विद्यालयमा शिक्षकहरुको ‘भोगटे पार्टी’ !

ललितपुर । खुसीको अवसरमा कसैले चिया पसलमा त कसैले रेष्टुरेन्टमा, कसैले पार्टी प्यालेसमात कसैले होटेलमा चियादेखि विभिन्न परिकारका खानेकुराको पार्टी गर्ने गर्छन ।

तर आइतबार अपरान्ह ललितपुरको च्यासलस्थित सामुदायीक विद्यालय श्रमिक शान्ति माविका ५७ जना शिक्षकहरुको पार्टी भने असाध्यै मुखमा पानी रसाउने रमाइलो खालको थियो । केही शिक्षक शिक्षिका कक्षाकोठामा विद्यार्थी पढाउँदै थिए, त कक्षा नभएर खाली बसेका शिक्षक शिक्षिकाहरु शिक्षक कोठामा ३० वटा भोगटे र त्यतिनै सुन्तला छोडाएर ठुलो डेक्चीमा भर्दैै थिए ।  पारिलो घाम लाग्ने शिक्षक कोठामै उनीहरु दहि, चिनी, पिरो धुलो खुर्सानीमा साँधेर खाने ‘भोगटे पार्टी’ को तयारीको लागि भोगटे र सुन्तला छोडाउँदैै थिए । दिउँसोको खाजा खाने समयमा अरु खाजा नखाई विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकार सहित ५७ जना शिक्षक शिक्षिकाहरु लस्करै बसेर साँधेको भोगटे खाएर २०७६ सालको ‘भोगटे पार्टी’ भव्य तरीकाले मनाए ।

हरेक वर्षको तिहारपछिको फुर्सदिलो शुक्रबार विद्यालयमा भोगटे साँधेर सबै शिक्षक शिक्षिका मिलेर ‘भोगटे पार्टी’ गर्ने गरेको विद्यालयकी शिक्षिका शान्ति पौडेलले बताइन् । तर गएको शुक्रबार ठुलो एकादशी परेकोले धेरै शिक्षकहरुको समय भएन, त्यसैले भोगटे पार्टीको साइत आइतबार खाजा खाने समयमा जुराइएको थियो ।  सो विद्यालयमा तिहारपछिको कुनै शुक्रबार भोगटे पार्टी आयोजना गर्न थालिएको निकै वर्ष भएको शिक्षकहरु बताउँछन । ‘भोगटे पार्टी, श्रमिक शान्ति माविको लागि परम्परा जस्तै हुन लागिसक्यो’—प्रधानाध्यापक सानुलाल व्यञ्जनकार भन्छन । ‘जाडोको पारिलो घाममा भोगटे साँधेर खाँदा वेग्लै आनन्द आउने मात्रै नभई सबै शिक्षक शिक्षिकाहरु संगै बसेर खाँदाको आत्मियता झनै गाढा हुन्छ’—सहायक प्रधानाध्यापक पवन विक्रम कार्की रमाइलो पारामा भन्दै थिए ।

:171 Views

Leave a Reply