चङ्गा र चस्काहरू

चस्का एक
दशैँ आएपछि पीङ भन्दा पनि पहिला आउने कुरा चङ्गा थियो । मसित न त चङ्गा, धागो र लट्टाई नै थियो । न त किन्ने पैसा नै । दशैँ विदा आउने बेला भइसकेको थियो । आफूसित चङ्गा थिएन । जसरी भए पनि चङगा त उडाउनै पर्यो । मसित एकजोर बाक्लो हवाई चप्पल थियो । बाक्लो र नरम भएको हुनाले हामी त्यसलाई पाउरोटी चप्पल पनि भन्थ्यौँ । एउटाको फित्ता छिनेको थियो । फित्ता छिने पनि टुकी बत्तीले हल्का पगालेर गाँसेर लगाउन मिल्थ्यो । मैले भने पगालेर गाँस्ने जमर्को गरिनँ किनभने मलाई छिनेको चप्पलबाट लट्टाई बनाउनु थियो । मैले सिसाकलम र कम्पासको सहायताले चप्पलको बीच भागबाट वृत्त बनाई पाङ्ग्रो जस्तो बनाएँ । ब्लेड र चक्कुले मिलाएर बिस्तारी काटेँ । ठूला मानिसले देखेमा गाली गर्ने हुनाले घरको बुइगलमा लुकेर बनाएँ ।

लट्टाई तयार भयो । गोली धागो किनेर ल्याएको थिएँ । सर्सरी लट्टाईमा बेरेँ । प्लास्टिक काटेर चङ्गा पनि बनाएँ । घर नजिकैको पाखामा गएर उडाउन थालेँ । मेरो घरदेखि माथिको एउटा साथी पनि आइपुग्यो । ऊ र म बहुतै मिल्थ्यौँ । उमेरले ऊ मेरो भाइ थियो । त्यतिखेर को दाइ । को भाइ । ऊ र म मिलेर दिनभरि चङ्गा उडायौँ । घर जाने बेला भएपछि मलाई चिन्ता पर्यो । चङ्गा कता लुकाउने भनेर । मैले मेरो साथीलाई भनेँ –‘आज चङ्गा तँ नै राख्नू । भोलि खेल्न आउँदा लिएर आउनू ।’ उसले चाहेको पनि यस्तै रहेछ । ऊ खुशी भएर चङ्गा लिएर गयो ।

भोलिपल्ट आउँदा ऊ रित्तै आयो । मैले सोधेँ – ‘चङ्गा खोई ?’ ऊ एकछिन् केही बोलेन । उसका बा अलि कडा स्वभावका थिए । हिजो साँझमा घर जाँदा अगेनामा कुँडो पकाउँदै थिए रे । दिनभरि चङ्गा उडाएर बरालियो भनेर लट्टाई, धागो र चङ्गा अगेनामा हालेर डढाई दिएछन् । चङ्गा र लट्टाई बनाउँदा ब्लेडले काटेका मेरा औँलाहरूमा आला चोटहरू बाँकी नै थिए । चङ्गा, धागो र लट्टाई आगोमा ह्वारह्वारी बलेको काल्पनिक दृश्य मेरो आँखा वरिपरि आयो । मुटुमा कुन्नि केले हो, चसक्क घोच्यो ।

