चरित्र बिगार्ने शिक्षक त के शिक्षक ?

–मोहन दुवाल (साहित्यकार एवं सम्पादक)
जनमत साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन् मोहन दुवाल । बनेपाको एक गल्लीभित्रको घरको छिँडीमा बसेर साहित्यिक कर्म गरिरहेका उनको परिचय अहिले एक साहित्यकार र सम्पादक भए पनि त्योभन्दा अघि एक शिक्षक नै थिए।

एक साधारण व्यापारीको छोराको रुपमा जन्मेर उनले बनेपाकै आजाद हाइ स्कुलमा पढे, त्यहीबाट २०२३ सालमा एसएलसी पास गरे । एसएलसी सहिने बित्तिक्कै उनले पढाउन सुरु गरे, त्यहीको स्थानीय स्कुलमा । यस अघि नै अर्थात् एसएलसी टेस्ट दिएर बसिरहेकै बेलाबाट उनले शिक्षण कार्य थालिसकेका थिए । घरबाट दूई मिनेटको फरकमा रहेको सरस्वती प्राविमा उनले ‘भोलेन्टियर सर्भिस’ गर्दै आफूलाई शिक्षक भनेर चिनाउन सुरु गरे । भोलेन्टियरी गर्दा गर्दै एसएलसी पनि सकिया र उनी त्यही प्राविका प्रअ बने । प्रअ बनेपछि पनि सानैदेखि सामाजिक कार्य गर्ने, साहित्यिक कार्य गर्ने, अन्याय, अत्याचारविरुद्ध संघर्ष गर्ने कुरालाई उनले बिर्सेनन् । कक्षा ९ मा पढ्दा नै उनले नेपालभाषामा कविता संग्रह प्रकाशित गरेर आफूलाई साहित्य क्षेत्रमा पनि प्रवेश गराउन सफल दुवालले घरका सबै परिवार ‘कांग्रेस’ निकटस्थ व्यक्तिहरु भएर पनि ‘कम्युनिष्ट’को सिद्धान्त र विचारले खारे ।

