किन उडाइन्छ चङ्गा ?

हरेक वर्ष नेपालीहरूको महान् चाड दशैँ अर्थात् मोहनीको आगमनको संकेत गर्दै निलो आकाशमा रंङ्गीबिरङ्गी चङ्गाहरू उडिरहेका हुन्छन् । दशैँताका आकाशमा यसरी चङ्गाहरू देखिनु नेपाली समाजको एउटा पुरानो परम्परा पनि हो । हाम्रो धर्म संस्कृतिमा वर्षभरिको लागि खेतको धानको बाला लहलहाइरहेको बेलामा आकाशमा चङ्गाहरू देख्न पाउनु तत्कालीन समयको एउटा विशेषता नै हो ।

हिजो खेतहरू बाँझो नै रहँदा वर्षभरि के खाने के लाउने पीर थियो । समयमै पानी नपर्दा खेती गर्नबाट बन्चित हुने पीरले वर्षाका देवता इन्द्रको नाममा जात्राहरू मनाइए । पानीको श्रोत नागको जात्रा मनाइयो । मरी मरीकन पनि गरिने काम रोपाइँ अर्थात् सिन्हाज्या गरियो । रोपाईको लागि मद्दत गर्ने भ्यागुतालाई पनि पूजा गरियो । अब जब शरद ऋतुुको आगमन भयो आफूले हिजो रोपेको धानका बिऊ लहराउने भयो । हरेकको मनमा अब त भोकै हुँदैन भन्ने आश पलायो । यो आशमा जब अलि अलि खुशी थप्छ, तब हरेकले आफ्नो मन चङ्गा झैँ प्रफुल्ल भएको अवसरमा साँच्चीकै चङ्गा उडाएको हुन्छ ।

नेपाल प्राचीन कालदेखि नै कृषि प्रधान देश भएको नाताले कृषिसँगै यसरी नै चङ्गाको सम्बन्ध जोडिँदै आएको छ । विशेषगरि शरद ऋतुको आगमनसँगै चङ्गा उडाउने याम शुरु हुन्छ । दशैँको आसपासमा नै बढी चङ्गा उडाउने चलन छ । आकाशमा चङ्गा उडेको देखेपछि नेपाली समाजले दशैँको अनुभूति गर्छ ।

हिजो खेतीको लागि जसरी पानीको आवश्यकता पर्दा इन्द्र देवतालाई स्मरणगरी पूजाआजा गरिन्थ्यो त्यसरी नै शरद ऋतुको आगमनको समयमा पनि एक प्रकारको मनसुन भइरहेको हुन्छ । यसलाई यहाँ नेपाल भाषामा ‘यन्या झरि’ भन्ने चलन छ । अलि अलि झरि वा मनसुन (वर्षा) खेतको लागि आवश्यक भएता पनि लामो वर्षाले बालीनाली लडाउने, धान झर्ने आदि हुन्छ । यस्तो बेलामा अब पानीको आवश्यकता छैन भन्ने सन्देश स्वर्गका राजा इन्द्रसम्म पु¥याउन हाम्रा पुर्खाहरूले लामो धागोमा चङ्गा बाँधी आकाशतर्फ उडाएको नै आजको चङ्गा उडाउने चलन हो भन्ने मान्यता छ ।

त्यस्तै अर्को एउटा मान्यता के छ भने हिजो खेती कार्यको लागि आवश्यक पानी पार्ने इन्द्रको सम्मानमा भाद्र महिनामा नै इन्द्रको नाममा इन्द्रजात्रा मनाउने चलन बन्यो । तर यो कुराको बिरोधमा भगवान कृष्णले मानिसले आफ्नो काममा विश्वास गरे मात्र जुनसुकै काम पनि सफल हुन्छ भने । उनले बढी आध्यात्मिक नहुनु भन्दै गोवद्र्धन पूजाको लागि आव्हान गरेका थिए । यसबाट स्वर्गका राजा इन्द्र रुष्ठ भइ घनघोर वर्षा, हावाहुरी, असिना बर्साएछन् । त्यसबेला मानिसले चङ्गामार्फत इन्द्रको दमनको सामना गरे भन्ने किम्बदन्ती छ । तसर्थ आकाशमा चङ्गा उडाउँदा एक आपसमा चङ्गा जुधाउनुलाई यही भगवान इन्द्र र भगवान कृष्णका समर्थकहरूको लडाइको प्रतीक मानिन्छ । यसमा कृष्णको जीत हुन्छ भने इन्द्रको हार । तसर्थ चङ्गा उडायो भने पानी पर्ने रोकिन्छ भन्ने मान्यता आज पनि छ ।

राम्रो खालको चङ्गा, बलियो धागो, धागो बलियो बनाउने प्रविधि, राम्रो लट्टाई यसका ध्यान दिनुपर्ने पक्ष हुन् । त्यस बाहेक चङ्गालाई आकर्षक बनाउन त्यसमा उपयोग गर्ने पुच्छर पनि अर्को एउटा महत्वपूर्ण पक्ष हो । चङ्गामा बकुल्ला हाल्ने चलनले पनि यसको प्राविधिक पक्षको जानकारी दिन्छ । चङ्गामा धागो बाँड्ने त अझ महत्वपूर्ण प्राविधिक कुरा हो ।

नेपाली समाजमा चङ्गा उडाउने एउटा शौख तथा परम्परागत खेलको रूपमा विकास भएको पाइन्छ । चङ्गा उडाउने तथा उडाएको हेर्न विशेषगरी केटाहरू लागेको हुन्छ । चङ्गा उडाउने काममा युवा वर्गको ठूलो भूमिका हुन्छ । युवाहरूले चङ्गा उडाउन धेरै मिहिनेत गरेका हुन्छन् । राम्रो खालको चङ्गा, बलियो धागो, धागो बलियो बनाउने प्रविधि, राम्रो लट्टाई यसका ध्यान दिनुपर्ने पक्ष हुन् । त्यस बाहेक चङ्गालाई आकर्षक बनाउन त्यसमा उपयोग गर्ने पुच्छर पनि अर्को एउटा महत्वपूर्ण पक्ष हो । चङ्गामा बकुल्ला हाल्ने चलनले पनि यसको प्राविधिक पक्षको जानकारी दिन्छ । चङ्गामा धागो बाँड्ने त अझ महत्वपूर्ण प्राविधिक कुरा हो । त्यसो त मानव जगतमै सर्वप्रथम चङ्गा उडाउने कला कौशल हाम्रो छिमेकी देश चीनबाट आएको मानिन्छ । त्यहाँ इसापूर्व २०० वर्ष अगाडि नै चङ्गा उडाउने चलन भएको इतिहास छ । चीनमा चङ्गालाई युद्धसँग जोडेर लिने गर्छ । युद्धको समयमा एक अर्काबीच सन्देश आदान प्रदान गर्ने एउटा गतिलो माध्यम चङ्गालाई उपयोग गर्ने प्रथा छ । चीन लगायत जापान, कम्बोडिया, इन्डोनेशिया लगायतका दक्षिण पूर्वी एसियाका चङ्गा उडाउने चलन पछि युरोपसम्म पनि पुग्यो । नेपालमा छिमेकी देश चीन र भारतको प्रभावले नै चङ्गा उडाउने चलन आयो ।

काठमाडौँ उपत्यकामा नागपञ्चमीदेखि हरिबोधिनी एकादशीसम्म चङ्गा उडाउने गरिन्छ । कृषिकार्यका लागि पर्याप्त पानी नपुग्दै कसैले चङ्गा उडायो भने उपत्यकाका कृषकहरू रिसाउने गर्थे भनिन्छ । ‘धानका लागि पानी पुगेकै छैन किन चङ्गा उडाएको’ भन्दै अभिभावकहरू आफ्ना बच्चालाई हप्काउँथे । त्यसैले चङ्गा उडानसँग हाम्रो कृषिकर्म पनि जोडिएको पाइन्छ । परम्परागत र रीतिथितिहरू अनुसार भगवानले जमिनलाई राम्रो बाली र मान्य मौसमको आशीर्वाद दिऊन् भनेर उनीहरूलाई प्रशन्न बनाउन पनि चङ्गा उडाउने गरेको भनाई छ । त्यस्तै रावणको क्रुरताको अन्त्य गर्ने भगवान रामको महान कामको बारेमा जानकारी दिँदै रगींन चङ्गा सन्देशको रूपमा पठाइएको भन्ने मान्यता पनि छ ।

:278 Views

Leave a Reply