेत गर्न लगाउने गरेका छौँ ।

पाठ योजनामा शैक्षिक सामग्रीको छनोट गर्दा हामीले स्थानीय सामानहरूको छनोट गरियो भने त्यो उपलब्ध गर्न पनि सहज हुन्छ । विषय सिकाउने हतारमा हामीले चाहँदा चाहँदै पनि कति शैक्षिक सामग्री प्रयोग गर्न पाएका हुँदैनौँ ।

धेरै वर्ष एउटै विषय पढाइरहेका अनुभवी शिक्षककालागि भन्दा पनि नयाँ शिक्षकका लागि त झन् पाठ योजनाको महत्व एकदम बढी हुन्छ । यसको मतलब अनुभवी शिक्षकलाई पाठ योजना चाहिँदैन भनिएको होइन । अनुभवी शिक्षकहरूले बनाएको पाठ योजनाबाट शैक्षिक क्षेत्रमा नयाँ प्रवेश गरेका शिक्षकका लागि त्यो सहयोगी सामग्री बन्छ ।

लिखित रूपमा नै पाठ योजना बनाउनु भनेको सुनमा सुगन्ध छर्नु हो । शिक्षकले विद्यार्थीलाई आफूले बनाएको पाठ योजना देखाएर उनीहरूको मात्र होइन कि शिक्षकले पनि तयारी गरेको छ भन्ने कुरा उनीहरूलाई देखाउँदा उनीहरूको मनोविज्ञानमा पनि त्यसको राम्रो प्रभाव पर्दछ । त्यस्तै गरी त्यो सूचनासंग्रहको रूपमा पनि रहन्छ ।

वार्षिक कार्य योजनाअनुसार पाठ योजना बनाएर कक्षामा विभिन्न क्रियाकलाप गरेर अगाडि बढ्दा पनि विभिन्न कारणले कहिले काहीँ कुनै पाठ नसकिने पनि भइदिन जान्छ । त्यो भनेको एकदम कम हुन्छ । योजना बनाएकोमा कहिलेकाही बिदा भइदिदाँ पनि त्यस्तो हुन जान्छ भने अर्को कारणमा विद्यार्थीहरू सबै समान तहका हुँदैनन् र कमजोर विद्यार्थीका लागि केही बढी समय छुट्याइँदा पनि कहिले काही त्यस्तो हुन सक्छ । हामी सामान्यीकरण गरेर पाठ योजना बनाउने गरेका छौँ अब त्यसलाई विशिष्टीकरण गरेर योजना बनाउनुपर्ने आवश्यकता हुन थालेको छ । शिक्षकले सबै विद्यार्थीको मनोविज्ञान बुझेर पाठ योजनामा त्यसलाई समावेश गर्नुपर्छ ।

दैनिक रूपमा हामी शिक्षकहरूले पाठ योजना बनाउछौँ र त्यो विभागीय प्रमुखलाई बुझाउछौँ । उहाँले हामीले तयार पारेको पाठ योजना ठिक छ छैन हेर्नुहुन्छ । ठिक भए हस्ताक्षर गरेर दैनिक प्रमाणित गर्नुहुन्छ र हप्ताको अन्तिम दिन प्रिन्सिपलकोमा पठाइन्छ । यसरी हाम्रो पाठ योजना पहिले विभागीय प्रमुखले त्यसपछि प्रिन्सिपलले जाँच गर्नुहुन्छ । हामीले बनाएको पाठ योजना अनुसार कक्षामा पढाउन सक्यौँ कि सकेनाँै भन्ने पनि अनुगमन हुने गर्छ । प्रिन्सिपल स्वयम हाम्रो कक्षामा आउनुहुन्छ । हामीले तयार पारेको पाठ योजना प्रभावकारी बनाउन उहाँले पनि हामीलाई सल्लाह सुझाव दिनुहुन्छ । कहिले काहीँ विज्ञहरूले पनि हाम्रो कक्षा अवलोकन गर्नुहुन्छ । विषयगत विज्ञहरूको सुझावले हामीलाई थप हौसला र शिक्षणमा समेत टेवा मिल्छ ।

:588 Views

Leave a Reply