स्कुल किन फेर्नु हुन्न ?

घटना नं. १

नवीन थापाले आफ्नो एक्लो सन्तान नूतनको स्कुल फेरे । नर्सरीदेखि जिल्लाकै एक प्रतिष्ठित संस्थागत विद्यालयमा पढेका उनलाई बुवा नवीनले सो स्कुलबाट निकालेर सार्वजनिक स्कुलमा भर्ना गरे ।
‘सुरुमा छोराले स्कुल फेर्न मानेको थिएन, पछि मैले सम्झाएँ, बुझाएँ, सरकारी स्कुलमा पढ्दा हुने फाइदा बताएँ, पछि भने भर्ना भएकै स्कुलमा जान थाल्यो,’ उनले गत वर्ष वैशाखमा छोरा नूतन सधैँझैँ स्कुल गएको सम्झे । बुवा नवीनसँग मात्र नभएर अहिले नूतनका आमा नवीनासँग नूतनको ‘नोस्टाल्जिया’ मात्र बाँकी छ । कारण, वैशाखमा खुरुखुरु स्कुल गएका छोरा असार लागेसँगै स्कुल गएनन् । ‘दुई दिनसम्म झोक्राएर बसिरहे । पछि, आफ्नै पढ्ने कोठामा ‘सुसाइड’ गरेको अवस्थामा फेला परे ।’ विद्यार्थीले आत्महत्या गर्नुको कारणबारे आमाबुवासँग परामर्श गर्दा माथिको भनाइ राखेको प्रहरीले जनाए ।
विद्यार्थीको आमहत्याबारे प्रहरीले अनुसन्धान गर्दा उनको आत्महत्याको मुख्य कारण नै स्कुल रहेको पत्ता लाग्यो । वास्तवमा बच्चा आफूले पहिलेदेखि पढ्दै आएको स्कुलमा पढ्न चाहँदो रहेछ, तर आमाबुवाले उनको इच्छा विपरीत विद्यालय फेरिदिँदा आखिरमा नहुनुपर्ने घटनासम्म घट्यो । प्रहरीका अनुसार अहिले थापा परिवारमा पनि विखण्डन आएको छ । स्कुल फेरेकै कारण छोरा गुमाउनुमा थापा दम्पतीले एक–अर्कालाई दोष देखाउँदा सम्बन्धमा स्खलन भएको छ ।
‘ममी, ड्याडी, म स्कुल नफेर्ने, साथीभाइ, शिक्षक नछाड्ने भन्दाभन्दै पनि हाम्रै जिद्दीले अझ सरकारीमा पढेपछि भोलिपर्सि सरकारले दिने स्कलरसिप पाइन्छ भन्ने लोभ देखाउँदाको परिणाम आज नसोचेको भयो,’ नवीना र नवीनलाई ठूलो पश्चात्ताप भएको छ । आफूहरूले छोराको भविष्यका लागि भनी स्कुल फेरेर ‘ब्लन्डर’ गरेको अनुभूति भइरहन्छ । ‘कलकलाउँदो, मिजासिलो, मिहिनेती छोरो, हाम्रो सपनाको राजकुमार !’ उनीहरू यस्तै–यस्तै अलंकार जोडेर कोठाको भित्तामा झुन्ड्याएको नूतनको तस्बिर हेरेर हिक्क–हिक्क गर्छन् बेलाबेला ।

