स्थानिय पाठ्यक्रमबारे प्रिन्सिपल र शिक्षकलाई अभिमुखिकरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानिय पाठ्यक्रमसम्बन्धि विद्यालय प्रिन्सिपल र शिक्षकलाई अभिमुखीकरण गरेको छ ।

मंगलबार ‘स्थानिय पाठ्यक्रम अभिमुखिकरण’ कार्यक्रम गर्दै यस वर्षबाट लागु गरिएको कक्षा ८ को स्थानिय पाठ्यक्रमका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीलाई विभिन्न समुहमा विभाजन गरेर एक समुहलाई एक विषय क्षेत्रको जिम्मा दिई पाठ्यक्रमलाई  कसरी लागु गर्ने भन्ने विषयमा प्रस्तृती गराइएको थियो ।

कार्यक्रममा शिक्षकहरुलाई सहजीकरण गर्दै पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत पुरुषोत्तम घिमिरेले पाठ्यक्रमलाई सहि तरिकाले उपयोग गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘जसरी हामीले यहाँ पाठहरुको योजना बनाएका छौँ, त्यसै किसिमले दैनिक पाठ योजना बनाएर कक्षा सञ्चालन गर्नुपर्छ । पाठ्यक्रमका आधारमा कसरी कक्षा सञ्चालन गर्नेमा शिक्षकको नै अहम् भुमिका रहन्छ ।’ 

कार्यक्रमको अन्तमा सो विषयको प्रश्नपत्र निर्माण र विद्यार्थी मूल्यांकन गर्ने तरिकाका बारेमा प्रष्ट पारिएको थियो ।चाँगुनारायण नगरपालिकाको ‘हाम्रो चाँगुनारायण’ नामक स्थानीय पाठ्यक्रम कक्षा ८ मा यहि शैक्षिक सत्रबाट लागु गरिएको हो भने कक्षा ६ र ७ मा अर्को शैक्षिक सत्रबाट लागु गरिने छ ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले शिक्षकहरुले विद्यार्थीको पढ्ने भोक जगाउनपर्ने बताए । कार्यक्रममा नगरपालिकाको निजी र सामुदायिक गरी ३७ विद्यालयको सहभागिता रहेको थियो । प्रत्यक विद्यालयबाट एक प्रिन्सिपल र २ विषय शिक्षकलाई निमन्त्रणा गरिएको कार्यक्रममा प्रिन्सिपल र शिक्षक गरी जम्मा ९२ जना उपस्थित भए ।

:225 Views

Leave a Reply