चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम असारबाट लागु हुने

भक्तपुर, १९ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ को लागि स्थानीय पाठ्यक्रमको तयारी गरेको छ । शुक्रबार र शनिबार दुई दिने ‘स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला गोष्ठी’ कार्यक्रममा पाठ्यक्रमका विषयमा अन्तिम छलफलमा कक्षा ८ को पाठ्यक्रम भने यहि असारबाट लागु गर्ने जानकारी दिइएको हो ।

कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले अन्य भौतिक विकासभन्दा यो कार्य पहिला गर्नुपर्ने आवश्यक रहेकाले स्थानीय पाठ्यक्रम निर्माणलाई प्राथमिकतामा राखिएको बताए।

पाठ्यक्रमको निर्माणको सन्दर्भमा उनले भने, ‘हाम्रो नगरमा पढेको विद्यार्थी बाहिर देशमा जाँदा यहाँको भूगोल, पेशा, धर्म, समुदायको परिचय दिन सकून भन्ने कुरालाई मध्यनजर गर्दै पाठ्यक्रम निर्माणको अभियानमा लागेका हौँ।’ पाठ्यपुस्तकबिना पनि शिक्षकले पाठ्यक्रमका आधारमा पढाउन सकिने उनको धारणा छ ।

उनले स्थानीय पाठ्यक्रममा कक्षागत गतिविधिलाई जोड दिएर शिक्षामा सुधार ल्याउन सक्ने राय दिए। नगरभित्रका विषय शिक्षकको समिति बनाएर पनि अघि बढ्ने पालिकाको योजना रहेको बताइएको छ ।

त्यस्तै गरी कक्षा ८ को परीक्षा नगरपालिकाले लिँदा कुन विद्यालयका विषय शिक्षकले कसरी पढाएका रहेछन् भन्ने कुराको लेखाजोखा गर्न सकिएको उनको अनुभव छ ।

नगर शिक्षा शाखा प्रमुख विरबहादुर खड्का स्थानीय पाठ्यक्रमले बालबालिकाको सिकाई उपलब्धी बढ्ने बताउँछन् ।
पाठ्यक्रम अधिकृत पुरुषोत्तम घिमिरेले पाठ्यक्रम निर्माणमा सैद्धान्तिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय धारणालाई ख्याल गरिएको बताएका छन् । ‘हामी बच्चालाई ज्ञान दिन्छौँ, उसमा दृष्टिकोण होस् र त्यसलाई अभ्यास गरोस् भन्ने सोच्छौँ तर पहिलो कुरा भनेको अभ्यास नै हो ।’

पाठ्यक्रमको निर्माणको कार्यका लागि अघिल्लो वर्षको मंसिर महिनामा उपसमितिको गठन गरी निर्माण कार्य अघि बढाइएको थियो । स्थानीय पाठ्यक्रम कार्यदलको सदस्य तथा प्याब्सनका पूर्व जिल्ला अध्यक्ष श्रीकृष्ण केसीले राष्ट्रिय पाठ्यक्रमले नसमेटिएको विषयवस्तुलाई यसमा समेटिएको बताउँदै भने, ‘राष्ट्रिय पहिचानका विषय त माथि उठिरहेको छ तर आफ्नो जन्मभूमिबारे जानकारीहरू छायामा परेको छ । हामीले यसअघि विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति र ११ वटै विषयगत नगरपालिका शाखासँग छलफल गरेर संशोधन गरेका छौँ । सैद्धान्तिक कुरालाई व्यवहारिक कसरी बनाउने भन्ने विषय पाठ्यक्रममा राखिएकोे छ । यसमा हामीले १३ वटा प्रधान विषयवस्तुलाई राखेका छौँ ।’

स्थानीय पाठ्यक्रम निर्माण गर्दा नगरपालिकाको अवस्थिति, चाँगुनारायण मन्दिर, पर्यटन, संस्कार वा रितिरिवाज, स्थानीय पेशा र प्रविधि, जीवनदर्शन, स्वास्थ्य, सिर्जना र सिपगत शिक्षा, सूचना प्रविधि जस्ता विषयलाई जोड दिइएको छ ।

कार्यक्रममा विभिन्न सहभागीले चाँगुनारायण मन्दिरलाई मात्र जोड दिनुभन्दा अन्य सम्पदालाई पनि समावेश गरिनुपर्ने, सबै वडाको एउटा चिनारी आउनुपर्ने र यो यसमा विविध विषय समेटिएको हुने हुँदा एउटै शिक्षकले सो विषय पढाउन गार्हो हुने र यसका लागि अतिथि शिक्षकको आवश्यक र त्यसको लागि पालिकाले बजेटको व्यवस्थापन गर्नुपर्ने कुरामा सुझाव दिएका थिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गाना, विभिन्न शिक्षाकर्मी, नगरपालिकाका प्रतिनिधि, वडा प्रमुख र विद्यालयका प्रअहरूको उपस्थिति रहेको थियो ।

:245 Views

Leave a Reply