मिस लिटिल नेवा ११३९ सनिशा भन्छिन् ‘इन्टरनेट नचलाएको भए मिस नेवाबारे थाहा नै हुन्नथ्यो’

नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवाः ११३९’ प्रतियोगिताको ग्राण्ड फिनालेमा आफ्नो नाम उद्घोष हुँदा सनिशा खुशीले उफ्रिइन्, आँशु झार्न सकिनन् तर भित्रभित्रै रोइन् । उनले सबैभन्दा पहिले आफ्ना आमाबुवालाई सम्झिइन् । त्यसपछि ती सबैलाई मनमनै धन्यवाद दिइन् जजसले उनलाई मिस नेवा प्रतियोगितामा पुग्न, टिक्न र जित्न सहयोग गरे । पुस २८, २०७५ का दिन राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा उनले आफू जस्तै २३ जना प्रतियोगीहरूलाई पछि पार्दै ताज पहिरेकी हुन् । उनको एउटा सपनाले साकार रुप लियो ।

‘मिस लिटिल नेवाः ११३९’ मा जान उनलाई न अभिभावकले भनेका हुन् न नै उनको विद्यालयका शिक्षक शिक्षिकाले । उनले इन्टरनेटमार्फत त्यसको जानकारी पाएकी हुन् । उनले २ वर्षदेखि इन्स्टाग्राममा आफ्नो खाता खोलेकी छिन् । फेसबुकमा पनि छ उनको खाता । उनी टिकटक पनि चलाउँछिन् । तर उनलाई फेसबुक र टिकटकभन्दा इन्स्टाग्राम चलाउन मन पर्छ । एक दिन त्यही इन्स्टाग्राम हेर्ने क्रममा उनको आँखा मिस लिटिल नेवाको लागि आवेदन खुला गरिएको विज्ञापनमा पर्यो । उनलाई पहिलेदेखि राम्रा राम्रा लुगा लगाउन मन पथ्र्यो । कता कता मोडल हुन्छु भन्ने इच्छा भित्रभित्रै पलाइरहेको थियो । नभन्दै मिस लिटिल नेवाको त्यो विज्ञापन देख्ने वित्तिकै उनले त्यहाँ रहेको सम्पर्क नम्बर कागजमा टिपिन् । नेप्लीज फेसन होमको त्यो फोन नम्बर र कार्यक्रमबारे उनले आमा निरा र बुवा सनिशलाई बताइन् । उनीहरूको प्रारम्भिक प्रतिकृया सकारात्मक थिएन ।

‘उहाँहरूले हुँदैन, पर्दैन भन्ने वित्तिकै मैले जान्छु भनेर बल गर्न सकिनँ । मलाई जान त जान्छु भन्ने मनमा लागिरहेको थियो । तर कसरी भन्ने चाहिँ थाहा थिएन ।’ सनिशाले आफ्नो शुरुवाती अवस्था सुनाइन् । उनका अभिभावक पनि निकै अलमलमा परेको उनीहरूसँगको कुराकानीमा थाहा पाइयो । सनिशाका बुवा सनिशले भने ‘छोरीले रहर गरेको कुरामा पर्दैन भन्दा हामीहरू पनि खुशी थिएनौँ । यस्ता कार्यक्रमहरूबारे राम्रा नराम्रा अनेक कुराहरू सुनेका पनि थियौँ । फेरि छोरीलाई दुईदुई महिना डिल्लीबजार पुर्याउनु ल्याउनु हाम्रो लागि सम्भव पनि थिएन । तर केही दिनको सोचविचारपछि उनलाई पठाउने निर्णय गर्यौँ ।’

काठमाडौँको डिल्लीबजारमा २ महिना प्रशिक्षण हुने भनिएकोले निर्णय गर्न कठीन परेको भन्दै भक्तपुरमै पनि प्रशिक्षणको व्यवस्था हुने भन्ने खवर पाएपछि सनिशालाई प्रतियोगितामा सहभागी हुने ढोका खुल्यो ।

