एकै विद्यालयमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म

सबिना बानियाँ
एउटा कोठामा एक समूहका विद्यार्थीहरूको हुलबाट एक जना व्यक्तिको आवाज आउँछ । ‘हेर साथीहरू हामी सबै जना एकै हौँ । कसैले पनि कसैलाई भेदभाव गर्ने, तल देखाउने गर्नुहुँदैन । हामी ज्ञानी विद्यार्थी हुनुपर्छ । कसैसँग पनि झगडा गर्नु हुँदैन ।’ त्यो आवाज एक आम विद्यार्थीको होइन । त्यो आवाज थियो विद्यालयका गुनासो सुनुवाई मन्त्री मनोज शाहीको । उनले साथीहरूबीचमा उत्पन्न हुन सक्ने मनमुटाव र त्यसले निम्त्याउन सक्ने समस्याबारे बुझाउँदै थिए । कसैले पनि कसैलाई भेदभाव गर्न नहुने भनेर बुझाउँदै थिए । विद्यालयमा विद्यार्थीका गुनासा उनी सामु नै पुग्छन् । सुन्दा अचम्म लाग्न सक्छ । विद्यार्थीका गुनासा विद्यार्थीमै । गुनासाहरू शिक्षकसम्म पुग्नुको सट्टामा विद्यालयकै विद्यार्थी अर्थात् गुनासो मन्त्रीका पुग्छ । उनैले तिनको छानविन र समस्या समाधान पनि गर्छन् गुनासो सुनुवाइ मन्त्रालयमा । कुनै जटिल समस्या आएमा मात्र शिक्षकसम्म पुर्याउने गर्छन् ।

विद्यालयमा उनी एक मात्र मन्त्री भने होइनन् । उनीजस्ता अन्य आठजना मन्त्रीहरू पनि छन् । त्यस्तै एक प्रधानमन्त्री । ती सबै विद्यार्थी नै हुन् । विद्यालयको आवश्यकताअनुसार एसेम्ब्ली, बालबालिका, कम्प्युटर प्रविधि तथा पुस्तकालय, जङ्कफुड नियन्त्रण, खानेपानी तथा सरसफाई, सदनात्मक मन्त्रालय र खेल तथा अतिरिक्त क्रियाकलाप मन्त्रालय गरी विभिन्न आठ मन्त्रालयको स्थापना गरिएको हो । यसरी विद्यार्थीहरूबाटै विद्यार्थीको लागि मन्त्री परिषद्को संरचना बनाइएको हो ।

मन्त्री परिषद्को यो संरचनाको अभ्यास गरिरहने विद्यालय हो, कालिकोटको खाँडचक्रस्थित महादेव आधारभूत विद्यालय । विद्यालयले बालमैत्री विद्यालय निर्माणको लागि विद्यार्थीद्वारा मन्त्री परिषद्को अभ्यास गरिरहेको बताइएको छ । कक्षा ५ देखि ८ सम्म एक छात्र र एक छात्रा गरि समावेशी रूपमा नेतृत्व छनोट गरिएको हो । यसको समयअवधि १ वर्षको हुन्छ ।

विद्यालयकी प्रधानाध्यापक नन्दाकुमारी शाही भन्छिन्, ‘बालबालिकाको रुचि, आवश्यकता, क्षमता, परिवेश तथा विकासक्रम, विशेषता र सहभागितालाई ध्यानमा राखी उनीहरूको सिकाइको लागि आवश्यक वातावरण मिलाउन यस परिषद्को निर्माण गरिएको हो । यस प्रक्रियामा बालबालिकालाई केन्द्रविन्दु मानेर एकीकृत सिकाइका लागि क्रियाकलापको माध्यमबाट उच्च सिकाइ उपलब्धि हासिल गर्ने हेतुले कक्षा १ देखि ८ सम्मका बालबालिकाको भेला गराई कक्षा ५ देखि ८ सम्मका प्रत्येक कक्षाबाट समावेशिताको रूपमा मन्त्री परिषद्का प्रधानमन्त्री तथा मन्त्रीको छनोट गरिएको हो ।’