शिक्षकसँगै रक्सी चाखे
वि.सं.२०१८ पञ्चायी सरकारको दबदबा बढिरहेको वर्ष, त्यही सालमा आफू पढिरहेको विद्यालयका केही शिक्षकहरुलाई ‘अराष्ट्रिय तत्व’ को संज्ञा दिएर सरकारले पक्रेर लगे । त्यो बेलाको ‘अराष्ट्रिय तत्व’मा बढी कांग्रेस समर्थित र निकट शिक्षकहरु पक्राउमा परेपछि विद्यालयले कक्षा खाली नगर्ने हेतुले भर्खरैमात्र एसएलसी उत्तीर्ण गरेकाहरुलाई स्वयम्सेवी शिक्षक बनाएर कक्षा सञ्चालन गरेका थिए । त्यस्तै स्वयम्सेवक शिक्षकहरुमध्ये एक जना शिक्षक थिए, ‘रक्सीको लत परेका शिक्षक’ । त्यो बेला उनी कक्षा ७ मा पढ्थे । १६÷१७ वर्षका किशोर वयका दुवाललगायत अन्य विद्यार्थीहरु त्यो शिक्षकलाई त्यति धेरै रुचाउँदैनथे तर पनि जाँचमा पास हुन र शिक्षकको प्रिय विद्यार्थी हुन, कक्षामा सोधेको प्रश्नको उत्तर भन्न नसके पनि सजाँय नपाउनका लागि उनीहरु उक्त शिक्षकसँग नजिकिएका थिए । त्यो शिक्षक कक्षामा पनि ह्वास्स गन्हाउने गरी पियर आउँथे, त्यसपछि भट्टीमा गएर खानका लागि विद्यार्थीलाई नै साथमा लाने गर्दथे । दुवाल पनि शिक्षकको नजरमा राम्रो विद्यार्थी हुने लोभमा त्यही शिक्षकको पछिपछि लागेका थिए । शिक्षकसँगै बसेर थोरैथोरै रक्सी चाखेका थिए । ‘त्यो शिक्षकाई रक्सी खुवायो भने उसको विषयमा त्यत्तिक्कै पास हुने । रक्सी खुवाएबापत पहिला नै उत्तर भनेर हामीलाई सजिलो प्रश्न सोध्ने, फ्रष्ट ब्वाइभन्दा यिनीहरु राम्रा भनेर धाप मार्ने ।’ उनले सम्झे ।
तर पछि विद्यार्थीलाई कुलतमा लगाउने त्यो शिक्षकलाई स्कुल प्रशासनले निकालेपछि दुवाल पनि सुध्रिए ।
किशोरवयमा भएको त्यो घटना उनी अहिले पनि बेलाबेला सम्झँन्छन् । ‘शिक्षकहरु बद्मास भएपछि, शिक्षक काम नलाग्दो भएपछि विद्यार्थीको चरित्रमा पनि खेलवाद हुने कुराको प्रमाण हो ।’ उनी निचोड निकाल्छन्, ‘ यसैले शिक्षक आदर्शवान् हुनुपर्छ, नैतिकवान, हुनुपर्छ । शिक्षक समाजको मार्गनिर्देशक हो भन्ने कुराको ख्याल राख्नुपर्छ ।’
शिक्षक भएपछि उनी सामाजिक आन्दोलनमा लागे, २०२७ सालमा भाषा आन्दोलनमा लागे । समाजको लागि केही गरौं, सेवा गरौं भन्ने चेतनाले शिक्षक भएका उनलाई शिक्षक भएर केही पाउँछु जस्तो कहिल्यै लागेन । त्यही सेवा भावले शिक्षक भएका उनले जीवनको करि तीन दशक शिक्षण पेश गरेर पनि उनलाई शिक्षण पेशाले एक नाम र सम्मानभन्दा बढी राज्यले केही दिएन । ।
दुवालले २०३२ सालमा मात्र आइए पास गरे । ९ वर्षको ग्यापपछि सेकेन्ड डिभिजनमा आइए पास भएपछि उनले काठमाडौंमा शिक्षण गरे । त्योभन्दा अघि नै अर्थात् २०३० सालमा राँको परिवारसँग सम्बन्ध बढाएर भूमिगत भए । भूमिगत भएकै बखत पनि उनले पढाउन छोडेनन् । उनले मार्टटस् मेमोरियल इ. स्कुलमा पढाए । उनले काठमाडौंकै भानुभक्तमा, चपलीमा, थानकोटमा रहेका विद्यालयमा पनि शिक्षण गरे । थानकोटबाट उनी गोरखा क्याम्पसमा पुगे । थानकोट पढाइरहँदा उनले स्नातक पनि सकाए । गोरखा क्याम्पसमा एकवर्ष सामाजिक पढाए ।
