विस्केट जात्रामा रमाउँदै विद्यार्थीहरु

भक्तपुर, ६ जेठ । नेवारी पोशाकमा सजिएर एक छेउबाट छात्र र अर्को छेउबाट छात्राहरु स्थानीय पोशाक लगाएर चिच्याउँदै ‘हइसे होइसे’ गर्दै रथ तानिरहेका थिए । उनीहरुको त्यो उत्साहले उपस्थित अतिथि, विद्यार्थी र शिक्षकको ध्यान उनीहरुप्रति केन्द्रित गरिरहेको थियो ।
यो दृश्य हो भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको । विद्यालयले स्थानिय संस्कृति झल्काउँदै कार्यक्रम सम्पन्न गरेको थियो । ब्रिटिस काउन्सिलअन्तर्गत सञ्चालित अन्तराष्ट्रिय विद्यालय अवार्ड परियोजनामा विद्यालयले विस्केट जात्रा प्रदर्शनी गरेको विद्यालयका प्रिन्सिपल शंकर पौडेलले बताए ।
विस्केट जात्राको महत्व दर्साउन र यसलाई अन्तराष्ट्रियस्तरमा प्रचार गर्नका लागि कार्यक्रम गरेको प्रिन्सिपल पौडेल बताउँछन् । उनी भन्छन् ‘धार्मिक, स्थानिय संस्कृतीमा विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराएर उनीहरुलाई आफ्नो संस्कृति जोगाउने भावनाको विकास गर्न हामीले यो कार्यक्रम गरेका हौँ ।’
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मन्दनसुन्दर श्रेष्ठले दिप बालेर कार्यक्रमको उद्घाटन गरिएको उक्त कार्यक्रममा संस्कृतकर्मी ओमप्रकाश धौभडेलले विस्का जात्राका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए । विद्यालयले गरेको कार्यक्रमले गर्दा जेठको ५ गतेसम्म विस्केट जात्रा लागेको महशुस भएको भन्दै उनी भन्छन्, ‘विस्केट जात्रा नेवारी जात्राको मात्र नभई सम्पूर्ण जनसमुदायको हो । विस्केट जात्रा भक्तपुरको मात्र नभई संसारभरिका मान्छे आएर यो संस्कार गरिनुपर्छ । विभिन्न ठाउँमा हुने जात्रा नागनागिनीसँग सम्बन्धित छ । जात्रा मौलिकता, संस्कृति र व्यवहारसँग पनि जोडिएको छ ।’

विद्यालयले १ वर्षअघिदेखि सो अवार्डमा सहभागिता जनाएको हो । अन्तराष्ट्रिय विद्यालय अवार्ड कार्यक्रम अन्तर्गत नै बेलायतको शिक्षक विद्यालयमा ल्याउने र विद्यालयको शिक्षिका बेलायत जाने विद्यालयले जानकारी दिएको छ ।

:276 Views

Leave a Reply