घटना नं. २ 
काठमाडौं गौशालामा फुटपाथमा रेडिमेड कपडा व्यापार गरेर विकास र विना लामाले दैनिकी गुजारा मात्र नभएर सोही ठाउँको एक निजी बोर्डिङ स्कुलमा आफ्नी सन्तान निलम लामालाई कक्षा ८ सम्म पढाए । आफूले पढ्न नपाउँदा जीवनप्रति नै ठूलो र सधँै गुनासो गरिरहने लामा दम्पतीले हाडछाला घोटेरै पनि बोर्डिङमा पढाए ।
त्यसपछि नौ कक्षामा पढाउन भने लामा दम्पतीलाई मुस्किल प¥यो । त्यसपछि उनीहरू सपरिवार त्यहाँबाट भक्तपुरमा बसाइँ सरे । आर्थिक कारणले नै बोर्डिङमा पढाउन नसकेर उनीहरूले छोरीलाई भक्तपुरकै एक सरकारी स्कुलमा भर्ना गरिदिए । काठमाडौंभन्दा भक्तपुरमा कोठाभाडा पनि सस्तो, त्यसमाथि सरकारीमा पढाएपछि निकै कम शुल्क लाग्यो । उनीहरू त्यस हिसाबले पनि दंग थिए । अझ त्यो भन्दा बढी दंग त उनीहरू त्यो वेला भए, जब छोरी निलमले सरकारीमा पढेरै स्कुलमा एसएलसी टप गरिन् ।
त्यसपछि त लामा दम्पतीलाई चिठ्ठै परेकोजस्तो भयो, छोरीले भनेको विषय पढ्नका लागि सबैतिर फ्री भन्न थाले । आर्थिक कारणले स्कुल फेर्दा छोरीको भविष्य बनेको उनीहरू बताउँछन् । ‘अहिले छोरीले नर्सिङ कटाइसकी, अब काम पाउँछे होला ।’

यसैगरी बादल बुढाथोकी अहिले कक्षा २ को वार्षिक परीक्षा उत्तीर्ण गरेपछि पहिले पढेको विद्यालय छाड्दै छन् । यसअघि बनेपाकै एउटा निजी विद्यालयमा नर्सरी कक्षा पढेका उनी तीन वर्षअघि बनेपाको एउटा शिक्षालयमा भर्ना भएका थिए । उनले कक्षा २ को परीक्षा उत्तीर्ण गरेपछि अहिले अभिभावकले फेरि बनेपाकै नाम चलेको अर्को सामुदायिक विद्यालयमा भर्ना गरिदिने तयारी गरिरहेका छन् । कक्षा ३ को पढाइका लागि फेरि अर्को स्कुल परिवर्तनका लागि बादलले निकै मिहिनेत गर्नुपरिरहेको छ ।

आफ्नो सन्तान फेल भयो भने अभिभावक आफँै नै फेल भएको ठान्छन् । सन्तानको कमजोरीभन्दा स्कुलले जानीजानी फेल गराएको आरोप लगाउँछन् र सन्तानलाई अन्य स्कुलमा लगेर भर्ना गरिदिन्छन् ।

छोराको प्रवेश परीक्षाका लागि नयाँ विद्यालयमा पुगेका बादलका बुवा टीका बुढाथोकीले कक्षा ३ सम्म नपुग्दै आफ्नो छोराले यसपटकसमेत गरी तेस्रो विद्यालयमा पढ्न लागेको बताए । उनले भने, ‘पहिले दुईटा स्कुलमा पढिसक्यो, अब फेरि अर्को स्कुलमा पढाउनुपर्ने भयो । छोराछोरीलाई बारम्बार विद्यालय परिवर्तन गराएर पढाउनु आफ्नो बाध्यता भएको बुढाथोकीले सुनाए ।
बादलजस्तै बनेपा १ को एउटा निजी विद्यालयमा कक्षा ८ सम्म पढेका मक्सत राई नयाँ शैक्षिक सत्रसँगै पुरानो विद्यालय छाडेर नयाँमा अध्ययनका लागि जाने तयारीमा छन् । नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुनै लाग्दा कक्षा–९ को प्रवेश परीक्षा दिएका छन् । कक्षा ६ सम्म आफूसँगै निजी विद्यालयमै पढेकी बहिनी समुना राई पनि नयाँ विद्यालयमा पढ्ने तयारीमा छिन् । समुना र मक्सतले यसअघि बनेपा–१० को अर्को निजी विद्यालयमै कक्षा ३ र कक्षा ५ सम्म पढेका थिए ।
माथि उल्लिखित विद्यार्थी पात्रहरूले विद्यालय परिवर्तनलाई रहरजस्तै बनाएका छन् र सायद तिनै बाल मस्तिष्कको जिद्दी वहन गर्दै बाबुआमा पनि उनीहरूको इच्छा पूरा गरिदिन बाध्य हुनुपरेको उदाहरण हो । छोराछोरीको इच्छाअनुसार स्कुल परिवर्तन गर्नुपरेको समुना र मक्सतका बुबा सन्त राई बताउँछन् । ‘छोराछोरीले त्यहाँ (पहिले पढेको स्कुल) नपढ्ने भनेपछि यसपालि पनि स्कुल फेरियो,’ राईले भने । बालबालिका पढ्ने विद्यालय बाक्लै परिवर्तन गर्दा बाल मस्तिष्कमा कस्तो प्रभाव पर्छ त ? शिक्षक ओमप्रकाश गौतम भन्छन्, ‘समयानुकूल स्तरीय विद्यालय रोज्नु गलत होइन । विद्यालयमा कायम रहेको शैक्षिक गुणस्तरको ख्याल नै नगरी आफ्नो अन्य अनुकूलताका कारण बारम्बार विद्यालय परिवर्तन गरिनुले बालबालिकामा नकारात्मक असर पर्ने शिक्षक गौतमको भनाइ छ ।
शिक्षक ओमप्रकाश खनाल प्राथमिक तहभन्दा पनि कक्षा ६ देखि ९ सम्म विद्यार्थीले बारम्बार स्थानान्तरण गर्ने गरेको बताउँछन् । ‘५ कक्षासम्म स्थानान्तरण त्यति धेरै हँुदैन, तर कक्षा ६ देखि माथिचाहिँ बढी नै हुन्छ,’ खनालले भने ।
माथिका दुई घटना तथा विवरण स्कुल किन फेर्ने भन्ने विषय उत्थानका लागि उपयुक्त लागेको कारण प्रयोग गरिएका सान्दर्भिक दृष्टान्त हुन् । शैक्षिक सत्रको सँघार आउनेबित्तिकै अभिभावक आफ्नो सन्तानका लागि उपयुक्त विद्यालयको खोजीमा आँखा डुलाउँछन् नै । अभिभावक जसरी हुन्छ आफ्नो सन्तानको भविष्य बनाउने शिक्षा र त्यस्तो खालको प्रत्याभूति दिने शिक्षालयको खोजीमा लागी नै रहन्छन् ।
चैत लाग्नेबित्तिकै अभिभावकको मन पनि चैते हुन जान्छ, सन्तान पढिरहेको विद्यालयभन्दा अरूका सन्तान पढिरहेका स्कुल राम्रा देख्न थाल्छन् । अभिभावकमा ‘यहाँ पढाउने कि त्यहाँ पढाउने’ भन्ने द्विविधा उत्पन्न भई नै रहन्छ । यस्तै द्विविधाबीच अभिभावकले स्कुल त फेर्छन्, तर त्यसको असर सन्तानलाई कसरी र कुन हदसम्म पर्छ भन्ने कुरा थाहा हुन्न ।

स्कुल फेर्न हुन्छ या हुन्न भन्ने विषय पनि आफँैमा बहसको विषय हो । यो सन्दर्भमा अधिकांश शिक्षक तथा प्रिन्सिपल भने विद्यालय फेर्न नहुने तर्क राख्छन् । यो तर्कका पछाडि स्कुल र प्रिन्सिपलको ‘स्वार्थ’ पनि लुकेको हुन्छ । तैपनि, प्रिन्सिपलहरू भने स्कुल सकेसम्म नफेर्दा त्यसको फाइदा अभिभावक र विद्यार्थी दुवैलाई हुने जनाउँछन् ।

भक्तपुरको मदरल्यान्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्का पनि स्कुल फेर्न नहुनेमा सहमति जनाउँछन्, तर उनी सुझाव पनि दिन्छन्, ‘यदि विद्यार्थीको सर्वांगीण विकास हुन्न भने त्यो स्कुलमा सन्तानलाई राखेर के गर्ने ?’ योसँगै उनले विद्यार्थीको चाहनाभन्दा अभिभावकको इच्छा र चाहनाले स्कुल फेर्ने गरिएको आफ्नो अनुभव सुनाए । अझ उनी पछिल्लो समयमा सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत गरेको स्कुलको वर्गीकरणले पनि स्कुल फेर्न प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सघाएको बताउँछन् ।

‘विशेषतः अभिभावक आफ्ना सन्तानलाई सन्तानसरहका समकालीन, आफन्त, छरछिमेकसँग तुलना गर्छन्, त्यो तुलनाअनसार आफ्नो सन्तान नहुँदा अभिभावक स्कुल फेर्ने मुडमा पुग्छन्,’ प्रिन्सिपल सञ्जयले भने । यसबाहेक स्कुल फेर्न चाहने अभिभावक भने स्कुलको सानो गल्तीलाई पनि पहाड बनाउँछन् । त्यस्ता अभिभावकले आफू मात्र नभएर अरूलाई पनि भाँड्छन् । पछिल्लो समयमा सरकारी विद्यालयबाट निजीमा र निजीबाट सरकारीमा आउने लहर पनि एक किसिमले झाँगिएको छ ।

