अध्ययन गर्न शैक्षिक ऋण, अनुसन्धान गर्न अनुदान

यही जिम्मेवारीका आधारमा भक्तपुर नगरपालिकाले शैक्षिक ऋण र अनुसन्धान गर्न अनुदान दिने भएको छ ।

त्यसको लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ निम्ति बजेट विनियोजन गर्दै उच्च शिक्षा हासिल गर्न चाहने योग्य र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई प्रमाणपत्र धितो राखी ऋण र भक्तपुर नगरपालिकासँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धानका लागि आर्थिक अनुदान दिने भएको हो ।

शैक्षिक ऋणका लागि न्यूनत्तम रु. ५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको तेस्रो नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै नगरप्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति तथा शैक्षिक ऋणको लागि रु. १ करोड ५५ लाख विनियोजन गरिएको बताए ।

नगरसभाबाट पारित बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रममा नगरप्रमुख प्रजापतिले शिक्षाको लागि रु २४ करोड ७ लाख ४४ हजार ३ सय पारित भएको बताउँदै नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाए ।

‘भक्तपुर नगरपालिकाले ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङलगायत सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गरेर सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ’ उनले भने, ‘२०७३ सालमा ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता भई सांसदहरुको हातहातमा वितरण भइसकेको थियो । संविधानबमोजिम नयाँ संसदसमेत गठन भइसकेको अवस्थामा ख्वप विश्वविद्यालय स्थापनाको लागि आवश्यक तयारी गर्न कार्यदल गठन गरिनेछ ।’

उनका अनुसार नगरपालिकाले नगरक्षेत्रभित्रका विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीलाई २१ औं शताब्दीका लागि योग्य बनाउन शिक्षकहरुलाई नेपाली, अँग्रेजी, विज्ञान र गणित विषयमा विशेष तालिम पनि दिइने भएको छ ।

यसका लागि नगरपालिकाले सञ्चालन गरिरहेको जनज्योति पुस्तकालयलाई व्यवस्थित, आधुनिक बनाउनका लागि रु. २५ लाख, ख्वप विश्वविद्यालय तयारी समिति कार्यदल गठनका लागि रु. १० लाख पनि विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

:522 Views

Leave a Reply