चङ्गा

बतासिदै गयो हावामाथि चङगा
चङ्गाचेट पार्ने चलेको छ दङ्गा

कस्को चङ्गा माथि कस्को चङ्गा तल
धागो छिनाउने पाखुरीको बल

कुनै चङ्गा राता कुनै भने सेता
चङ्गाकै छ मेला उता अनि यता

चङ्गा ठूलो हो कि उडाउने मान्छे
हावा चलेपछि कराउने मान्छे

खुट्टा हुन्छ तल आँखा हुन्छ माथि
माथि मात्रै हेर्दा लडिएला साथी ।

चस्का दुई
मेरो घरदेखि मुनि एउटा ठूलो गाउँ छ । त्यसलाई दुलालगाउँ भनिन्छ । प्रायः सबै दुलालहरूसित मेरो मावली नाता छ । म सानो हुँदा प्रायः जसोले मलाई भान्जा भन्नुहुन्थ्यो । अहिले पनि भन्नुहुन्छ । मेरी आमाको मामाघर अर्थात् मेरो बुढोमावली गाउँ नै त्यही हो । नजिकको तीर्थ हेलाँ भन्ने गरिन्छ । तर मैले यस्तो कहिल्यै महसुस गर्नु परेन । सबैले मलाई माया गर्नुहुन्थ्यो । तर एकदिन त्यस्तो भएन । म त्यतिखेर कक्षा पाँचमा पढ्थेँ । घटस्थापनापछि स्कुल विदा हुन्थ्यो । दशैँले छोएको थियो सबैलाई । हाम्रो खेल्ने मुख्य थलो ‘सिते डाँडो’ थियो । घरदेखि पूर्वतिर ५ मिनेट हिँडेपछि सिते डाँडो पुगिन्छ । भन्नलाई खोला भनिए पनि दुईटा साना खोल्साको बीचमा एउटा लामो भिरालो पाखो छ । त्यही हो सिते डाँडो । मेरा एकजना मामा पर्ने व्यक्ति हातमा नयाँ लट्टाई, चङ्गा र धागो लिएर आउनु भयो । हामीभन्दा उहाँ ४, ५ वर्षले जेठा हुनुहुन्छ शायद । सबै केटाकेटी उहाँको वरिपरि झुम्मिए । त्यति राम्रो लट्टाई अरु कसैको पनि थिएन । चङ्गा पनि नयाँ । आहा मेरो पनि त्यस्तै भए पो । मनमनै कल्पना आउँथ्यो ।

उहाँ शानले चङ्गा उडाउन थाल्नु भयो । अरु सबै उहाँको वरिपरि झुम्मिए । ‘म पनि उडाउँछु । म पनि उडाउँछु ।’ सबैले एकचोटि चङ्गा उडाउन अनुनय गर्न थाले । तर कसैले छुन पाएनन् । उहाँले मतिर फर्केर भन्नु भयो – ‘लाऊ भान्जा तिमी उडाऊ ।’ त्यतिखेर मेरो शान चङ्गाभन्दा पनि माथि आकाशिएको थियो । चङ्गा उडिसकेको थियो । मैले के उडाउनु । माथि आकाशमा थियो चङ्गा । मैले घरी धागो छोड्ने घरी बेर्ने गर्न थालेँ । एकैछिनमा चङ्गाको सन्तुलन बिग्रियो । चङ्गा यता र उता ढुन्मुनिन थाल्यो । मामाले ए,पख–पख भन्दा भन्दै उत्तिसको रुखमा गएर चङ्गा अड्कियो । झड्काल्न खोज्दा धागो पनि चुँडियो । अब पर्यो फसाद ।

त्यतिखेर एककप चियाको मूल्य २० पैसा थियो । स्कुल जाँदा पच्चीस पैसामा खाजा खान पुग्थ्यो । तीन मोहोर भनेको त एक सय पचास पैसा थियो । त्यतिखेरका अभिभावकले कलमकापी समेत राम्ररी किन्दिने चलन थिएन । खेलौनाका लागि पैसा दिने भन्ने त धेरै टाढाको कुरा थियो । खेल्नु भनेको बदमासी गर्नु सरह मानिन्थ्यो ।

अरु केटाकेटी खुच्चिङ भने जसरी हामीलाई हेरिरहेका थिए । मामाले रिसाउँदै मेरा हातबाट लट्टाई खोस्नु भयो । ‘हिजो भर्खर किनेको । चङ्गा, धागो र लट्टाई गरेर सात मोहोर परेको थियो । आधा पैसा तिम्ले तिर्नुपर्छ ।’

