जिल्लाब्यापी वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट पब्लिककी अविशा मगर प्रथम

भक्तपुर । भक्तपुर । मध्यपुरथिमी शंखधर चोकस्थित चाणक्य माध्यमिक विद्यालयले बालबालिको अन्र्तनिहित प्रतिभा प्रष्फुटन गर्नको लागी आयोजित भक्तपुर जिल्ला ब्यापी वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट पब्लिक एकेडेमी, बोडेकी छात्रा अविशा मगर प्रथम भएकी छिन् । भक्तपुर जिल्लाका ५१ वटा विद्यालयका ६३ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो उक्त प्रतियोगितामा क्रमश आदर्श माध्यमिक विद्यालय लाय्कुका छात्र अर्जुन स्याङ्बो द्वितीय, एभरेष्ट इङ्गलिस स्कुलकी छात्रा आर्या प्रसाई र महेन्द्र विद्या आश्रमकी छात्रा समृद्वि चापागाँई तृतीय, दिव्य दीप ज्योतिकी छात्रा प्रशंसा खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

आफ्ना विद्यालयमा निखारिएर आएका को भन्दा को कम भन्ने धारणा भएका प्रतियोगिहरुको कडा प्रतिस्पर्धाले कार्यक्रममा थप उत्साह र रौनकता थपिएको थियो । “बालबालिकामा लगानी ल्याउँछ सुनौलो बिहानी” शिर्षकको उक्त वक्तृत्वकला प्रतियोगितामा देवी प्रसाद घिमिरे, विनोद मञ्जन तथा रुपक अलंकारले निश्पक्ष रुपमा निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताका विजयी छात्र छात्राहरुलाई उपस्थित विशिष्ट व्यक्तिहरुले प्रमाणपत्र, ट्रफी, मेडल र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

आयोजक विद्यालयका प्रिन्सिपल गणेश बाबु पोखरेलको सभापतित्व र जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयकी छात्रा जस्मिन श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिइन् भने चाणक्य व्यवस्थापन कलेजका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले समापन गरेका थिए ।

:475 Views

Leave a Reply