‘हरेक दिन साँझको ५ बजेदेखि ७ बजेसम्म प्रशिक्षण हुन्थ्यो । र्याम्पमा कसरी हिँड्ने, नयाँ साथीहरूसँग कसरी घुलमिल हुने, आफ्नो कुराहरू राम्रोसँग कसरी राख्ने, भन्ने कुराहरू सिकेँ । त्यो अवधिमा नेपाल भाषा मात्र प्रयोग हुन्थ्यो । आफ्नै मातृभाषा भइकन पनि मलाई नेपाल भाषा बोल्नुपर्छ भन्ने लाग्दैनथ्यो । घरमा बुवाआमाले बोल्नु भएको कति कुरा बुझ्थेँ कति बुझ्दिनथेँ । नेपाल भाषामा केही सोध्नु भयो भने पनि जवाफ नेपालीमै दिन्थेँ । तर २ महिनाको विशेष प्रशिक्षणले मलाई नेपाल भाषा बोल्ने, सिक्ने र प्रयोग गर्ने बनाइदिएको छ । मैले रञ्जना लिपी पनि सिकेँ । म आजभोलि नमस्तेको ठाउँमा ज्वज्वलपा भन्छु ।’ सनिशाले प्रशिक्षणको अनुभव सुनाइन् ।

जहाँ आफ्नो इज्जत हुन्छ, जहाँ मलाई सुन्छन् त्यस्तो ठाउँमा मात्र जाने । टाढा जान परे वा राति निस्कन परे एक्लै ननिस्कने, साथमा अभिभावक लिएर जाने भन्ने कुरा प्रशिक्षणको बेलामा हामीलाई प्रशिक्षकहरूले बताउनु भएको थियो ।

पहिला कहिल्यै कतै एक्लै नहिँडेकी छोरी प्रशिक्षणको लागि आफै सार्वजनिक गाडी चढेर साँझ सात साढेसातमा पनि एक्लै घर फर्कने गरेपछि बुवा सनिशले छोरीलाई प्रशिक्षण पठाएर सही निर्णय गरेको भनी ठम्याए । उनमा बढ्दै गरेको आत्मविश्वास र अनुशासनले गर्दा घरको वातावरण समेत परिवर्तन भएकी सनिशाकी आमा निराले बताइन् । ‘पहिला त भाइसँग निकै झगडा गर्ने । मलाई पनि त्यति सहयोग नगर्ने, सरसफाइमा पनि खासै मन दिन्नथिन् । नौलो मान्छे भेटिहाले पनि बोल्न एकदमै नमान्ने खालकी थिइन् । तर अहिले लगभग सबै कुरामा परिवर्तन भइसकिन् ।’

सनिशालाई पहिलेदेखि फ्रक लाउन मन लाग्थ्यो । तर बस्दा हिँड्दा उनलाई असजिलो लाग्ने गथ्र्यो । फ्रक लगाउँदा कसरी बस्ने, मानिसहरूसामू बोल्दा कसरी बोल्नेदेखि कस्तो ठाउँमा जाने, अनि कस्तो ठाउँमा नजाने भन्ने पनि सिकेकी छन् । ‘जहाँ आफ्नो इज्जत हुन्छ, जहाँ मलाई सुन्छन् त्यस्तो ठाउँमा मात्र जाने । टाढा जान परे वा राति निस्कन परे एक्लै ननिस्कने, साथमा अभिभावक लिएर जाने भन्ने कुरा प्रशिक्षणको बेलामा हामीलाई प्रशिक्षकहरूले बताउनु भएको थियो । म आफू नेवार भइकन पनि मैले लगाएका लुगा र गहनाहरूबारे थाहा थिएन । मेरो हजुर आमा र बाले मलाई घरमा ‘तिसा’ भनेर बोलाउनु हुन्थ्यो । त्यस्को अर्थ गहना हो भन्ने मैले पछि थाहा पाएँ । नेवारी भोज त सधैँ खाने गरेकी छु । तर नेवारी भोजमा प्रयोग हुने तरकारीका प्रकार र त्यो कहिले कहिले राखिन्छ भन्ने थाहा थिएन । त्यस्तै हामी विभिन्न पूजाहरू गर्छौँ । कहिल्यै त्यस्तो कुरामा हामीले के के प्रयोग हुन्छ वा कसरी गरिन्छ भनी ध्यान दिएका थिएनौँ । त्यस्ता कुरा पनि सिक्ने अवसर मिल्यो मिस लिटिल नेवामा ।’

तपाईँले मिस लिटिल नेवाः ११३९ को ताज कसरी हात पार्नुभयो भन्ने हाम्रो जिज्ञासामा सनिशाले भनिन् ‘अन्तिम दिनमा निर्णायकले ३ वटा प्रश्न सोध्नु भएको थियो जसको राम्रो र चित्त बुझ्दो जवाफ दिएको कारण मैले जित्ने मौका पाएँ । मलाई सोधिएको महत्वपूर्ण एउटा प्रश्न थियो – तिमी नभइ यो प्रतियोगितामा अरु कसैले जिते भने तिमी के गर्छौ ? ‘यदि मबाहेक अर्को कुनै साथीले यो प्रतियोगिले जिते भने म उहाँको लागि खुशी हुनेछु । किनकि जित्नु ठूलो कुरा होइन । सिक्नु ठूलो कुरा हो । र मैले यो प्रतियोगितामा आएर निकै धेरै कुराहरू सिकेकी छु । यो अवसरका लागि म मेरा प्रशिक्षकहरू, मेरा साथीहरू, मेरा अभिभावकहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।’ मैले यसो भनेकी थिएँ । यही जवाफले मलाई मिस लिटिल नेवाः ११३९ को ताज लगाउने भाग्य मिलेको भन्ने लाग्छ ।’

मलाई सोधिएको महत्वपूर्ण एउटा प्रश्न थियो – तिमी नभइ यो प्रतियोगितामा अरु कसलै जिते भने तिमी के गर्छाै? ‘यदि मबाहेक अर्काे कुनै साथीले यो प्रतियोगिले जिते भने म उहाँको लागि खुशी हुनेछु । किनकि जित्नु ठूलो कुरा होइन । सिक्नु ठूलो कुरा हो । र मैले यो प्रतियोगितामा आएर निकै धेरै कुराहरू सिकेकी छु । यो अवसरका लागि म मेरा प्रशिक्षकहरू, मेरा साथीहरू, मेरा अभिभावकहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।’ मैले यसो भनेकी थिएँ ।

सनिशा भविष्यमा वकिल बन्न चाहन्छिन् । कृषि विज्ञान पढ्ने उनको रहर उनी पूरा गर्न चाहन्छिन् । उनलाई एकल परिवार भन्दा संयुक्त परिवार मनपर्छ । उनी भन्छिन्, ‘मान्छेपिच्छे घर बनाउनुभन्दा एउटै घरमा सबै मिलेर बसी बाकी जमिनमा खेती गर्न सकिन्छ । हाम्रो जस्तो कृषि प्रधान देशमा खेती अति आवश्यक छ ।’

केटाकेटीलाई मोबाइल वा इन्टरनेटको प्रयोगमा बन्देज गर्न नहुने उनको धारणा छ । अभिभावकले समयसीमा तोकेर आफ्ना केटाकेटीलाई त्यसको प्रयोग गर्न दिनुपर्ने उनी बताउँछिन् । केटाकेटीलाई प्रतिबन्ध लगाउने तर आफै भने केटाकेटीकै सामुन्ने मोबाइल वा इन्टरनेट चलाइबस्ने गर्नाले केटाकेटीमा नकारात्मक प्रभाव पर्ने उनले सुनाइन् । त्यसैले अभिभावक स्वयमले पनि अनुशासन राख्नुपर्ने उनी बताउँछिन् । दिनमा बढीमा एक घन्टा गुगल वा त्यस्तै आफ्नो पढाइमा सहयोगी हुने किसिमका साइटहरू हेर्दा फाइदा पुग्ने भन्दै सामाजिक सञ्जालमा अल्मलिन नहुने सुझाव दिन्छिन् आफू जस्तै उमेरका साथीहरूलाई ।

भक्तपुरको जेन्युइन सेकेन्डरी स्कुलको कक्षा ७ मा पढ्ने सनिशालाई मिस नेपालहरूमध्ये निकिता चाण्डकको आत्मविश्वास, बहुप्रतिभा र प्रेरणात्मक भनाईहरू मन पर्छ । एउटाअवसरले आफूलाई पुस्तकबाहिरका अनगिन्ती विषय सिक्ने अवसर मिलेको बताउने उनी अरु साथीहरू र अभिभावकहरूलाई समेत यस्ता कार्यक्रममा जान र पठाउन सुझाव दिन्छिन् ।

:162 Views

Leave a Reply