नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ का विद्यार्थीहरूको सिकाई उपलब्धिको राष्ट्रिय परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।

विद्यार्थीको क्षमतालाई माईनस २ देखि प्लस २ सम्मका ऋणात्मक र धनात्मक संख्यामा विकास गरी ठीक बीचको अंक शून्यलाई ५ सय मानी शुन्यभन्दा मुनिका क्षमतालाई ५ सयभन्दा न्यून र शुन्यभन्दा माथिका क्षमतालाई ५ सयभन्दा माथि मानि औसत निकालेको केन्द्रले जनाएको छ । जसमा ५ सय भन्दा न्यून उपलब्धिलाई राष्ट्रिय औसतभन्दा कमजोर र ५ सयभन्दा माथिको अंकलाई राम्रो उपलब्धि मानेको छ ।

सामुदायिक विद्यालय र निजी विद्यालयबिचको तुलना गर्दा नेपाली विषयमा सामुदायिक विद्यालय अगाडि र गणित विषयमा संस्थागत विद्यालय अगाडि देखिएका छन् । नेपालीमा सामुदायिक विद्यालयको औसत ५२५ रहेकोमा निजीको ४९१ रहेको छ भने गणितमा निजीको ५२३ र सामुदायिकको ४९३ रहेको प्रतिवेदनले देखाएको छ ।

गत वर्षको फागुन महिनामा कक्षा ५ बाट देश भरबाट नमुना छनोटमा परेका २४ जिल्लाका ७ सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थीलाई नेपाली विषय र ७ सय विद्यालयकै १४ हजार १ सय ७४ विद्यार्थीको गणित विषयको उपलब्धि परीक्षण गरिएको थियो ।

सार्वजनिक गरिएको प्रतिवेदन समग्र रुपमा हेर्दा गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्न नसकेको अध्ययनले देखाएको छ । यस परीक्षणसँग यसअघिको परीक्षणमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई दुवै वर्षमा सोधिएका उनै प्रश्नका आधारमा तुलना गर्दा गणितमा यस वर्षको उपलब्धि केही न्यून रहेको उल्लेख गर्दै परीक्षण प्रतिवेदनमा नेपाली विषयमा यस वर्ष थोरै सुधार भएको उल्लेख छ ।

विद्यालय कार्यसम्पादन परीक्षणमा १ हजार ९ सय ९९ विद्यालयमध्ये एउटा विद्यालयमात्रै उत्कृष्ट घोषणा भएको थियो । त्यस्तै अधिकांश विद्यालयको सिकाइ उपलब्धि खस्कँदै गएकोमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले चिन्तित हुँदै भने, ‘३.५ प्रतिशत बालबालिका अहिले शिक्षाबाट बञ्चित छन् । एसईई पास भएका र कक्षा १२ को परीक्षा दिने विद्यार्थी संख्यामा अन्तर छ । कहाँ गए ती बिचमा छुटेका विद्यार्थी ?’ उनले नतिजामा विद्यार्थी असफल हुनु भनेको विद्यार्थीमात्र नभई शिक्षक, विद्यालय र राष्ट्र नै असफल हुनु रहेको बताए ।

प्रतिवेदनले नेपाली विषयमा सबैभन्दा राम्रो सिकाइ ५११ अंक ल्याइ गण्डकी प्रदेश र ४८८ अंक ल्याइ कर्णाली प्रदेश सबैभन्दा कमजोर देखाएको छ । त्यस्तै गणितमा प्रदेश नं. २ को ५२१ र प्रदेश नं. ५ को ४८६ अंक रहेको छ ।

गणितमा प्रदेश २ का विद्यार्थीको उपलब्धि उच्च रहेको छ भने नेपालीमा प्रदेश गण्डकीको । गणितमा प्रदेश १, प्रदेश ५ र कर्णाली कमजोर छ भने नेपालीमा कर्णाली, प्रदेश २ र सुदूरपश्चिम कमजोर देखिन्छ । नमूना छनोटमा परेका जिल्लाहरूको सिकाइ उपलब्धिको बिचमा तुलना गर्दा गणित र नेपाली दुवैमा सिराहा, चितवन र ललितपुर जिल्लाको उपलब्धि सबैभन्दा उच्च रहेको छ भने भोजपुर र महोत्तरी जिल्लाको उपलब्धि अति न्यून रहेको केन्द्रले जनाएको छ ।

छात्रा र छात्रको सन्दर्भमा सिकाइ स्तरको भिन्नता न्यून नै देखिएको प्रतिवेदनको निष्कर्ष छ । गणितमा छात्र केही राम्रा छन् भने नेपालीमा छात्रा केही राम्रा देखिन्छन् । गणितमा छात्रको औसत ५०१ छ भने छात्राको ४९९ र नेपालीमा छात्राको औसत ५०१ र छात्रको ४९९ ।

