दशैँ तिहारको बिदामा छोराछोरी कसरी सम्हाल्ने?

दशैँ तिहार हिन्दुहरूको महान चाड हो । यसबेला विद्यालयमा लामो बिदा हुन्छ । केही विद्यालयले दशैँ सुरु भएदेखि तिहारसम्म विद्यालय बिदा गरेका हुन्छन् भने केही विद्यालयले दशैँ र तिहारको बिचमा विद्यालय सञ्चालन गर्छन् । बिदाले विद्यार्थी र अभिभावकको दैनिक समयतालिकामा प्रभाव पार्छ । अन्य समयमा दिनभरि विद्यालयको भरोसामा छोडिएका आफ्ना सन्तानलाई लामो बिदाभरि कसरी सम्हाल्ने होला भन्ने चिन्ताले सताएको हुन्छ । केही अभिभावक त विद्यालयले यति लामो बिदा किन दिएको होला भनेर झर्को पनि मानिरहेका हुन्छन् । बच्चाहरूको दिनचर्यामा परिवर्तन आएपछि उनीहरूलाई पनि कठिनाई हुनु स्वाभाविक हो । तर कसैकसैलाई भने गम्भीर प्रभावहरू पनि पर्न सक्छ । केही अभिभावकले बच्चालाई राम्रोसँग ध्यान नदिँदा विभिन्न दुर्घटना पनि निम्त्याउन सक्छ । बच्चाको लागि यो बिदा विशेष बनाउने अभिभावकको कोशिस हुनु पर्छ । दशैँतिहारको यो बिदा आफ्नो बालबालिकाको लागि कसरी उपयोगी बनाउने होला भनेर अभिभावकहरूले सोच्नुपर्ने हुन्छ ।

बिदामा बच्चा हेर्न अभिभावकका लागि सहयोगी उपायहरूः

योजना बनाउने
बच्चाको समय र गतिविधिमा परिवर्तन आएपछि उनीहरूको व्यवहारमा पनि परिवर्तन आउन सक्छ । त्यसैले उनीहरूलाई यो बिदामा के के गराउने भनेर योजना बनाउनुपर्छ । बच्चाको आवश्यकता र चाहना अनुरुपको योजना बनाई उनीहरूको लागि उपयोगी बिदा बनाउन सक्नुपर्छ । योजनामा कहिले कोसँग कहाँ घुम्न जाने, सामान किन्न कहिले जाने, कुन दिन के गर्ने जस्ता विषय पर्न सक्छन् । तपाईले बिदामा योजना बनाउनुभयो भने यसले बच्चाको आवश्यकतालाई जानेर त्यसलाई पूरा गर्न के के कुरा चाहिन्छ भन्ने कुरा थाहा पाउन मद्दत गर्छ ।

बालबालिकालाई समय दिने
बिदाका समयमा पनि केही अभिभावक आफूलाई मनपर्ने खेल खेलेर या अन्य काममा व्यस्त देखिन्छन् । अन्य समयमा आफ्नो कामको व्यस्तताका कारण बालबालिकालाई प्रर्याप्त समय दिन नसकेकोमा यस बिदामा आफ्ना बच्चालाई समय दिएर उसका कुरा सुन्ने र बुझ्ने कोशिस गर्नुपर्छ । अभिभावकले आफ्ना बच्चाको लागि गुणस्तरीय समय कसरी दिन सक्छु भनेर ख्याल गर्नुपर्छ ।

आफ्नो व्यवहारमा ख्याल गर्ने
यो बिदामा बालबालिका अभिभावकसँग नै धेरै समय बिताउने भएकाले उनीहरूको अगाडि कस्तो व्यवहार गर्ने भनेर ख्याल गर्नुपर्छ ।

गृहकार्यमा सहयोग गर्ने
बिदामा गृहकार्य दिनुहुँदैन भनिरहँदा पनि धेरै विद्यालयले दशैँ र तिहार बिदाका लागि गृहकार्य दिएका हुन्छन् । बच्चालाई गृहकार्य कहिले गर्ने भन्ने समस्या हुन्छ । त्यसैले अभिभावकले बच्चाको गृहकार्य के के छन् भनि बुझेर त्यो गृहकार्य गर्ने समय छुट्याइदिन सक्छन् ।

