केब्स स्कूलले सिकायो नेपाली परम्परागत सिपहरु

मन्थली नगरपालिका–१, आकासे, रामेछापमा अवस्थित केब्स बोर्डिङ स्कूलले गत मंगलबार एक तालिम कार्यक्रम आयोजना गरी आफ्ना विद्यार्थीहरुलाई नेपाली परम्परागत सिपहरु सिकाएको छ । स्कूलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका करिब डेढसय विद्यार्थीहरुलाई नेपाली मौलिक परम्परामा आधारित दुना टपरी गाँस्ने, डोरी बाट्ने, बाती कात्ने र बाँसको चोया बनाउने सिपहरु सिकाइएको हो ।

पछिल्लो समय गुणस्तरीय शिक्षाको नाममा विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र घोकाएर परीक्षामा धेरै अंक दिलाउन मात्र स्कूलहरु केन्द्रित भैरहेको अवस्थामा अब स्कूलहरुले गुणस्तरीय शिक्षालाई अंक केन्द्रित भएर संकुचित रुपमा परिभाषित गर्न नहुने र विद्यार्थीहरुलाई विविधतायुक्त जीवनोपयोगी प्रयोगात्मक शिक्षा दिन सबै स्कूलहरु लाग्नुपर्ने स्कूल प्रिन्सिपल केशव तिमल्सिनाले बताउनुभयो । यो तालिम कार्यक्रम आयोजना गर्नुको उद्येश्य विद्यार्थीको सिप विकास मात्र नभई नयाँ पुस्तालाई नेपाली मौलिक परम्परासँग सम्बन्धित सिप र प्रविधिको महत्वको बारेमा सचेत गराउनु समेत रहेको स्कूलले जनाएको छ । तालिम कार्यक्रमका क्रममा समाजले लैङ्गिक रुपमा छुट्याएका काम पनि लैङ्गिक समानताका दृष्टिले छात्रछात्रा दुबैलाई सिकाइएको थियो ।

यस क्रममा छात्रहरुले दुना टपरी गाँसेका थिए भने छात्राहरुले समेत डोरी बाट्ने र चोया काढ्ने काम गरेका थिए । विविधतायुक्त प्रयोगात्मक शिक्षालाई स्कूलले उच्च प्राथमिकतामा राखेको र तालिकाबद्ध रुपमा यस्ता किसिमका अन्य सिपहरु पनि स्कूलले निरन्तर सिकाउने अरितिक्त कृयाकलाप प्रमुख सुवास तामाङले बताउनुभयो । गत महिना माटो व्यवस्थापन र नर्सरी व्यवस्थापन तथा लघु करेसा निर्माण सम्बन्धि तालिम कार्यक्रम आयोजना गरिएको थियो भने यस पछि केब्स सिङ्गिङ तथा डान्सिङ आइकन सिजन २ आयोजना हुने स्कूलले जनाएको छ । स्थापना काल देखि नै केब्स स्कूल उच्च गुणस्तरीय संस्कारयुक्त शिक्षा प्रदान गर्नुका साथसाथै अतिरिक्त कृयाकलाप र खेलकुद गतिविधिमा समेत अब्बल स्कूलको रुपमा स्थापित भैरहेको देखिन्छ ।

:411 Views

Leave a Reply