परीक्षणमा सहभागी विद्यार्थीले ब्राह्मण र क्षेत्री, जनजाति, दलित र अन्यगरी चारओटा समूह उल्लेख गरेकोमा उनीहरूको नतिजा विश्लेषण गर्दा ब्राह्मण र क्षेत्रीको नतिजा राम्रो पाइएको छ ।

प्रतिवेदनले कक्षा ५ मा ११ वर्ष र त्यसपछि १२ वर्षको उमेर समूहको नतिजा राम्रो देखाएको छ । नजानेको विषयवस्तु सिक्नका लागि कसले सहयोग गर्छ भनी गरिएको प्रश्नका प्रतिक्रियामा ट्युशन पढ्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । ट्युशनमा भर पर्नेको औसत नेपालीमा ५१० र गणितमा ५११ रहेको छ ।

विद्यार्थीको भाषिक पृष्ठभूमिले पनि उनीहरूको नेपाली विषयको सिकाइ उपलब्धिमा प्रभाव पारेको देखिएको छ । विद्यार्थीको घरमा बोलिने भाषालाई नेपाली र अन्यगरी दुई भागमा वर्गीकरण गरी तुलना गरिएकोमा नेपाली भाषा बोल्नेले नेपाली विषयमा राम्रो गरेको देखियो ।

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

कक्षा खाली भएको समयमा कक्षा कार्य, गृहकार्य, समूह कार्य जस्ता पढाइसँग सम्बन्धित क्रियाकलापमा सहभागी हुने विद्यार्थीको उपलब्धि खाली कक्षामा खेल्ने जस्ता क्रियाकलापमा लाग्नेकोभन्दा राम्रो देखिएको भन्दै उक्त परीक्षणले विद्यालयहरूले कक्षा खाली नै नहुने र भएका खाली कक्षामा पनि उनीहरूलाई सिकाइका विभिन्न क्रियाकलापमा सहभागी गराउनु उपयुक्त हुने सुझाव दिएको छ ।

शैक्षिक शत्रको अन्तसम्म पनि करिब ३ देखि ४ प्रतिशत विद्यार्थीसँग पाठ्यपुस्तक नभएको प्रतिवेदनमा उल्लेख छ । पाठ्यपुस्तक हुने विद्यार्थीको औसत सिकाइ उपलब्धि उच्च छ भने पाठ्यपुस्तक नहुनेको उपलब्धि न्यून रहेको छ ।

विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालयमा सहपाठीहरूबाट हुने विभिन्न प्रकारका दुव्र्यवहारका कारणले नकारात्मक असर परेको देखिन्छ । विद्यालय र विद्यालयका व्यवहारहरू बालमैत्री नभएको भन्दै अध्ययनले विद्यालयमा कुनै न कुनै प्रकारको दुर्वयवहार महसुष गर्ने विद्यार्थी ४७ प्रतिशत रहेको जानकारी दिएको छ । जति धेरै दुर्वयवहारहरूको सामना गर्छ त्यति नै सिकाइ कमजोर र जति कम गर्छ त्यति नै सिकाइ राम्रो भएको भन्दै विद्यालयमा बालबालिकाहरूलाई सुरक्षित वातावरण सिर्जना गर्ने र कुनै दुव्र्यवहार हुन नदिनेतर्फ ध्यान दिन आवश्यक रहेको सुझाव दिएको छ ।

विद्यार्थीले विद्यालय बाहेकको अन्य समयको उपयोगले पनि सिकाइ उपलब्धिमा प्रभाव पारेको प्रतिवेदनले देखाएको छ । दिनमा तीन घण्टा वा सोभन्दा कम समय टिभि हेर्ने, इन्टरनेट र कम्प्यूटर चलाउने, खेल्ने, कुराकानी गर्ने जस्ता जुनसुकै काममा खर्च गरेपनि त्यसले सिकाइमा नकारात्मक असर पारेको भने देखिएन। तीन घण्टाभन्दा वढी समय अध्ययन र गृहकार्य बाहेकका काममा लगाउने विद्यार्थीको सिकाइ उपलब्धि न्यून देखिन्छ ।

वि.स २०६८ सालदेखि हालसम्म केन्द्रले कक्षा ३, ५, ८ र १० को ७ ओटा परीक्षण गरिसकेको छ । हरेक बर्ष जस्तो यस पटक नमुनामा लिइएका विद्यार्थीको प्राप्ताङ्कका आधारमा पुरै नेपालका कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीको नतिजाको रूपमा सामान्यिकरण गरिएको केन्द्रले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालय कुन विद्यालयले के मा राम्रो गरिरहेको छ भन्ने विषयमा जानकार हुनुपर्ने सुझाव दिए । त्यस्तै सामुदायिक विद्यालय कसको हो भन्ने टुङ्गो पनि लगाइनु पर्नेमा उनको जोड थियो ।

:56 Views

Leave a Reply