–‘किन आधा तिर्ने ? तैँले नै उडाउन दिएको होइनस् ? अड्कियो त भान्जाको के दोष ?’ मामा पर्ने अर्काले मेरो बचाउ गर्दै भने । यो मेरो बचाऊ मात्रै थिएन । अघि चङ्गा उडाउन नदिएको रोष पनि थियो शायद ।

–‘तँ बीचमा नआ त । मलाई अरु कुरा थाहा छैन भान्जा, तिम्ले जसरी नि तीन मोहोर तिर्नुपर्छ । नत्र म तिम्रा हजुरबालाई भन्दिन्छु ।’

हजुरबासित मलाई असाध्यै डर लाग्थ्यो । त्यसमाथि आज हजुरबाले घरमा अहर्याउनु भएको काम छोडेर म खेल्न निस्किएको थिएँ । दुइवटा कारणले मेरो मन रुन थाल्यो । पहिलो कारण चङ्गाको त्यतिका पैसा कसरी तिर्ने ? त्यतिखेर एककप चियाको मूल्य २० पैसा थियो । स्कुल जाँदा पच्चीस पैसामा खाजा खान पुग्थ्यो । तीन मोहोर भनेको त एक सय पचास पैसा थियो । त्यतिखेरका अभिभावकले कलमकापी समेत राम्ररी किन्दिने चलन थिएन । खेलौनाका लागि पैसा दिने भन्ने त धेरै टाढाको कुरा थियो । खेल्नु भनेको बदमासी गर्नु सरह मानिन्थ्यो । मलाई त्यतिखेर यति आत्मग्लानि भएको थियो कि अर्काको चङ्गा अड्काई दिएर मैले ठूलै नराम्रो काम गरेको छु । यो मैले गरेको काम कसैलाई थाहा नभए हुन्थ्यो । तर मामाले मलाई त्यतिकै छोड्ने छाँट देखिएन । चिन्ताको अर्को कारण थियो – उनले हजुरबालाई पोल लगाए भने मैले बित्थामा घरमा पनि अनावश्यक गाली खानुपर्छ ।

भीरको छेउमा ठूलो रुखमा अड्किएको चङ्गा निकालेर दिन सक्ने अवस्था पनि थिएन । मैले अब कहाँबाट तिर्ने तीन मोहोर ?

–ल भन भान्जा कहिले तिर्ने ? उनले मलाई र्याखर्याख पार्न थाले ।

मैले के जवाफ दिनु ? म आफैँलाई अपराध बोध भइरहेको थियो । मेरै कारणले मामा दुखित भएका छन् भन्ने लाग्यो । ‘दशैँमा टीका लगाएकोे पैसाले तिर्छु है भनी मैले अनुरोध गरेँ ।’मलाई अरु कुरा थाहा छैन, कि मलाई मेरो धागो र चङ्गा चाहियो । कि पैसा चाहियो । तुरुन्तै ।

– मामाको कडक बचनपछि मेरो मुखबाट एक शब्द निस्किएन । मैले वरिपरि पनि केही देखिन । मेरा आँखा भुइँमा जोतिए । मन चसक्क भयो । मुखबाट शब्द ननिस्किए पनि आँखाबाट आँसुका ताता गेडा निस्किएर भुइँतिर झर्न थाले ।

–‘रोएर सुख पाइन्छ ? मामाले झनै गिजोल्न थाले ।’