संस्कार सिकाउने
दशैँ बिदा लामो बिदा र अभिभावकको पनि बिदा हुने भएकाले यो समयको सहि उपयोग गरेर बालबालिकालाई संस्कार सिकाउन सकिन्छ । ठूला व्यक्तिदेखि साना व्यक्तिसँग गरिने व्यवहार र पूजामा पनि उनीहरूलाई संलग्न गराउन सकिन्छ ।

बिहान आफूसँगै मन्दिर लैजाने
यदि हामी यो दशैँ तिहारको बिदामा मन्दिर जान्छौँ भने आफूसँगै आफ्नो बच्चालाई पनि साथमा लान सक्छौँ । यसले गर्दा बच्चासँगसँगै आफूले धेरै समय बिताउन सकिन्छ र बच्चाले आफूलाई पनि प्राथमिकता दिएको महशुस गर्छ ।

बच्चाका समस्याका बारेमा सोध्ने
आफ्नो बच्चाको विषयमा, उसको दृष्टिकोण, उसका समस्याका बारेमा बुझ्नको लागि उपयुक्त समय भनेकै यो लामो बिदा हो । बिदामा बच्चाहरूसँग बसेर उनीहरूको चाहना र सोचका बारेमा बुझ्न सकिन्छ ।

आफ्नो बच्चाहरूको स्वभाव स्वीकार्ने
सबै बालबालिका एकै स्वभावका हुँदैनन् । केहीलाई कुनै विषयमा रुचि हुन्छ भने केहीलाई अर्को विषयमा । केही बच्चा बिदामा भीडभाडबाट एकान्त ठाउँमा जान चाहेका हुन्छन् भने केही बच्चाले आफूलाई एक्लो महशुस गरिरहेका हुन्छन् । त्यस्तो एक्लो महशुस गरिरहेका बच्चालाई आफन्तकोमा लगेर घुलमिल गराउन सकिन्छ । उसको बच्चा यस्तो छ मेरो यस्तो भनेर तुलना गर्नुभन्दा आफ्ना बच्चाको स्वभाव स्वीकार गर्नुपर्छ ।

आफ्नो बच्चासँगै काम गर्ने\घरायसी काममा सघाउन लगाउने
हामीले बच्चालाई तिमी यो गर्न सक्दैनौ, त्यो गर्न सक्दैनौ भनेर विभिन्न कुरामा रोक लगाउने गरेका छौँ । तर हामीले त्यस्तो गर्दा उनीहरू हामीबाट टाढा हुने र निराश हुने गर्दछन् । त्यसैले बच्चाले गर्न सक्ने घरायसी काममा उनीहरूलाई संलग्न गराउनुपर्छ ।

आफन्तसँग घुलमिल गर्न सहयोग गर्ने
सबै बच्चा सबैसँग सजिलै घुलमिल हुन सक्छन् भन्ने हुँदैन । कोही बच्चा आफन्तको वरिपरि बस्न लजाउने पनि हुन सक्छन् । उनीहरूलाई पारिवारिक जमघटमा सहज बनाउन अभिभावकले आश्वासन दिनु आवश्यक पर्छ ।

बच्चाको सन्दर्भमा आफ्नो अपेक्षामा सचेत रहने
बिदाका समयमा अभिभावकले आफ्ना बच्चाको क्षमताभन्दा बढिको व्यवहारको अपेक्षा गर्छन् र त्यो पूरा नहुदाँ उनीहरू निराश हुने गर्छन् । जस्तैः दुई वर्षको बच्चा बिदामा खाना खाँदा या भनौँ आफन्तका टिका लगाउन जाँदा चुपचाप बस्छ भनेर अपेक्षा गरिनु गलत हुन सक्छ ।

प्रविधिको सहि प्रयोग गर्न सिकाउने
अहिले बालबालिकालाई प्रविधिको प्रयोग नगर भन्दा उनीहरू मानिरहेका हुँदैनन् । उनीहरूलाई प्रविधि प्रयोग नगर भन्नुभन्दा पनि त्यो प्रविधिको सहि प्रयोगको बारेमा सिकाउनुपर्छ । हामी बालबालिकालाई टेलिभिजन नहेर भन्ने गर्छौँ । तर यो बिदामा उनीहरूले भनेका चलचित्र या कार्टुनहरू उनीहरूसँगै बसेर हेर्न सक्छौँ । यसरी उनीहरू पनि खुसी हुन्छन् र हामी पनि उनीहरूसँग समय बिताएर उनीहरूलाई आफ्नोपनको अनुभूति दिलाउन सक्छौँ ।

:563 Views

Leave a Reply