संस्कारयुक्त शिक्षामा महिला प्रिन्सिपलको जोड

काठमाडौँ, १७ साउन । रातो बङ्गला विद्यालयकी प्रिन्सिपल मिलन दीक्षितले २१ औँ शताब्दीमा आवश्यक सिपलाई ध्यानमा राख्दै अब विद्यालयहरू अगाडि बढ्न पर्ने  आवश्यकता रहेको औँल्याएकी छन्।

नुवागी मिडियाको आयोजनामा ‘अबको शिक्षा कस्तो हुनुपर्छ ?’ भन्ने विषयमा गरिएको महिला प्रिन्सिपलबीचको अन्तर्कृया कार्यक्रममा विद्यालयले वर्तमान आवश्यकता परिपूर्ति गर्ने मात्र नभइ विश्वमा तीब्र गतिमा परिवर्तन भइरहेका विषयहरूको समेत सम्बोधन हुने गरी  शिक्षा दिन विद्यालय र त्यहाँका प्रमुखहरु तयार बन्न पर्ने बताइन्। उनले औद्यागिक युग र सूचनाको युगका विद्यार्थीबीचको भिन्नताबारे स्पष्ट पार्दै विद्यालयले आज्ञाकारी र अनुशासित विद्यार्थी सँगसँगै जिम्मेवार र नेतृत्व क्षमता भएका युवा जमात निर्माण गर्न विद्यालयहरूले  आफूलाई तयार पार्नुपर्ने तर्क अघि सारिन्।

‘पहिला ६/७ वर्षको उमेरमा बालबालिकालाई विद्यालय पठाइँथ्यो। तर अहिले २ वर्ष पूरा नभई बच्चालाई विद्यालय भर्ना गरिन्छ। उहिले ६/७ वर्षको उमेरका बालबालिकाले सिक्ने उही कुरा अहिले भर्खरै विद्यालयमा पाइला टेकेका २ वर्ष पनि पूरा नगरेका कलिला बालबच्चाहरूलाई सिकाइँदैछ। त्यो सिक्न उनीहरू तयार छन् वा छैनन् नसोचिकनै उनीहरूलाई सिकाइरहेका छौँ। यो उनीहरूमाथिको अन्याय हो।   त्यसैले हामीले मस्तिष्कको विकासक्रमलाई ध्यानमा राखी शिक्षा दिनुपर्छ ।’

उनले थपिन्, ‘आजको सूचनाको युगमा सृजनात्मक, शिक्षा दिँदै बालबालिकालाई  जिज्ञासु बनाई उनीहरुको नेतृत्व क्षमताको विकासमा विद्यालयको जोड हुनुुपर्छ ।’

साउन १६ गते बिहिबार काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलमा आयोजना गरिएको कार्यक्रममा आगो वा विविध कारणले जलेर बाँचेका महिलाहरूको एउटा समूह ‘राधाको बर्न सर्भाइभर नेपाल टिम’ की अध्यक्ष राधा श्रेष्ठले आफ्नो  जलेपछिको जीवनको पीडा बताइन्। उनले आफू जलेर अस्पताल पुर्याइँदा आफूलाई चिकित्सकहरूले गरेको गैर जिम्मेवारीपूर्ण व्यवहार,  महिनौँको उपचारपछि बाँचेर समाजमा निस्कँदा समाजले गरेको तिरस्कार र घृणाले पुर्याएको चोटबारे सहभागी सबै महिला प्रिन्सिपललाई बताइन् र प्रश्न तेर्साइन् ‘घाउको दुखाइ नबुझ्ने, विरामीसँग व्यवहार गर्न नजान्ने अनि मृत्युसँग लडेर बाँचेर आएकाहरूलाई बाँच्न उत्प्रेरित होइन बाँच्न कठीन बनाउने  कस्तो समाज बनाइरहेका छौँ?  हामी कस्ता शिक्षित मानिसहरू उत्पादन गरिरहेका छौँ? ’

भक्तपुर, ललितपुर, काठमाडौँ र काभ्रे ४ जिल्लाका निजी र सामुदायिक गरी जम्मा ५४ विद्यालयका प्रिन्सिपलहरू सहभागीता सो कार्यक्रममा सबैले अन्तरकृयाको विषयमाथि आआफ्नो विचार राखे। अहिलेको शिक्षाले माटो चिनाउन छाडेको बताउँदै पारिवारिक महत्त्व बुझाउने, देश बनाउने, आफ्नो कला र स‌ंस्कृतिको संरक्षण गर्ने र संस्कारी शिक्षा दिन पर्नेमा अधिकांश  महिला प्रिन्सिपलहरूले जोड दिएका थिए। 

‘महिला प्रिन्सिपलहरूको यति ठूलो भेला यो पहिलो नै हो। यो ऐतिहासिक कार्यक्रम बन्यो।’ कार्यक्रममा सहभागी अधिकांश प्रिन्सिपलहरूको  प्रतिक्रिया थियो।

छोटो समयको अन्तरालमा तय गरी आयोजना गरिएको कार्यक्रममा महिला प्रिन्सिपलहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक सफलता मिलेको भन्दै अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले सबैलाई आभार व्यक्त गरिन्। सो कार्यक्रममा लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित महिलाहरूबीच चिनाजानीको अवसर समेत मिलेको बताउँदै यस किसिमका कार्यक्रमबाट आपसी सद्भाव बढ्ने  विश्वास व्यक्त गरिन्।

:73 Views

Leave a Reply