म चाँडै भावुक हुन्छु

विक्रम सम्वत २०३८ भदौ ५ मा काठमाडौंको आमे बहालमा जन्मिएकी रबिना महजर्न काठमाडौंको ब्रम्हटोलस्थित सरस्वती निकतेन सेकेण्डरी स्कुलकी प्रधानाध्यापक हुन् । वि.स. २०५३ मा नवआदर्श हाइस्कुलबाट एसएलसी दिएकी उनले २०५५ सालबाट शिक्षण यात्रा सुरु गरेकी हुन् । विज्ञान र शिक्षा संकायमा स्नातकोत्तर गरेकी उनले न्यु जेनिथ इङ्लिश मोडल स्कुल, किङ्स्, महामञ्जुश्री, विल्सन एकेडेमी लगायतका विद्यालयबाट शिक्षण अनुभव गरेकी छन् । बुवा राजभाइ र आमा गंगा महर्जनको कोखबाट जन्म लिएकी रबिनाले २०७१ सालबाट प्रिन्सिपलको जिम्मेवारी सम्हालेकी हुन् । हाल विद्यालय व्यवस्थापक समाज नेपालको सचिव समेत रहेकी उनै मिलनसार र लगनशील प्रधानाध्यापक महर्जनको व्यक्तित्वको चर्चा उनकै भाषा र शैलीमा प्रस्तुत छ ।
प्रिन्सिपल भएदेखि म मेरो कुर्सीमा त्यति देखिन्नँ । मलाई कुर्सीमा बसिरहन मनपर्दैन । म विद्यालयमा तलमाथि गरिरहन्छु । ५ तल्लासम्मै १ दिनमा २५ चोटीभन्दा बढी तलमाथि गरिरहेको हुन्छु । केही चाहियो भने फोन गर्दिनँ । म आफै जान्छु । आफूलाई काम भएको बेला उनीहरूसम्मै जाँदा विद्यालयमा काम गर्नेहरूको मनस्थिति कस्तो छ भन्ने थाहा पाउने मौका पनि पाइन्छ । धेरै नै व्यस्त भएको अवस्थामा मात्र फोन गरेर भन्छु । आफूले गर्न सक्ने काममा पनि अरुलाई आदेश दिन मन लाग्दैन । सकेसम्म आफ्नो काम आफै गर्छु । अझ बढी खाजा खाने समयमा तलमाथि गर्छु । विद्यार्थीको हेरचाह गर्न, बच्चाले के खाए खाएनन् भनेर हेर्न ।
म प्रिन्सिपल भएकै वर्षको एउटा घटना प्राय सम्झिरहन्छु । खाजा खाने समय भएको थियो । बच्चाहरू कक्षामा खाजा खाइरहेका थिए । एउटा बच्चाले खाजामा केक ल्याएको रहेछ र अर्कोले भात । केक ल्याउने बच्चाले केक खाँदा उसको मुखबाट सानो टुक्रा केक भुईमा खस्यो । त्यो खसेको केकको टुक्रा भात ल्याउने बच्चाले टिपेर खायो । त्यो दृश्य देखेर मेरो मन चस्स भयो । मेरा आँखा आँशुले भरिए । खाजाले विद्यार्थीमा भेदभावको भावना आउँछ । सानो बच्चादेखि नै उसको आत्मसम्मान मर्छ र त्यसलाई ठूलो भएपछि बढाउन गार्हो हुन्छ भन्ने कुराले मन दुखिरह्यो । त्यस दिनको घटनाले गर्दा मैले त्यो भेदभावलाई कम गर्न केही न केही गर्छु भन्ने अठोट लिएँ । त्यसपछि विद्यालयबाटै खाजाको व्यवस्थापन गर्ने सोचेँ । म केही कुरा गर्छु भनेपछि त्यसलाई पूरा नगरेसम्म लागि परिरहने मान्छे ।
म खाली समयमा पुस्तक पढिहाल्छु । मलाई धेरै कमलो मन भएको मान्छे भन्नुहुन्छ । म तुरुन्त रोइहाल्छु । केही कुरामा खुसी हुँदा र दुखमा पनि ।
शहरका विद्यालयमा सरकारले खाजाको लागि कुनै व्यवस्था नगर्दो रहेछ । त्यसैले मैले आफ्नै शिक्षक साथीहरूसामू आफ्नो विचार राखेँ । सबैले बच्चाहरूलाई विद्यालयबाटै खाजा खुवाउने विषयमा सहमति जनाउनुभयो । शुरुमा मेरो एक महिनाको तलब र सबै शिक्षक कर्मचारीको केही रकम जम्मा गरेर एउटा कोष खडा गर्यौँ । एकै दिनको बैठकमा २ लाख रुपैयाँ जम्मा भयो । त्यति पैसाले पुग्ने नै थिएन । त्यसैले पूर्व विद्यार्थीको भेला र १ दिने ‘फुड फेस्टिभल’ गर्यौँ । त्यसबाट ७ लाख रुपैयाँ जम्मा भयो । हामीले पूर्व विद्यार्थीहरूको भेलाको हाम्रो उद्देश्य बताएका थियौँ । त्यसै कारण केही पूर्व विद्यार्थीले थप रकम सहयोग गरे । त्यो शुल्कबाट पूर्वप्राथमिकका केटाकेटीलाई एक कप दुध खुवाउन सफल भयौँ ।
फेरि वि.स २०७४ मा हामीले खाली क्यानभास कलाकारहरूलाई दियौँ र उहाँहरूले त्यसमा चित्र बनाइदिएर हामीलाई दिनुभयो । त्यसलाई एक हप्ताको ‘आर्ट एक्जीभिसन’ गरेर १२ लाख जम्मा गर्यौँ । त्यस रकमको प्रयोगबाट वि.स २०७५ बाट पूर्वप्राथमिकका विद्यार्थीलाई खाजा खुवाउन सफल पनि भयौँ । यसरी आफूले सोचेको काम पूरा हुँदा निकै खुसी लाग्यो । मलाई शिक्षासम्बन्धि र उपन्यासहरू पढ्न एकदमै मनपर्छ । म खाली समयमा पुस्तक पढिहाल्छु । मलाई धेरै कमलो मन भएको मान्छे भन्नुहुन्छ । म तुरुन्त रोइहाल्छु । केही कुरामा खुसी हुँदा र दुखमा पनि । मेरो अध्ययनका क्रममा राम्रा पढाउने शिक्षकबाट उहाँहरू जस्तै हुने प्रेरणा मिलेको थियो । त्यस्तै नराम्रा पढाउने शिक्षकबाट पनि त्यो समयमा उहाँहरूमा भएका कमीकमजोरी आफूले नदोहोर्याउने भनेर अघि बढ्थेँ । म ‘लर्निङ बाइ डुइङ’ मा विश्वास गर्छु ।
म समूहमा रहेर काम गर्न मनपराउँछु । कसैलाई पनि वेवास्ता गर्दिनँ । आफू मात्र नभई साथीहरूलाई पनि आफूसँगसँगै अगाडि लैजाने मेरो सधैँको प्रयास हुन्छ । उहाँहरूको सहयोग र मप्रतिको विश्वासले मलाई थप कृयाशील हुने उर्जा मिलिरहन्छ ।
:371 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव