रोम्बसमा विचार गोष्ठी

भक्तपुर, २० भाद्र । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुल र कलेजले समसामयिक विषयमा विचार गोष्ठी गरेको छ ।
विद्यालय तथा कलेजमा अध्यापनरत शिक्षक–शिक्षिकाहरुलाई देश तथा विदेशको भूराजनीतिक अवस्थाबारेमा जानकारी दिन र शिक्षकहरुमा अध्ययनशीलताको विकास गर्न सो कार्यक्रम गरिएको कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले जानकारी दिए ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले शिक्षकहरुले देश–विदेशको राजनीतिक अवस्थाबारेमा जानकारी राखी नयाँ पुस्तालाई राजनीतिक चेतना दिन जरुरी रहेको बताउँदै शिक्षकहरुमा अध्ययनशील व्यवहार आवश्यक रहेको चर्चा गरे ।
शिक्षकहरुलाई दक्षिण एसियामा विकसित राजनीतिक घटनाक्रम र त्यसले नेपाललाई पर्ने असरबारेमा जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष गोसाईंले भारतीय विस्तारवादले जम्मु काश्मिरलाई आफ्नो नियन्त्रणमा लिनु दक्षिण एसियाकै लागि खतराको विषय भएको उल्लेख गर्दै भारतीय विस्तारवादबारेमा नेपाली वुद्धिजीवीहरुले नबोल्नु विडम्वनापूर्ण रहेको बताए ।
कार्यक्रममा उनले आस्था र निष्ठाको राजनीति गरिरहेको नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको तयारीबारे तथा नेपाली राजनीतिमा नेमकिपाले खेलेको भूमिकाबारेमा चर्चा गरेका थिए । उनले शिक्षकहरुले कुनै पनि विषयलाई आँखा चिम्लेर समर्थन गर्नुको सट्टा त्यसको अध्ययन गरी मात्र समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा हाल अभिभावक र बालबालिकाहरुको दूरी बढ्दै जानु चिन्ताको विषय भएको औल्याउँदै अध्यक्ष गोसाईंले शिक्षाको स्तरउन्नतिका लागि अभिभावक शिक्षाको खाँचोबारे पनि बोलेका थिए ।
सोही कार्यक्रममा आयोजक कलेजका प्राचार्य डा. कोजूले ‘जम्मु काश्मिर विवाद ः एक अध्ययन’ नामक अध्ययन पत्र प्रस्तुत गर्दै सार्वभौम देशमाथि विस्तारवादी आक्रमण गर्नु निन्दनीय रहेको उल्लेख गरेका थिए । कार्यक्रममा विद्यालयकी सामाजिक विषय शिक्षक रञ्जना सिवाकोटी र शिक्षक सूर्यप्रसाद तिमल्सिनाले पनि विद्यालयले शिक्षकहरुमा अध्ययनको भोक जगाउन गरेको प्रयासलाई निरन्तर रुपमा अघि बढाउनुपर्नेमा पनि जोड दिएका थिए ।
:383 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव