किन राख्छन् विद्यार्थीले शिक्षकको उपनाम?


गोपीलाल न्यौपाने, मनोविज्ञ
घरको वातावरण र विद्यालयको वातावरणको आधारमा विद्यार्थीको सोच्ने र व्यवहार गर्ने तरिका निर्धारण भएको हुन्छ । सकारात्मक वातावरणमा हुर्केको बच्चाले जहिले पनि सकारात्मक नै सोच्छ । नकारात्मक वातावरणमा नकारात्मक नै सोचाइ आउँछ । शिक्षकप्रति नकारात्मक बच्चा परिवारप्रति सकारात्मक हुन सक्दैन ।
शिक्षक र विद्यार्थीबीच जेनेरेसन ग्याप नेपालमा त्यति ठूलो छैन । टाइम फ्रेम मात्र जेनेरेसन ग्याप होइन । जेनेरेसन ग्याप सोचाइ, व्यवहार, सामाजिक घुलमिलजस्ता कुरामा भर पर्छ । तर, प्रविधिले यसमा केही परिवर्तन भने अवश्य ल्याएको छ । जोकोही विद्यार्थीमा केही सपना हुन्छन् । उनीहरूको सपनाअनुसार लगानी हुन सकेको छैन । त्यसले गर्दा बच्चा केही विद्रोही हुन्छन् ।
अहिलेको पुस्ता प्रविधिमा निकै अगाडि छ । तर, हाम्रो शिक्षा परम्परागत छ । जसले गर्दा उनीहरूमा वितृष्णा जन्मिन्छ । यही कारण शिक्षक र विद्यार्थीबीच दूरी बन्छ । शिक्षक र विद्यार्थीबीचको स्कुलिङमा फरक पर्ने भएको अवस्थामा पनि उनीहरूबीच कुरा मिल्दैन । सरकारी विद्यालय पढेर आएको शिक्षकलाई निजीका बच्चाले स्वीकार गर्न सक्दैनन् । दोस्रो कुरा, एउटा विद्यार्थीका लागि चाहिने सबै कुरा हाम्रो पाठ्यक्रममा समावेश छैन । शिक्षकले पाठ्यक्रमअनुसार पढाउँदा विद्यार्थी सन्तुष्ट हुन सक्दैन । सन्तुष्ट नभएपछि उसले गाली गरेर वा उपनाम राखेर बदला लिन खोज्छ । पाठ्यक्रमले समावेश गर्नै सकेन । पाठ्यक्रमले चुनौती नगर्दा के पढाएको भनेर सन्तुष्ट हुन नसकी उनीहरूबीच भिन्नता देखा पर्छ ।
कतिपय अवस्थामा शिक्षकलाई जिस्क्याउनु वा व्यंग्य गर्नुपर्यो भने विद्यार्थीले उपनाम राख्छन् । अलि राम्रो शिक्षक छ, जो विद्यार्थीलाई एकदमै माया गर्छ, राम्रोसँग पढाउँछ भने त्यस्ता शिक्षकको नाम राख्दैनन् ।
शिक्षकको उपनाम राख्ने बाल स्वाभाविक प्रतिक्रिया हो । कतिपय अवस्थामा शिक्षकलाई जिस्काउनु वा व्यंग्य गर्नुपर्यो भने उपनाम राख्छन् । अलि राम्रो शिक्षक छ, जो विद्यार्थीलाई एकदमै माया गर्छ, राम्रोसँग पढाउँछ भने त्यस्ता शिक्षकको नाम राख्दैनन् । विद्यार्थीसँग मैत्री नभएको अवस्थामा नाम राख्छन् । कोही विद्यार्थीले उपनाम राख्छन् भने शिक्षकले बुझ्दा हुन्छ कि म कतै न कतै असंगठित छु । यस्तो बेलामा शिक्षकले आफूलाई सुधार्नुपर्छ ।
बच्चा दुई कुरादेखि डराउँछन्, एक पुस्तक र अर्को शिक्षक । पुस्तकदेखि यसकारण डराउँछन् कि उनीहरू पुस्तकलाई माया गर्छन् । पुस्तक ज्ञानको स्रोत हो भन्ने उनीहरूलाई थाहा छ । शिक्षकदेखि यसकारण डराउँछन् कि ऊ पनि ज्ञानको स्रोत हो । आजकालका बच्चा घरमा बाबुआमादेखि डराउँदैनन्, तर शिक्षक भनेपछि थुरुरु काँप्छन् । यही कारण शिक्षकप्रतिको असन्तुष्टि विभिन्न रूपमा पोख्ने गर्छन् । कहिलेकाहीँ घरका सदस्यमा पोख्ने गर्छन् । भाइबहिनीलाई पिट्ने, बुबाआमासँग नबोल्ने गर्छन् । कोहीचाहिँ सपनामा दाह्रा किट्ने, आतंकित व्यवहार देखाउने, कपडा च्यात्ने, साथीसँग झगडा गर्ने गर्छन् । आफूले प्रत्यक्ष व्यक्त गर्न नसकेका कुरालाई निद्रामा भन्ने कसैको बानी हुन्छ ।