विद्यार्थीलाई कामको बाडँफाड गरेर उनीहरूलाई फरक फरक जिम्मेवारी दिँदा उनीहरूले नयाँ कुरा सिक्ने अवसर पाएको बताउँदै उनी भन्छिन्, ‘पहिला जे कुरामा पनि शिक्षकमा भर पर्ने विद्यार्थी अहिले आफै सबै कार्यक्रमहरू आयोजना गर्ने गर्छन् ।

अहिले विद्यार्थीका समस्या विद्यार्थीबीच नै समाधान हुने गरेको छ । र विद्यार्थीका समस्या विद्यार्थीले नै समाधान गर्दा प्रभावकारी पनि हुने रहेछ । यसको निर्माणले विद्यार्थीबीच एकआपसमा सहयोगको भावनाको विकास भएको देखिन्छ ।’ यसले विद्यार्थीबीच परामर्श पनि हुने गर्छ । विद्यार्थीहरू बीचमै सबै कार्य हुने भएकाले उनीहरूबीच समन्वय पनि छिटो हुने गरेको छ । साथै नेतृत्वमा रहेका विद्यार्थीको नेतृत्व क्षमतामा सहयोग पुर्याएको छ । पहिला केही कुरा बोल्दा डराउने विद्यार्थी नेतृत्वमा गएपछि सजिलै आफ्ना कुराहरू राखेर अरुलाई सुझाव दिने भएका छन् ।’

मन्त्री परिषद्ले विद्यार्थीलाई जंक फुड ल्याउनमा निगरानी गरेको हुँदा यसको प्रयोगमा कमी आएको औल्याउँदै उनी भन्छिन्, ‘पहिला अतिरिक्त क्रियाकलापमा सहभागी नहुने बच्चा पनि अहिले उनीहरूबाटै सञ्चालन भएका अतिरिक्त क्रियाकलापमा सक्रिय र अग्रसर देखिएका छन् । टाइ–पेटी नलगाउने विद्यार्थी विद्यार्थीबाट नै नियमित परीक्षण गरिँदा विद्यालय पोशाकमा आउन थालेका छन् । चर्पी गएपछि हात धुनुपर्छ भन्ने ज्ञान पहिलैबाट थाहा भएको भएता पनि अहिले उनीहरू त्यसलाई व्यवहारमा उतार्न थालेका छन् । विद्यार्थीहरूद्वारा निर्माण वा गठन गरिएको मन्त्री परिषद्ले विद्यालयको समग्र पक्षहरूको व्यवस्थापन गर्नुका साथै बालमैत्री विद्यालय निर्माणको आधारशिला बनेको पाइयो ।’ मन्त्री परिषद्को व्यवस्थाले गर्दा विद्यालय सञ्चालन र व्यवस्थापनमा पनि सहज भएकोले यसको निर्माण गरेर कार्यान्वयन सबै विद्यालयमा गर्नुपर्ने उनको सुझाव छ ।

मन्त्री परिषद्का संयोजक तथा गणित शिक्षक टोपेन्द्रबहादुर बमले दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनमा आफ्नो विद्यालयको प्रतिनिधित्व गरेर आफ्नो विद्यालयको यसै अभ्यासबारे प्रस्तुत गरेका थिए । उनले विद्यार्थी आफैले कार्यक्रमको सञ्चालन गर्दा उनीहरूमा आत्मविश्वास र आत्मनिर्भरता बढेको बताए । ‘हाम्रो देशमा राजनैतिक अस्तव्यस्तता छ । गलत तरिकाले राजनीति भइरहेको छ । मन्त्री परिषद्को अभ्यासले अहिलेदखि नै बच्चाहरूले एक किसिमबाट राजनीतिक ज्ञान र अभ्यास गर्न पाउँछन् । साथै बालबालिकामा भएको क्षमता पनि प्रस्फुटन हुन पाउँछ ।’
उनले भने ।

