प्राध्यापक बन्न ‘फिजिक्स’ पढेँ

युनाइटेड एडुकेसन फाउन्डेसन ललितपुरका प्राज्ञिक सल्लाहकार कविराज बान्तवाको जन्म मलेसियामा भएको थियो । जन्मेको ५ वर्षसम्ममा नेपाल आइसकेका उनले झापाको गौरिगञ्जस्थित व्यावसायिक माध्यमिक विद्यालयबाट विद्यालयीय अध्ययन पूरा गरे । २०४० सालमा त्यहीँबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले विज्ञान विषयमा धरानमा डिप्लोमा, विराटनगरमा स्नातक र काठमाडौंमा स्नातकोत्तर पढेँ । पछि अमेरिकाबाट पिएचडी गर्ने अवसर पनि पाए । सन् १९९७ मा युनाइटेड एकेडेमी खोलेको उनले सुरुमा प्लस टु, त्यसपछि स्नातक, स्नातकोत्तर र विद्यालयसमेतको स्थापना गरे । हाल युनाइटेडको छातामुनि करीब छ हजार विद्यार्थी अध्ययनरत छन् । नेपालको शैक्षिक जगतका एक प्रतिष्ठित प्राज्ञिक व्यक्तित्व बान्तवाबारे थप चर्चा उनकै शब्द र शैलीमा ।

म डिग्री पढ्न २०४५ माघमा काठमाडौँ आएँ । काठमाडौँको पढाइ मेरो त्यत्ति सुखद रहेन । किनकि मैले विएस्सीदेखि नै घरबाट पैसा नमागिकन पढेको थिएँ । म कीर्तिपुरको एउटा विद्यालयमा पढाउँदै आफू नि पढ्थेँ ।

अहिलेका युवाहरूको उद्देश्य केके हुन्छ मलाई थाहा छैन । तर त्यो बेला मेरो उद्देश्य नै प्राध्यापक बन्ने थियो । स्याना भाइबहिनीहरूलाई निशुल्क पढाइराख्थेँ, उनीहरूलाई पढाउन पाउँदा मन नै आनन्द हुन्थ्यो । पछि गएर थाहा पाएँ मेरो प्यासन नै शिक्षण क्षेत्रमा रहेछ । त्यही भएर ब्रिप चाम्लिङ र नरहङ राईसित मिलेर सन् १९९७ मा यूनाइटेड एकेडेमी खोलेँ । साधारण व्यावसाय गरि खाऊनु् भन्ने सोचले पढाइने व्यावसायिक माध्यमिक विद्यालयमा पढेको हुनाले विज्ञान विषयमा उच्च शिक्षा पढ्नको लागि मेरो आधार बलियो थिएन । त्यसो भएर डिप्लोमाको पढाइ फलामको चिउरा चपाउनु सरह भयो । त्यति बेला म लगभग १८ घण्टा पढ्थेँ, ६ घण्टा पनि सुत्दिनथेँ । अहिले पनि धरानका आफन्तहरूले भन्ने गर्छन्, ‘भयङ्कर पढ्थ्यो । अब त त्यहाँका बच्चाहरूलाई पनि भयङ्कर पढाउँछ होला ।’ विएस्सी र मास्टर्समा मैले फिजिक्स् लिएर पढेँ । मन लागेर होइन । फिजिक्स् पढेँ भने टियूमा पढाउने मौका चाँडै पाइन्छ भन्ने मलाई लागेको थियो । किनकी हामीले पढ्दा फिजिक्स्का शिक्षकहरू सबै भारतीय थिए, हिन्दीमा पढाउँथे । दुई जना मात्र नेपाली थिए । मैले फिजिक्स पढेँ भने एक जना भएपनि नेपाली प्राध्यापक थपिन्थ्यो भन्ने लाग्थ्यो । नभन्दै मास्टर्स पास भएको एक वर्षभित्रै त्रिचन्द्र कलेजमा पार्ट टाइम गरेँ । डेढ वर्षमै स्थायी भएँ । पछि टियूमै उपप्रमुख पनि भएँ ।

अहिले पनि धरानका आफन्तहरूले ‘भयङ्कर पढ्थ्यो । अब त त्यहाँका बच्चाहरूलाई पनि भयङ्कर पढाउँछ होला’ भनेको सुन्दा खुशी लाग्छ ।

यहाँ चाहिँ म एकेडेमिक एड्भाइजर मात्र हुँ । यहाँ प्रिन्सिपल, कोअर्डिनेटरहरू छन्, सबैले गरिरहेको कामको विवरण हेर्छु । त्यसको मुल्याङ्कन गर्छु । सच्याउनु पर्ने विषयमा तत्काल सच्याउन सुझाव दिन्छु । उहाँहरूले गरिरहनु भएको काममा सहयोग गर्नु मेरो प्रमुख दायित्व हो । म आफूलाई शिक्षाविद् भन्न रुचाउँछु । शिक्षणमा लामो समयदेखि निरन्तर लागिरहेको छु । सन् २००२ मा टियूबाटै अमेरिका गएर पिएचडी गरेँ, सात वर्ष उतै बसेँ । हुन त उतै धेरै मौकाहरू थिए मेरा लागि । तर छोडेर आएँ । किनकि यहाँ युनाइटेड खोलिसकेको थियौँ । मेरो बुवा व्रिटिस आर्मी । युनाइटेड खोल्नमा सहयोग गर्ने मेरा अरु दुईजना साथीहरू पनि व्रिटिस आर्मी । त्यहि भएर विद्यार्थीलाई अनुशासनमा कसरी राख्ने भन्नेमा हामीलाई कहिल्यै समस्या भएन । भन्न त पहिले युनाइटेडलाई ‘लाहुरेको कलेज’ भन्थे । पछि म पिएचडी गरेर फर्केपछि भने त्यो कुरा विस्तारै हराउँदै गयो ।

हामी टिकेको अनुशासनले हो । युनाइटेडमा आएपछि अनुशासन सँगै पढाइको विकल्प छैन भन्ने विद्यार्थी, अभिभावक सबैलाई बुझ्ने बनाएका छौँ । त्यसैकारण हाम्रा विद्यार्थीहरू पढ्छन्, साँच्चै नै मिहिनेत गर्छन् । र अहिले संसारका कुनाकाप्चामा रहेर पनि आआफ्नो क्षेत्रमा अब्बल भइ सफल जीवन बाँचिरहेका छन् । मेरो एक दिन स्कुल, कलेज, टियु र त्यसपछिको बाकी समय पाटन हस्पिटलसँगैको यूनाइटेड कोअपरेटिभमा विताउँछु । म त्यहाँको अध्यक्ष हुँ । विहान ७ बजेबाट बेलुकी ८ बजेसम्म म घर बाहिर हुन्छु । श्रीमती र दुई छोरीहरू छन् । म एक साधारण मान्छे हुँ । सबै साथीभाइसँग सम्बन्ध राख्न खोज्ने मेरो स्वभाव छ । मेरा पुराना स्कुल पढेका साथीहरू अहिले पनि सम्पर्कमा छन् । म आफूलाई प्रफुल्लित हुन मन पराउँछु । कुनै कुरामा भुलेर बसिराख्ने मेरो स्वभाव छैन । म सकारात्मक छु, सबैलाई सकारात्मक भएर हेर्छु । यसले सबै कुरा सकारात्मक भएर जाने रैछ । म विद्यार्थीहरूलाई पनि भन्छु, आफूले आफैलाई विश्वास गर अरुलाई विश्वास नगर ।

 

:142 Views

Leave a Reply