अहिले अभिभावकले निजी विद्यालयको कुरा काट्ने भनेको विद्यालय पारदर्शी नभएर हो । अभिभावकले कुरा काट्दा बच्चामा पनि नकारात्मक भाव आउँछ । तर, निजी क्षेत्रको लगानी भनेको नाफा कमाउनका लागि हो । कति प्रतिशत नाफा लिने भन्ने राज्यले पारदर्शी व्यवस्था ल्याउनुपर्छ । स्कुल सञ्चालकले पनि व्यवहारमा अर्कै र बोली अर्कै गरेर फरक गर्दा अविश्वास पैदा भएको छ । विद्यालय, विद्यार्थी र अभिभावकबीच समझदारी र विश्वासको वातावरण भएपछि मात्र शिक्षकले सम्मान प्राप्त गर्छन् । समाजमा उनीहरूले पाउनेजस्तो सम्मान अरू कसैको छैन । तर, त्यो चरित्र शिक्षकसँग पनि हुनुपर्छ ।
अभिभावक र विद्यार्थीले शिक्षकलाई गाली गर्नुमा केही हदसम्म शिक्षकको पनि दोष छ । निरन्तर अपडेट नभई शिक्षक बन्न सकिँदैन । शिक्षण पेसा भनेको लुकेको पेसा हो । यो भनेको कस्तो भने एउटा घन्टी स्कुलमा पढाउन उसले घन्टाँैसम्म विभिन्न लाइब्रेरी हेर्ने, नेटमा बस्ने गर्नुपर्ने हुन्छ । तर, शिक्षकले हचुवाका भरमा पढाउने गर्दा समस्या आएको हो । विद्यालय सञ्चालकले पनि शिक्षकलाई कम पैसामा काम लगाउने गरेका छन् । तालिमप्राप्त शिक्षक छैनन् । तालिमलाई व्यवहारमा नउतार्नु पनि अर्को कमजोरी हो । तालिमप्राप्त शिक्षकले आफूले सिकेका कुरालाई विद्यालयमा प्रयोगमा ल्याउनुपर्छ । तालिमप्राप्त नभए तालिम लिनुपर्छ ।
अभिभावक स्वभावैले आफ्नो बच्चा राम्रो प्रतिस्पर्धी भएको हेर्न चाहन्छन् । एक्काइसाँै शताब्दीको ग्लोबल नागरिक होस् भनेर सपना देख्नु र त्यसअनुसारले पढाउन आग्रह गर्नु अनौठो होइन । अभिभावकले खोजेको कुरा जस्तै नयाँ विधिमा पढाऊ, राम्रो डेक्स–बेन्च देऊ, केही न केही सिकाएर पठाऊ भन्ने हो । त्यो नराम्रो कुरा होइन ।
हाम्रो समाज अत्यन्त पछाडि परेको छ । हाम्रोमा पुरस्कार र सजायको समन्वय छैन । सजाय दिँदा कहिल्यै पनि नराम्रो वा अपशब्द बोल्नुहुन्न । राम्रो विद्यार्थीसँग तुलना गरेर सानो देखाउने प्रयास पनि गर्नुहुन्न । कुट्ने–पिट्ने गर्नुहुन्न । बरु बच्चाले गृहकार्य गरेन भने त्यो बच्चालाई अरू साथीभन्दा आधा घन्टा ढिलो घर पठाइदिने गर्नुपर्छ । उसका लागि ठूलो सजाय नै यही हुन्छ । शिक्षकले बच्चालाई नराम्रो बोल्ने, पिट्नेजस्ता कार्य गरे उनीहरू शिक्षकप्रति नकारात्मक हुन्छन् । त्यस्ता शिक्षकसँग बोल्न र छेउ पर्नसमेत चाहँदैनन् । पछाडि कुरा काट्ने, उपनाम राख्ने गर्छन् । त्यस्ता शिक्षकले पढाएको ध्यान नदिने हुन्छ । त्यसकारण विद्यार्थीको क्षमता बुझेर उनीहरूको रुचिअनुसार पढाउने गर्नुपर्छ ।
:763 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव