विश्व वातावरण दिवसमा सरसफाइ 

मध्यपुर थिमि,जेठ २२ |  मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीले विश्व वातावरण दिवस (जुन ५)को अवसर पारेर सरसफाइ कार्यक्रम सम्पन्न गर्‍यो ।

सफा सहर हाम्रो रहर भन्ने नाराका साथ आयोजित  कार्यक्रममा ग्ल्याडस्टोन स्काउट ट्रुप, जुनियर रेडक्रस, स्काउट शिक्षक भुवनचरण श्रेष्ठ,जुनियर रेडक्रस सह शिक्षक नायक जस्मिन राजवाहक  लगायत विद्यालयका शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

ग्ल्याडस्टोन समुदायमा(Gladstone in community) का रूपमा आयोजित सरसफाइ कार्यक्रम अन्तर्रगत मध्यपुर थिमी क्षेत्रका विभिन्न साँस्कृतिक तथा प्राकृति सम्पदाको सफाइ गर्ने काम गरियो। जथाभावी उत्पादित र फ्यालिएका फोहोर मैला आजको मुख्य चुनौती रहेको र यसले निम्त्याएको जलवायु परिवर्तन,बाढी,पहिरो,भूक्षय आदिले सुन्दर भूमि कुरुप बन्दै छ। स्वर्गरूपी विश्वको रक्षार्थ हामी सबै एकजुट भइ संरक्षणमा लाग्नुपर्ने सत्यलाई हृदङ्गम गर्दै सरसफाइ कार्यक्रम आयोजना गरिएको वताउँदै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले सरसफाइ कार्यक्रमले मात्र समस्या समाधान नहुने भएकोले समुदायमा बसोबास गर्ने नागरिक समुदायलाई समय समयमा यस्ता गतिविधिबारे जानकारी दिनुका साथै जनचेतना मूलक कार्यक्रम सम्बन्धित निकायले सञ्चालन गर्नुपर्ने बताउनु भयो।

करिब २ घण्टाको सरसफाइ कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागिता देखेर  वरपरका स्थानीय वासिन्दाहरुले धन्यवादका साथ यस्तो पुण्य कार्यमा सँधै लागिरहन हौसला प्रदान गरे। प्राकृतिक श्रोतको अधिक दोहन,अव्यवस्थित बसोबास ,अव्यवस्थित औद्योगिकीकरण जथाभावी फोहोर जन्य पदार्थको बिसर्जन लगायतका समस्याले गाँजिरहेको वर्तमान परिप्रेक्ष्यमा विद्यालयको तर्फबाट भएको यो सानो प्रयासले स्वच्छ र हराभरा प्रकृति बनाइ वातावरणको रक्षामा एउटा इँटा थप्ने बल पुगोस् र बाल मस्तिष्कमा वातावरणप्रति सकारात्मक सोचको विकास होस भन्ने उद्देश्य सहित आयोजित कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी तथा शिक्षक वर्गलाई विद्यालयका तर्फबाट धन्यवाद प्रदान गरियो।

:235 Views

Leave a Reply