प्रधानमन्त्रीको काम
प्रधानमन्त्रीले मन्त्रीको कार्य विभाजन र अनुगमन गर्ने, उनीहरूको सहभागितामा विभिन्न मन्त्रालय वा विभागको कार्ययोजना तथा नीति निर्माण गरी कार्यान्वयन गर्न समग्र विद्यालय परिवारसँग सहकार्य, सहयोग र समन्वय गर्ने गर्दछ ।

एसेम्ब्ली मन्त्री
विद्यालय सञ्चालन भएको दिनमा बिहानको पिटी, परेडको समयमा विद्यार्थीहरू ठिक समयमा आए नआएको, विद्यालय पोसाक, टाई, बेल्ट, जुत्ता प्रयोग गरे नगरेको अनुगमन र मूल्याङ्कन गर्ने तथा एसएमब्ली समयलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने काम एसएमब्ली मन्त्रीले गर्ने गर्दछ ।

बालबालिका मन्त्री
बालबालिका मन्त्रीले बालबालिकाको अधिकारको बारेमा स्पष्ट पार्ने, बालअधिकारको प्रयोग गर्ने र बालअधिकारको प्रत्याभूति गर्न विभिन्न खालका कार्यक्रमहरूको सिर्जना गर्ने र विद्यालयस्तरीय ‘बालक्लब’ गठन गर्ने गर्छ ।

जङ्कफुड नियन्त्रण मन्त्री
यस मन्त्रालयले ‘स्वच्छ र ताजा खानेकुरा खाऔँ, स्वच्छ जीवन बिताऔँ’ भन्ने नाराका साथ काम गरिरहेको छ । जङ्कफुड नियन्त्रण मन्त्रीले प्लाष्टिकजन्य र स्वास्थ्यलाई हानीकारक खानेकुरा पूर्ण रूपमा निषेध गर्ने र स्थानीय स्तरमा उत्पादित अर्गानिक खाने कुरालाई महत्व दिने खालका आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने गर्छन् ।

खेलकुद तथा अतिरिक्त क्रियाकलाप मन्त्री
खेलकुद र अतिरिक्त क्रियाकलाप मन्त्रीले साप्ताहिक रूपमा शुक्रबारका दिन कुन खेल तथा क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने कुराको मन्त्री परिषद्सँग बसेर निर्णय गर्ने गर्छ । यस क्रियाकलापले विद्यालयको वार्षिक कार्यतालिकालाई पनि सहयोग पु¥याउँछ ।

कम्प्युटर प्रविधि तथा पुस्तकालय मन्त्री
यस मन्त्रालयको उद्देश्य विद्यालयमा रहेका प्रविधिको प्रयोग गरी सिकाइलाई सहज र छिटो पार्ने हो । कम्प्युटर प्रविधि तथा पुस्तकालय मन्त्रीले पुस्तकालयको पुस्तकलाई विद्यार्थीहरूको माझमा पुर्याउन तथा आवश्यकताअनुसार वितरण प्रणालीलाई व्यवस्थित गर्न ‘पुस्तकालय क्लब’ को गठन गर्ने गर्छ ।

 

सदनात्मक मन्त्री
विद्यार्थीको नेतृत्व क्षमताको विकास गर्न व्यक्तिमा अन्तरनीहित प्रतिभाको प्रस्फुटन गर्न, आपसमा प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि सम्पूर्ण विद्यार्थीहरूलाई विभिन्न सदनमा विभाजन गरी सदनहरू निर्माण गर्ने काम सदनात्मक मन्त्रीको हो । विद्यालयमा रारा, चुलिमालिका, चङ्खेली र पतालझरना गरेर चार सदन निर्माण गरिएको छ ।

