‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’

सबिना बानियाँ /
भक्तपुर । सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी ३० वर्षीय तारा न्यौपाने यस वर्ष एसईई परीक्षाको नतिजाको पर्खाइमा थिइन् । १४ वर्षको उमेरमा विवाह गरेर पढाइ रोकिएकी उनले १४ वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिइन् ।

असार ११ बुधबार नतिजा प्रकाशन हुन्छ भन्ने गाइगुई सुन्ने बित्तिकै उनको मनमा नतिजा कस्तो आउला भन्ने डर र खुलदुल्ली हुन थालेको थियो । तर त्यस दिन नतिजा नआएपछि नतिजामा भन्दा पनि आफ्नै काममा उनको ध्यान जान थाल्यो । उनको पढाइप्रतिको लगावका कारण उनले आफू पढेको विद्यालयमा नै नेपाली विषय पढाउने र एउटा सहकारीमा काम गर्न पाउने अवसर पाएकी थिइन् । भोलिपल्ट पनि उनी आफ्नो काम गरिरहेकी थिइन् । सधै झैँ उनी दिनभरिका काम गरेर सहकारी फर्किरहेकी थिइन् । साझ साढे ४ बजेतिर उनी गठ्ठाघर चोक पुगेकी मात्र के थिइन्, केही केटाकेटीहरू ‘रिजल्ट आयो’ भन्दै यताउति दगुरिरहेको दृश्यले त एकछिन उनलाई अलमल्ल पारिदियो । उनी त्यो दृश्य हेरेको हेरै भइन् । उनलाई आफ्नो नतिजा कस्तो आयो होला भन्ने डर र चिन्ताले सतायो र उनी पसिना पसिना हुँदै फटाफट लागिन् आफ्नो कार्यालयतर्फ ।

कार्यालयमा एउटी दिदीलाई नतिजा हेर्न लगाउँदा नेटमा समस्या देखाएर उनले नतिजा हेर्न पाइनन् । त्यसले गर्दा अझ अत्तालिएकी र हतारिएकी उनको मोबाइलमा घण्टी बज्यो । उनी हेर्छिन्, मोबाइलमा घन्टी बजेको थियो उनी बस्ने घरकी घरबेटी आमाको । आमाले नतिजा नहेरेको थाहा पाएपछि आफ्नो सिम्बोल नम्बर माग्दा उनी डराएर आफू घर आएर भन्छु भन्दै घरतर्फ दगुर्दछिन् । उनी खासै मोबाइल चलाउदिनन् र उनलाई नतिजा हेर्न नआएका कारण नतिजा थाहा पाउन झन् ढिला भएको थियो । घर पुगेपछि हेटौडामा भएका घरबेटी बाले नतिजा हेरेपछि बल्ल उनलाई आफूले ३.१ जिपिए ल्याएको कुरा थाहा पाइन् ।

उनले आफूले सोचेको जस्तै नतिजा आएको बताउँदै भनिन्, ‘म बिहान काममा गएर आफ्नो घरको काम सकाएर विद्यालय आउथेँ र विद्यालयमा ब्रेक हुँदा पनि अर्को काम सकाएर फर्कन्थे । दिनमा ५ ठाउँमा काम गरेर पढेको मैले यदि पर्याप्त समय पाएको भए ए ग्रेड नै ल्याउथेँ ।’

उनले विद्यालयमा सबैभन्दा बढि जिपिए ल्याएकी हुन् । उनी अबको पढाइ शिक्षाशास्त्रबाट सुरु गर्ने बताउँछिन् । आफू जसरी बिचमा पढाइ छुटेकालाई पढाउने उनको इच्छा पनि विद्यालयले पूरा गरिदिएको छ । पछिल्लो ८ वर्षदेखि भक्तपुरको चार दोबाटोमा बस्दै आएकी ताराको ९ वर्षिय १ छोरा र ४ वर्षकी छोरी छन् ।

उनी मात्र होइन भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा पढ्ने महिला विद्यार्थीहरू नतिजा कस्तो आउने हो भन्नेमा डर र खुल्दुलीमा थिए । १४ वर्ष उमेर माथिका महिला विद्यार्र्थीलाई विगत १० वर्षदेखि विद्यालयले पढाउँदै आइरहेको छ । विद्यालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीलाई बिहानी र दिउँसोको कक्षा सञ्चालन गर्दै आएको छ भने कक्षा १० को विद्यार्थीलाई एसईई कै तयारीका लागि बिहान पौने ९ बजेदेखि साँझ पौने ५ बजेसम्म पढाउने गरेको छ ।
यो वर्ष विद्यालयबाट १७ जनाले एसईई दिएकोमा विद्यार्थीको नतिजाः

जीपीए  विद्यार्थी
३.६०–४  –
३.२०–३.६०  –
२.८०–३.२०
२.४०–२.८०
२.००–२.४०  ९
१.६०–२.००
१.२०–१.६०  –
०.८०–१.२०  –

 

एउटा केन्द्रमा एसईई दिएका आमा छोराको नतिजा

रामेछाप घर भई हाल सानोथिमीमा बस्ने ३४ वर्षिया गंगा थापामगर र उनका १६ वर्षे छोरा रोशन थापामगरले यो वर्षको एसईई सँगै एउटै परीक्षा केन्द्रमा दिएका थिए ।

उनी आफ्नो घरको काम गरेर बाकी समयमा परीक्षाको तयारी गर्ने गर्थिन् । उनलाई अरु विषय सजिलो लागे पनि अंग्रेजी र विज्ञान विषय भने गार्हो लागेको थियो । उनले परीक्षामा २.३५ जीपीए ल्याएकी थिइन् भने उनको छोराले ३.७ जीपीए ।

उनको इच्छा अनमी पढ्ने हो तर छोराको उज्वल भविष्यलाई प्राथमिकता दिनुपर्ने भएकाले छोरा र आफ्नो शिक्षामा खर्च जुटाउन कठिन हुने हुँदा शिक्षाशास्त्र पनि रोज्नुपर्न सक्ने उनी बताउँछिन् ।

दिदी बहिनीसँगै एसईई

२१ वर्षिय विमला तामाङ र १९ वर्षिय उर्मिला तामाङले पनि यसै वर्षसँगै एसईई परीक्षा दिएका थिए । पनौती घर भएका यी दिदीबहिनी आफ्नो परिवारसँग भक्तपुरको छालिङमा बस्दै आइरहेका छन् । उनीहरू परीक्षाको तयारी गर्दा एकले अर्कालाई नआएका कुराहरू सिकाउने गर्थेँ । विद्यालयको नतिजा उनीहरूले आफ्नो विद्यालयले जानकारी दिएपछि मात्र थाहा पाए । दिदी विमलाले २.४ जीपिए र बहिनी उर्मिलाले २.७ जीपिए ल्याएका छन् ।

विमला शिक्षाशास्त्र पढेर शिक्षिका बन्न चाहन्छिन् भने उर्मिला मानवशास्त्र अध्ययन गरी पछि नेपाल आर्मीमा भर्ति हुने सोचमा छिन् ।

पढ्ने रहर भए जस्तोसुकै अवस्थामा पनि पढ्न सकिने र पूरा हुँदो रहेछ भन्ने गतिलो उदाहरण आस्था महिला विद्यालयका विद्यार्थीहरूले प्रमाणित गरि देखाएका छन् ।

:103 Views

Leave a Reply