संस्कारी अभिभावकका संस्कारी सन्तान

हरेक आमाबुबा आफ्नो सन्तानले राम्रो गरेको हेर्न सुन्न चाहन्छ । यति मात्र होइन, अरूले प्रशंसा गरिदिए भने उनीहरूलाई थप खुसी मिल्छ । उनीहरू आफ्नो सफलताको मापन नै आफ्ना सन्तानको सफलताबाट गर्न थाल्छन् । त्यसैले हरेक अभिभावक आफ्ना सन्तानलाई खुसी, सफल र स्वस्थ बनाउन सधैँ तत्पर हुन्छन् । तर, सबैका सन्तान चाहेजस्तो बन्दैनन् र बन्न सक्दैनन् । किनकि, सबै अभिभावकले पनि सोचेजस्तो गर्न सकेका हुँदैनन् । कसैलाई पैसाले पुग्दैन त कसैलाई समयले भ्याउँदैन । त्यसैले समाजमा संस्कारको, असल पालनपोषणको विषय महत्वपूर्ण मानिन्छ । आफूभन्दा ठूलालाई मान गर्ने, सानालाई माया गर्ने, आवश्यक परेको बेला सहयोग गर्ने, आफ्नो काम आफैँ गर्ने, घरमा पाहुना आए स्वागत गर्न जान्नेजस्ता गुण भएका सन्तानलाई संस्कार भएको भनिन्छ । त्यस्तो नगर्ने वा नजान्नेलाई संस्कार नदिइएको वा नभएको भनिन्छ । बच्चाको यस्तो व्यवहारले धेरै अभिभावक आजित हुने गरेका छन् । तर, यसको समाधान के हुन सक्छ ? बच्चामा संस्कारको बीजारोपण कसरी र कहिले गर्न सकिन्छ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागकी प्रमुख शान्ता निरौलाको भनाइ यस्तो छ :

कुन उमेरमा संस्कार सिकाउने ?

मानिसको सिकाइको प्रक्रिया आमाको गर्भमा रहँदै सुरु हुन्छ । जन्मिसकेपछि भने आमाको काख हुँदै बाबाको काँध, परिवार, समाज, देश र सारा विश्व नै उसको सिक्ने थलो बन्छ । तर, मानिसको आधारभूत सिकाइ भने आमाको काख र घरबाटै हुन्छ । ६ महिनाकै उमेरमा पनि उनीहरूलाई संस्कारी कुरा सिकाउन सकिन्छ । बोल्न नसक्ने भए पनि उनीहरूले हाउभाउबाट धेरै कुरा सिकिराखेका हुन्छन् । अभिभावकले जति छिटो सिकाए उत्ति नै बच्चाहरूले छिटो सिक्न र कुरा बुझ्न सक्छन् । एक वर्ष नपुग्दै बच्चामा सिक्न सक्ने क्षमताको विकास भइसकेको हुन्छ । सामान्य अवस्थाका बच्चाले नमस्ते गर्न, टाटा गर्ने, ढोग्नेजस्ता कुरा एक वर्षभित्रै सिक्न सक्छन् । असामान्य अवस्थाका बच्चा भने ढिलो सिक्छन् किनभने छिटो सिक्ने क्षमता उनीहरूमा हुँदैन ।

साढे दुई वर्षको उमेरमा बच्चाहरूले म केटा हुँ अथवा म केटी हुँ भन्ने कुरा बुझ्छन् । चारदेखि पाँच वर्ष हुँदा उनीहरूमा भावनात्मक कुराको विकास हुन्छ । विशेषगरी तीनदेखि नौ वर्षको उमेर भनेको बच्चाको सिकाएका कुरा सिक्न सक्ने उमेर हो । अभिभावकले आफ्ना बच्चालाई संस्कार सिकाउने उपयुक्त समय पनि यही नै हो । योबीचको उमेरका बालबालिकालाई अभिभावकले ठूलालाई आदर सम्मान गर्ने, सानालाई माया, उनीहरूले सक्ने खालका काम गर्न सिकाउने, अह्राउने, पढ्ने वा कुनै सिप सिकाइका कुरामा रुचि जगाउने साथै भविष्यमा के बन्ने भन्ने कुराको सोच पनि यही उमेरमा विकास गराएमा उनीहरू भविष्यमा असल र संस्कारी बन्न सक्छन् ।

अभिभावकले के गर्ने ?

