गुरुङको निधनमा आइतबार काठमाडौंका सबै निजी विद्यालय बन्द !

काठमाडौं, जेठ ३१ । निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौँका सहसचिव, एनप्याव्सन गोकर्णेश्वर नगरकमिटीका अध्यक्ष, प्याब्सकका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको जेठ ३० गते असामयिक निधन भएको छ ।

आज काठमाडौं प्याब्सन र काठमाडौं एनप्याब्सनले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै असार १ गते आइतवार काठमाडौँका सम्पूर्ण निजी विद्यालयहरु बन्द गर्न आफ्ना सदस्य विद्यालयहरुलाई अपील गरेका छन् । काठमाडौँ प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र काठमाडौँ एनप्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेर एक विज्ञप्ती जारी गर्दै आइतवार निजी विद्यालय बन्द गर्ने जानकारी गराएका हुन् । लामो समयदेखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा विहिवार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । मस्तिष्क रक्तश्राव ‘ब्रेन ह्यामरेज’ को शल्यक्रिया सफल नभएपछि उनको मृत्यु भएको बताइएको छ।

तेह्रथुम जिल्ला, आठराइ गाउँपालिका ४ मा २०३५ साल माघ २० गते जन्मेका अत्यन्त मिलनसार, सकारात्मक, उत्प्रेरक र सकृय शिक्षाकर्मी बालकुमार गुरुङको निधनले नेपालको शिक्षा क्षेत्रमा अपुरनीय क्षति भएको उनका सहकर्मीलगायत शुभिचिन्तकहरुले बताएका छन्। सानो उमेरदेखि नै राजनीतिमा सक्रिय भई तेह्रथुम जिल्लाको नेविसंघको अध्यक्षको जिम्मेवारी वहन गरिसकेका गुरुङ जनसंख्या शिक्षा र समाज शास्त्रमा स्नातक सकेर विद्यावारिधी गर्दै थिए ।

२०५९ सालमा स्थापित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल गुरुङ पुष्पलाल मेमोरियल कलेज चावहिलका संचालक समेत हुन्। जेठ ३२ गते शनिवार अपरान्ह १२ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका साथ गुरुङलाई अन्तिम विदाइ गर्ने कार्यक्रम रहेको काठमाडौँ एनप्याब्सनका अध्यक्ष विष्णु पराजुलीले नुवागीलाई जानकारी गराएका छन्। गीतसंगीतमा समेत विशेष रुचि राख्ने गुरुङको असामयिक निधनप्रति गहिरो दुखः प्रकट गर्दै नुवागी परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

:161 Views

Leave a Reply