वि.सं.२०३६ सालमा शिक्षक आन्दोलन निक्कै अघि बढ्यो, त्यही बखत काभ्रेमा आएका उनलाई सबै शिक्षकहरुले निर्विरोध नेराशिसंघको अध्यक्षमा चुने । आन्दोलन चरम उत्कर्षतिर गइरहेको बेलामा दिनका दिन आन्दोलन गर्नुपर्ने, केन्द्रीय सदस्य र काभ्रे अध्यक्ष्ँ भएको हिसाबबाट आन्दोलनको नेतृत्व गर्नुपर्ने बेलामा उनी डटेर लागे । दिनभरजसो आन्दोलनका विभिन्न कार्यक्रममा जाने, त्यसपछि बेलुका लुकेर काठमाडौं जाने, जुलुसमा सहभागी हुने त्यो बेलाको दैनिकी नै बनको थियो । त्यही संघर्षले शिक्षकहरुले निक्कै सहुलियत पाए, त्यही आन्दोलनले शिक्षकहरुले हक अधिकार पाए । त्यो बेला शिक्षक आन्दोलनमा खगेन्द्र संग्रौला, गणेश पण्डित, श्यामकृष्ण खम्बु, सुशीलचन्द्र अमात्य, राजेन्द्र पाण्डे, देवी ओझा लगायतका शिक्षकहरु निक्कै खटे । देशभरका शिक्षकहरुका लागि केही गर्नुपर्छ भनेर लागे उनी तर आफ्नो भने न त पेन्सन भो, न त उपदान नै ।
हुन त उनलाई नेपाली कांग्रेसको सरकारको पालमा सेवा अवधि जोड्न पनि भनेका हुन तर उनले त्यसमा लोभको ¥याल चुहाएनन् ।पञ्चायत पिरीयडमै पनि समातेर लगेको बेला पार्टीमा कुनै संलग्नाता छैन भनेर लेख्नका लागि डिएसपीले स्थायीको लोभ देखाएका पनि थिए, तर उनी अडिग रेह । ‘म कुनै पनि संगठनमा छैन, म जनताको पक्षमा छु, जनताको पक्षको मान्छे हुँ ।’ भनेर आन्दोलनमा लागि नै रहे ।
उनले आफ्नो शिक्षणको क्रममा १८ ÷ १९ ठाउँमा पढाए । एउटै ठाउँमा बसेर उनले पढाउनै पाएन । किन ? ‘किनकि मलाई नटिकाउने, मलाई नसहने, यो बामपन्थी, राजाविरोधी भनेर कहिले कता, कहिले कता सरुवा गर्ने, २०३६ सालको आन्दोलनमा म ब्ल्याक लिष्टमा परेको शिक्षक भएँ म । क्रान्तिकारी स्वभावको भएकोले मलाई प्रशासन र सामन्तीले देखि नसहने, सरकारले दःक्ख दिएर गलाउन खोज्ने, यस हिसावले म दुःखी मास्टर थिएँ । मलाई निकाल्न नसक्ने तर सरुवा मात्रै गरेर हैरान गराउने ।’ उनले सम्झे ।
जीवनभर सँगालेको अनुभवको आधारमा शिक्षक नैतिकवान, मार्गनिर्देशक हुनुपर्छ । शिक्षकले कुनै पार्टीको झन्डा ओढेर स्कुललाई अपवित्र राजनीतिक घर बनाउने किसिमको चिन्तन सबैभन्दा खतरा भएकोले उनी अहिले शिक्षामा ¥हास आएको बताउँछन् । विद्यालयलाई राम्रो बनाउने कि नराम्रो बनाउने भन्ने हात शिक्षकमै छ । कम्मर कसेको खण्डमा स्कुल राम्रो बनाउन सकिन्छ । अहिलेका शिक्षकहरु खाली जागिर खाने, तलब खाने, पार्टीको झन्डा ओढ्ने, हेडमाष्टरलाई नटेर्ने स्वभावले शिक्षामा ¥हास आएको उनी बताउँछने । विद्यार्थीको चरित्र नै बिगार्ने शिक्षक त के शिक्षक ? प्रश्न गर्दै उनले शिक्षक एकजना असल अभिभावक र मार्गनिर्देशक हुनुपर्ने, असल नेता हुनुपर्ने , समाजप्रति जिम्मेवार हुनुपर्ने सुझाए ।
अहिलेको शिक्षणलाई धेरैले पेशाभन्दा बढी जागिर सम्झे । पहिला शिक्षणमा सेवा पनि गाँसिएका कारण शिक्षकको स्तर निक्कै माथि थियो तर अहिले अवस्था त्यस्तो छैन । ‘त्यही भएर अहिलेका शिक्षकलाई समाजले गन्दैनन् ।’ उनले भने, ‘सामाजिक प्रतिष्ठा पाएको छैन, पैसा पाएको छ, सहुलियत पाएको छ तर मान पाएको छैन ।’
हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित

:702 Views

Leave a Reply