आठदेखि १२ वर्षको उमेरका बच्चा जीवनको विशेष अवस्थामा प्रवेश गर्छन् । जसलाई पुवर्टी अर्थात् जवानीको अवस्था भन्ने गरिन्छ । यो समयमा उनीहरूको आफ्नै समूह बनिसकेको हुन्छ । उनीहरू ती समूहमा रमाउने भइसकेका हुन्छन् । समूहभन्दा बाहिरका मानिसलाई कम वास्ता वा पूरै बेवास्ता गर्ने खालका हुन्छन् । अभिभावकले यति बेला उनीहरूलाई नैतिकता, अनुशासन र संस्कारको कुरा सिकाउन चुके भने त्यसको उपचार ज्यादै कठिन छ । ठूलो भएपछि अनुशासन सिकाउँछु भनेर सोच्नु नै व्यर्थ छ ।

कतिपय घरसल्लाह, आफन्तजनको भेटघाट वा महत्वपूर्ण बहसका बेला बच्चालाई सजिलै ‘बाबु ! नानी ! तिमी सानै छौ । उता गएर बस त । हामीलाई यहाँ निकै काम छ’ भनेर आफ्ना छोराछोरीलाई कुराकानी र छलफलमा संलग्न नगराउने प्रवृत्ति हाम्रो समाजका धेरै परिवारमा विद्यमान नै छ । आफूलाई पन्छाउने अभिभावकको यो व्यवहार चित्त बुझ्दैन उनीहरूलाई, तर उनीहरू ठाडै अस्वीकार र प्रतिकार पनि गर्न सक्दैनन् । यस किसिमका व्यवहार दोहोरिरहे भने अभिभावक र सन्तानबीच दूरी बढ्दै जान्छ । अभिभावक समयमै सचेत भएनन् भने भेट्नै नसक्ने गरी टाढिन्छन् आफ्नै छोराछोरी । बिरानो भइदिन्छन् । त्यस बेला संस्कार र संस्कृतिको कुरा गर्दा सान्दर्भिक होला र ?

केही विषयमा अनभिज्ञता जनाए ‘यति कुरा पनि आउँदैन ?’ भनेर सहजै गाली गर्ने अभिभावक धेरै भेटिन्छन् हाम्रो समाजमा । आफैँले नसिकाएको कुराबारे अनभिज्ञता जनाउँदा पनि अपमानित बन्न पुग्छन् बच्चाहरू । अभिभावकको यस्तो व्यवहारबाट वितृष्णा पैदा हुन्छ उनीहरूमा । जहाँ अपमानित हुन्छन् त्यहाँ जान, बस्न उनीहरूलाई स्वीकार्य हुँदैन । त्यसपछि उनीहरू पारिवारिक भेलाबाट उम्कन खोज्छन् । बिस्तारै अनुशासनहीन, संस्कार नभएको भन्ने बिल्ला पाउँछन् उनीहरू । यसको परिणाम के होला ? यो त सबैले सहजै अनुमान लगाउन सक्छन् ।

अभिभावकमा आफ्ना बालबालिकालाई कसरी अनुशासित बनाउने भन्ने कुरामा चिन्तन हुनुपर्छ । तर, हप्काएर, थर्काएर, कोठामा थुनेर, कुटपिट गरेर अनुशासित बनाउँछु भन्नुचाहिँ भ्रम मात्र हो । उनीहरूको भावना, आवश्यकता, चाहना नबुझी आफ्नै कुरा लाद्ने अभिभावकबाट राम्रो संस्कारको अपेक्षा पनि गर्न मिल्दैन । अभिभावक सन्तानका लागि भनी काम गर्छन्, तर सन्तानले मागेको बेला समय दिन सकिरहेका हुँदैनन् । सन्तानले केही पैसा मागे भने किन केको लागि भनी सोध्ने फुर्सत पनि ननिकाली मागेभन्दा धेरै दिने अभिभावक धेरै छन् हाम्रो समाजमा । यस्तो उदारताले सन्तानलाई संस्कार मात्र होइन, पैसा, समय, इज्जतजस्ता विषयको महत्व सिकाउन पनि चुक्छन् उनीहरू । अभिभावक गम्भीर भएर बसे बच्चा पनि गम्भीर स्वभावकै हुन्छन् । अभिभावक फुर्तिलो, हँसिलो र मिलनसार भए बच्चा पनि त्यही स्वभाव लिएर हुर्किन्छन् । संस्कारी अभिभावकका सन्तान पनि संस्कारी नै बन्छन् । त्यस अर्थमा अभिभावक बच्चाका इन्जिनियर हुन् भन्दा फरक पर्दैन ।

:107 Views

Leave a Reply