 

मनोज शाही
मन्त्री, गुनासो सुनुवाई मन्त्रालय
कक्षा ७
विद्यालयमा कुनै पनि विद्यार्थीका गुनासो मसम्म आइपुग्छ । ती सबै समस्यालाई एकीकृत रूपमा संकलन गरेर समाधान पनि गर्छु । मैले सबै समस्यालाई समाधान गर्ने हुँदा विद्यार्थीहरू सहजै आफ्ना गुनासाहरू राख्नुहुन्छ । धेरै जसो गुनासाहरू साथीहरूबीच भएका झगडा, भेदभावका विषयमा आउने गर्छ । आवश्यकता र समस्याको प्रकृतिअनुसार हप्ता वा महिनाको एकदिन गुनासो सुनुवाई कार्यक्रम आयोजना गर्ने गरेको छु । त्यसमा हामी मन्त्री परिषद्का सबै सदस्यको पनि सहभागीता हुन्छ ।

पहिला ममा पनि केही कमजोरी थियो । म पनि केही विषयमा झगडा गर्थेँ । अहिले म झगडा गर्दिनँ । अरुलाई दुख परेको बेला सहयोग गर्नुपर्ने, भेदभाव गर्न नहुने भन्ने कुरा मैले पनि सिकेँ र साथीहरूलाई पनि यही सिकाउँछु । विद्यालयको मन्त्री भएपछि आफू राम्रो हुनुपर्छ भन्ने भावना आउँदो रहेछ । र म आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छु ।

पहिला विद्यालयको एउटा सामान्य विद्यार्थी हुनुमा र अहिले विद्यालयको मन्त्री हुनुमा धेरै भिन्नता छ । पहिले सबैले मलाई एउटा विद्यार्थीको रूपमा मात्र हेर्थे भने अहिले मन्त्री हुँदा शिक्षक, साथी सबैले सहयोग र सम्मान गर्नुहुन्छ । बुवाआमाले पनि राम्रो काम गरिरहेको भन्दै प्रोत्साहन गर्नुहुन्छ । मेरो मिलनसार र स्पष्ट व्यवहारले पनि साथीभाई सबैले मलाई सहजै गुनासो सुनाउनुहुन्छ र म त्यसलाई समाधान पनि गरिदिन्छु ।

सञ्जु विष्ट
मन्त्री, खानेपानी तथा सरसफाई मन्त्रालय
कक्षा ७
पानी नै जीवन हो । सबै विद्यार्थीहरूले सरल र सहज रूपमा पानी पिउनको लागि “एक बोतल सफा र स्वच्छ पिउने पानी, झोलामा बोक्ने हाम्रो बानी” भन्ने नारालाई हामीले आत्मसात गरेका छौँ । विद्यार्थीले खानेपानीको बोतल ल्याएको छ कि छैन भनेर म जाँच गर्ने गर्छु । त्यति मात्र नभएर विद्यालयकै धारामा पनि पानी आएको छ कि छैन भनेर जाँच गर्ने गर्छु । पहिला धारामा पानी कहिलेकाहीँ आउँदैनथ्यो । तर अहिले खानेपानी मन्त्रालयको स्थापनापछि नियमित पानी आउँछ ।

विद्यालय वातावरण स्वच्छ राख्न कक्षाकोठा, खेलमैदान, धारा र शौचालय आदि सरसफाईको अवस्थाको बारेमा जानकारी राख्ने गर्छु । त्यस्तै विद्यार्थीको कपडा सफा भए– नभएको, मिले–नमिलेको हेर्ने काम मैले नै गर्छु । पहिला केही विद्यार्थी विद्यालय पोशाकमा आउनुहुँदैनथ्यो भने अहिले उहाँहरू विद्यालयको पूरा र सफा पोशाकमा आउनुहुन्छ ।

:197 Views

Leave a Reply