२ दिन त धागोमा माड लगाएरै बित्थ्यो

म चङ्गा उडाउन एकदमै मन पराउने मान्छे हुँ । दशैँमा प्रायजसो मेरो छुट्टी भइरहेको हुन्छ । दशैँमा प्राय मानिसहरू आ–आफ्नो घरमा व्यस्त भइरहेका हुन्छन् । म भने चङ्गा नै खेल्ने गर्छु । नुवाकोटको त्रिशुलीमा हुर्केको मान्छे म । सानो छँदा पनि चङ्गा खेल्न एकदमै मन पथ्र्यो र अहिले पनि मन पर्छ । मैले पोहोर साल पनि दशैँमा चङ्गा उडाएँ र यो वर्ष पनि उडाउँछु ।

चङ्गा उडाउन कक्षा ५ पढ्दादेखि सुरु गरेकी थिएँ । त्यति बेला अहिलेको जस्तो धारिलो धागो पाइँदैनथ्यो । धागो धारिलो बनाउन माड किनेर, भात उमालेर, धारिलो चिजहरू सिसा पिँधेर माड बनाउथ्यौँ । त्यसलाई डल्लो धागोमा दल्थ्यौँ । २ दिन त धागोमा माड लगाएर नै बित्थ्यो । त्यसपछि त्यसलाई घाममा सुकाउँथ्यौँ । अरुको चङ्गाको धागो चुडाल्नको लागि भनेर नै यति मिहिनेत गथ्र्यौँ । ती काम हामीलाई हामीभन्दा जान्ने र अनुभवी दाइहरूले सिकाउनु भएको थियो ।

त्यो समयमा धागो मात्र होइन, चङ्गा पनि अहिलेको जस्तो किन्न पाइँदैनथ्यो । किन्न पाए पनि पहुँच सहज नहुने । त्यसैले हामीले आफै चङ्गा बनाउँथ्यौँ । साना बाँसहरू, सादा र रंगीन कागज जम्मा गरेर भातको माडले त्यसलाई टाँसेर पुच्छर हालेर हामी आफै चङ्गा बनाउँथ्यौँ । लट्टाई र धागो चाहिँ किन्न त पाइन्थ्यो तर गार्हो हुन्थ्यो ।

त्रिशुलीमा हुँदाको रमाइलो छुट्टै थियो । हामी गाउँका सबै साथीहरू भेला भएर डाँडाको खुल्ला चौरमा गएर चङ्गा उडाउथ्यौँ । बच्चाबेलाको चङ्गा उडाउनुको रमाइलो पनि छुट्टै थियो । पिङ् खेल्दै गरेको हेरेर चङ्गा उडाउँदाको आनन्द पनि बेग्लै थियो ।

चेट गएको चङ्गा लिन दगुर्दा मेरो पनि एकपटक दशैँको कपडा नै च्यातिएको थियो । हामी त्यो चङ्गामा यति मग्न हुन्थ्यौँ कि त्यति बेला दशैँको नयाँ कपडा च्यातिएको पनि थाहा हुँदैनथ्यो ।

चङ्गा उडाउँदा मात्र होइन त्यो चङ्गाको धागो काटिएर लट्टाईबाट छुट्दा पनि हामी रमाइलो मान्थ्यौँ । चङ्गा उडाउँदा उडाउँदा कसको चङ्गा चेट होला भन्ने पर्खाइ पनि हुन्थ्यो । त्यो चुँडेको चङ्गा लिन जाने प्रतिस्पर्धा नै हुन्थ्यो । हामी आकाशतर्फ उडेको चङ्गा मात्र हेरेर दगुर्दै अगाडि बढ्थ्यौँ । आफ्ना अगाडि र भुइमा के छ भन्ने कुरामा हाम्रो ध्यान नै जाँदैनथ्यो । त्यहाँ धेरै झाडीहरू हुन्थे । तर हामीलाई त्यसको मतलब नै हुँदैनथ्यो । हामी चङ्गा लिन दर्गुदा दर्गुदा दशैँको लुगा नै च्यातिएको थियो । चेट गएको चङ्गा लिन दगुर्दा मेरो पनि एकपटक दशैँको कपडा नै च्यातिएको थियो । हामी त्यो चङ्गामा यति मग्न हुन्थ्यौँ कि त्यति बेला दशैँको कपडा च्यातिएको पनि थाहा हुँदैनथ्यो । त्यो कुरा अहिले पनि याद आउँछ ।

४८ सालमा काठमाडौ आएपछि भने यहाँ केही फरक पाएँ । मानिसहरू आफ्नो आफ्नो छतमा बसेर चङ्गा उडाउने रहेछन् । यहाँ आएपछि मैले पनि कौशीबाटै चङ्गा उडाउन थालेँ । अहिले पनि बजारबाट किनेर सजिलै उडाउन सकिन्छ । तर पनि गाउँमा हामी अग्ला डाँडामा साथीसँग बसेर चङ्गा उडाउँदाको बाल्यकाल नै रमाइलो लाग्छ ।

:111 Views

Leave a Reply