स्कुल फेर्न चाहने अभिभावक भने स्कुलको सानो गल्तीलाई पनि पहाड बनाउँछन् । त्यस्ता अभिभावकले आफू मात्र नभएर अरूलाई पनि भाँड्छन् ।

‘हामीकहाँ थुप्रै निजी विद्यालयका विद्यार्थी भर्ना हुन आउने गरेका छन्, यस्तो हुनुमा हामीले दिएको गुणस्तर हो, हामीप्रति अभिभावकको विश्वास हो,’ भक्तपुरको वागीश्वरी माविले निजी विद्यालयले जस्तै गरी अंग्रेजी माध्यमबाट पठनपाठन, मन्टेस्वरी विधिबाट कक्षा सञ्चालन गरेपछिको अवस्थालाई चित्रण गर्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद धन्छाले भने ।

शिक्षक, प्रधानाध्यापक मात्र नभएर शिक्षा क्षेत्रमा विभिन्न तरिकाले सहभागिता जनाइरहेका व्यक्ति पनि हरेक वर्ष स्कुल फेर्ने क्रम चली नै रहने बताउँछन् । मानिसका इच्छा, आकांक्षामा कुनै पनि क्षेत्र, व्यक्ति, भूगोल, संगतलगायतले पनि प्रभाव पार्छ । सोही कारणले पनि विद्यालय फेर्ने क्रम लम्बिरहन्छ, चलिरहन्छ । केही व्यक्तिको आँकलनले अहिले सानो उमेरसम्म अर्थात् कक्षा ५–६ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउने र पछि कक्षा ८–९ मा सरकारीमा भर्ना गरिदिने प्रचलन ह्वात्तै बढेको छ । यसले प्रावि तहका लागि निजी, निमावि तथा मावि तहका लागि भने सरकारी रोज्ने शैलीको विकास भएको छ ।

विद्यालय सञ्चालकका अनुसार विद्यार्थीले पढिरहेको साविकको विद्यालय फेर्नुमा बढी दोष अभिभावककै हुने गरेको देखिन्छ । भक्तपुरको माउन्ट भ्यु स्कुलका प्रिन्सिपल राजकुमार महर्जन र ललितपुर छम्पीस्थित होली टेम्पल माविका प्रिन्सिपल विमल थापा विद्यार्थीको चाहना, आकांक्षाभन्दा बढी अभिभभावकै चाहना र आकांक्षाले स्कुल फेर्ने बताउँछन् । यति मात्र नभएर अभिभावक बढी स्कुलमुखी र पैसामुखी बन्दै गएकाले पनि स्कुल फेर्ने रोगबाट उनीहरू ग्रसित छन् ।

प्रिन्सिपलद्वय महर्जन र थापाले स्कुल फेर्नुमा विद्यार्थीलाई स्कुल टप्न लगाउने स्वभाव र चलन पनि हो । ‘कुनै बच्चाको हाइट निकै बढेको हुन्छ, तर पढाइ भने कमजोर भयो भने अभिभावक सन्तानलाई क्लास टप्न लगाउन हामीलाई दबाब दिन आउँछन्,’ उनीहरूको भनाइ छ । सो अनुसार नभएको खण्डमा अभिभावक विना मार्कसिट पनि अर्को स्कुलमा लान तयार हुन्छन् ।

योबाहेक कुनै पनि अभिभावक आफ्ना सन्तानको असफलता हेर्न तथा सुन्न चाहँदैनन् । यदि आफ्नो सन्तान फेल भयो भने अभिभावक आफँै नै फेल भएको ठान्छन् । सन्तानको कमजोरीभन्दा स्कुलले जानीजानी फेल गराएको आरोप लगाउँछन् र सन्तानलाई अन्य स्कुलमा लगेर भर्ना गरिदिन्छन् । शिक्षा क्षेत्रमा देखिएको यो विकृतिको मारमा विद्यार्थी र विद्यालय पर्ने गरेका छन् ।