–भोलि दिन्छु भन्दै म घरतिर लागेँ ।

चस्का तीन
मेरो घरबाट एकघन्टा हिँडेपछि आफ्नै मामाघर पुगिन्थ्यो । नगरकोट जाने बाटोको घुमाउने नजिकै मेरो मामाघर छ । अहिले हामी मामाघर जानुपर्दा सुडालबाट मोटर चढेर भक्तपुर जान्छौँ अनि फेरि अर्को मोटर चढेर घुमाउने । त्यतिखेर मेरो गाउँ सुडालमा मोटर चल्दैनथ्यो । खासमा मोटर बाटो नै थिएन । चङ्गाले ल्याएको समस्याको समाधान गरिदिने पहिलो व्यक्तिका रूपमा मैले वासु मामालाई सम्झिएँ । वासु मामा अर्थात् वासुदेव काफ्ले । मेरा कान्छा मामा । उमेरले मभन्दा २ वर्ष जेठा । मेरा लागि उहाँ सबै चीज हुनुहुन्थ्यो । उहाँ मामा मात्रै नभएर मेरो दुःखसुखको साथी र पीडा बिसाउने चौतारी पनि हुनुहुन्थ्यो । उहाँ सानै उमेरदेखि पाको हुनुहुन्थ्यो । चिटिक्क परेका राम्रा अक्षर लेख्नुहुन्थ्यो । उहाँको सिको गर्दा मैले राम्रा अक्षर लेख्न जानेको हुँ । पढ्न हौसला दिने, सम्झाउने बुझाउने पनि गर्नुहुन्थ्यो । आफूले केही किन्दा यो भान्जालाई पनि चाहिन्छ भनेर मामाघरको हजुरआमालाई किन्न लगाउनुहुन्थ्यो । उहाँकै कारणले स्कुल पढ्ने बेलामा कलमकापीको कहिल्यै दुःख भएन । उहाँलाई सानैदेखि जिन्दगीमा एउटा मात्रै गुनासो थियो । उहाँले आफ्ना बाको अनुहार देख्नु पाउनु भएको थिएन । उहाँ जन्मिएको २२ दिनमा मामाघरका हजुरबा बित्नुभएको रे । त्यतिखेर फोटो खिच्ने पहुँच पनि सबै मानिससित थिएन शायद । हजुरबाको एउटा फोटोसम्म पनि थिएन मामाघरमा । ‘हेर भान्जा मैले फोटोमा पनि बाको अनुहार देख्न पाइनँ । त्यसैले सकेसम्म धेरै फोटो खिच्नुपर्छ ।’ बेलाबेलामा यसो भन्नुहुन्थ्यो । सानोमा उहाँ धेरै गम्भीर प्रकृतिको हुनुहुन्थ्यो । व्यक्तिगत रूपमा मलाई असाध्यै माया गर्नुहुन्थ्यो ।

त्यतिखेर फोटो खिच्ने पहुँच पनि सबै मानिससित थिएन शायद । हजुरबाको एउटा फोटोसम्म पनि थिएन मामाघरमा । ‘हेर भान्जा मैले फोटोमा पनि बाको अनुहार देख्न पाइनँ । त्यसैले सकेसम्म धेरै फोटो खिच्नुपर्छ ।’ बेलाबेलामा यसो भन्नुहुन्थ्यो ।

चङ्गा अड्किएको रनाहमा म घर आएर आमासित मामाघर जाने अनुमति मागेँ । आमाले बालाई देखाउनुभयो । बाले हजुरबा हजुरआमालाई । भोलि आउँदाखेरि भक्तपुरबाट आउनु र तमाखु किनेर ल्याउनु भनी हजुरबाले जाने अनुमति दिनुभयो ।

मामाघर पुगेपछि देखेँ बासुमामाको हात भाँचिएको रहेछ । हातमा प्लास्टर गरिएको थियो । निन्याउरो र माया लाग्दो अनुहार थियो । मामा आफैँ समस्यामा हुनुहुन्थ्यो । बेलुका ठूलो मामाले भन्नुभयो– ‘हेर भान्जा बासेले चङ्गा उडाउँदा हात भाँच्यो । तिमी पनि विचार गर है ।’ उता बासुमामा प्रतिवाद गर्नुहुन्थ्यो –‘चङ्गा उडाउँदा होइन ब्यारे । त्यत्तिकै लडेर भाँच्चिएको ।’ हात मामाको भाँचिएको थियो तर दुखाइको चस्का भने मेरो मुटुमा पुगेको थियो ।

:89 Views

Leave a Reply