यसरी विद्यालय फेर्नुका पछाडि अभिभावक मात्र जिम्मेवार नभएर स्वयं शिक्षक, विद्यालय सञ्चालक नै बढी जिम्मेवार रहेको अभिभावकहरू बताउँछन् । अभिभावक संघ नेपालका संस्थापक अध्यक्ष सुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक संघका रामप्रसाद न्यौपाने अभिभावकलाई विद्यालयले देखाउने लोभका कारण विद्यालय फेर्ने क्रम बढको बताउँछन्, ‘एउटा बच्चाका लागि विद्यालयहरू मरिहत्ते गर्छन्, भए–नभएको लोभ देखाउँछन्, गर्न हुने–नहुने काम गर्छन् ।’ विद्यालयले शैक्षिक सत्रको सुरुमा गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि स्कुल फेर्ने गरिएको उनीहरूको भनाइ छ । यसै सन्दर्भमा मनोविद् गंगा पाठकका शब्दमा स्कुल फेर्दा विद्यार्थीमा सकारात्मकभन्दा नकारात्मक असर बढी पर्छ । उनी भन्छिन्, ‘स्कुल सकेसम्म नफेर्दा राम्रो, फेर्नेपरे अभिभावकले धेरै कुरामा ख्याल गर्नुपर्छ ।’

स्कुल किन छोड्छन् ?
शिक्षकका कारण 
 विद्यार्थीको वास्तविक समस्या पहिचान गर्न अल्छी गर्दा ।
 बाल तथा विद्यार्थी मनोविज्ञानको ज्ञानको कमी र भएको ज्ञान पनि कार्यान्वयन नगर्दा ।
 विद्यार्थीलाई प्रोत्साहन नदिँदा ।
 अतिरक्ति क्रियाकलापको कमी भएमा ।
 शैक्षिक सामग्रीको अभाव तथा त्यसको भरपुर उपयोग नगर्दा ।
 शिक्षकले अभिभावकको भूमिका निर्वाह नगर्दा ।
 विद्यार्थीको पारिवारिक, आर्थिक, शारीरिक र सांस्कृतिक अवस्थाबारे ज्ञान नलिँदा र विद्यार्थीबारे अभिभावकसँग परामर्श नगर्दा ।
 विद्यार्थीको इच्छा र आकांक्षाबारे शिक्षकले अध्ययन र अनुसन्धान नगर्दा ।
 विद्यार्थीलाई कडा रूपमा शारीरिक र मानसिक सजाय दिँदा ।
अभिभावकका कारण 
 सन्तानको भविष्यप्रति कम चासो ।
 शिक्षक, प्रअसँगको सुमधुर सम्बन्धको अभाव ।
 शिक्षकले गरेका गल्तीबारे बालबालिकासँग टीकाटिप्पणी गर्दा ।
 बाल मनोभावनाको कदर नगर्दा ।
 जिद्दी अभिभावक हुँदा ।
 बेरोजगारी र गरिबी ।
 बालबालिकाको परिवर्तित व्यवहारबारे अनभिज्ञता ।
 सन्तानभन्दा पैसालाई महत्व दिँदा ।
 कम शुल्कमा बढी सेवा र सुविधा खोज्ने स्वभाव ।
 देखासिकी ।
विद्यार्थीको कारण 
 अनावश्यक सुविधा र स्वतन्त्रताको चाहना ।
 शिक्षकको मायाको अभाव ।
 सहपाठी र शिक्षकसँग मनमुटाव वा झगडा ।
 बारम्बार फेल हुँदा ।
विद्यालयका कारण
 विद्यालयले अभिभावकपिच्छे फरक–फरक व्यवहार गर्दा ।
 अभिभावक भेला नगर्दा
 अभिभावकका सुझावलाई कार्यान्वयन नगर्दा ।
 शिक्षकको व्यवहारप्रति असन्तुष्ट भएर ।
 विद्यालयले मनोमानी नियम लाद्न खोज्दा ।
 विद्यार्थीबारे शिक्षक, प्रशासनबाट बढी गुनासो सुन्नुपर्दा ।

(फिचरको सुरुमा प्रयोग भएका पात्रका नाम परिवर्तन गरिएका छन् तथा गोपनीयताका कारण स्कुलको नाम उल्लेख गरिएको छैन ।)

:700 Views

Leave a Reply