म एकान्तप्रेमी हुँ

लगभग अढाइ दशकअघि शिक्षण क्षेत्रमा होमिएका भक्तपुरको नगरकोट फेदीस्थित क्वालिटी इङ्लिस स्कुलका प्रधानाध्यापक गोविन्दबहादुर खड्का (जिबी खड्का) शिक्षा माटो सुहाउँदो, समय सान्दर्भिक र व्यावहारिक हुनुपर्ने बताउँछन् । २०३१ साल जेठ १२ गते चित्तपोलमा जन्मिएका उनले कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट प्राप्त गरे । त्यसपछिको शिक्षा उनले साँगाको महेन्द्र माविबाट हासिल गरे । त्यहीँबाट प्रवेशिका परीक्षा दिए । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी विद्यालयमा सामाजिक शिक्षा विषय पढाउँछन् । हाल नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष, इप्सनका अध्यक्ष, एम्नेष्टी इन्टरनेशनल समूह ५६ का संयोजक समेत रहेका उनी आफू एक्लै बस्न रुचाउने व्यक्ति भएको बताउँछन् । आफूलाई समयसँगसँगै चल्न सक्ने बनाउन कटिबद्ध जिबी खड्काको व्यक्तित्वको चर्चा उनको आफ्नै शब्द र शैलीमा प्रस्तुत छ ।

मैले पढाउन थालेको २३ वर्ष भयो । यो बीचमा धेरै संघसंस्थामा लागियो । शैक्षिक कार्यक्रम अन्तर्गत देश विदेश घुमियो । घुमाइको क्रममा धेरै कुरा देखियो र सिकियो पनि । विदेशको शिक्षा, शिक्षा दिने परम्परा सबै हेर्दा हामी धेरै पछाडि परेको महशुस गर्छु । भन्न त हामी प्रयोगात्मक शिक्षा आजको आवश्यकता भनिरहेका छौँ तर यथार्थमा हाम्रो शिक्षा त्यस्तो हुन सकेको छैन । हाम्रो त पाठ्यक्रम नै बोझिलो छ । असान्दर्भिक विषयवस्तुहरू हटाउन पर्छ भन्ने लाग्छ । नभए दिनको एउटा पाठ सिध्याउन पर्छ भन्ने ध्याउन्नमा विद्यार्थीलाई कहाँ बाहिर लान सक्नु, कहाँ प्रयोगात्मक कक्षा लिन सक्नु । त्यसैले पाठ्यक्रममा सुधार आवश्यक देख्छु । शिक्षकले पनि रमाइ रमाइ पढाउन सकोस् विद्यार्थीले खेली खेली पढ्न सकून् ।

अरुबेला एक्लै बस्न पाए खुशी लाग्ने भएपनि स्कुलमा गइसकेपछि म विद्यार्थीको बीचमा आफूलाई निकै आनन्दित महशुस गर्छु । उनीहरूको हुलमुलमा रमाउँछु ।

पढेर जागिर खाने होइन जागिर दिन सक्ने हुनु पर्छ भन्ने मान्यता राख्छु । शिक्षाले सभ्यताको विकास गराउँछ भन्छु र मैले पढाएका विद्यार्थीहरू देशलाई माया गर्ने, देश विकासमा लाग्ने बनून् भन्ने इच्छा राख्छु । विदेश जाने, उतै पढ्ने, उतै बस्ने क्रम रोकिनु पर्छ भन्ने सोच्छु ।

म आफ्नो काम र कर्तब्यलाई माया गर्ने मान्छे । मलाई सिस्टममा काम गर्न र गराउन मन पर्छ । त्यसो गर्न खोज्दा कहिलेकाही म कति मानिसहरूका लागि कठोर र दम्भी पनि लाग्दो हुँ । त्यसै कारण कतिपय मैले चिनेजानेका मानिसहरूले मलाई भन्नु पर्ने कुरा पनि अरुमार्फत ल्याउने गर्छन् जुन मलाई मन पर्दैन । मसँग बोल्न डराउँछन् भनेको सुन्दा आफै छक्क पर्छु । किनकि म त्यस्तो अजङ्गको छुइनँ । न नै म रिसाहा स्वभावको छु । किन मसँग नजिकिन गाह्रो भो भन्ने सोच्छु । हुन त म आफू नै एकान्त मन पराउने मान्छे । पहिलो भेटमै अरुसँग सजिलै घुममिल हुन सक्दिनँ । समय लाग्छ । अरुबेला एक्लै बस्न पाए खुशी लाग्ने भएपनि स्कुलमा गइसकेपछि म विद्यार्थीको बीचमा आफूलाई निकै आनन्दित महशुस गर्छु । उनीहरूको हुलमुलमा रमाउँछु ।

म पहिला धेरै लजाउँथे बोल्न डराउँथे । अहिले त्यो छैन । ममा धेरै परिवर्तन भएको महशुस गर्छु । विभिन्न संघ संस्थाहरूमा संलग्न भइ कामहरू गर्ने सिलसिलामा ममा परिवर्तन भएको महशुस गरेको छु ।

मलाई काम गर्न गाह्रो लाग्दैन । मैले कुनै पनि काम सुरु गरेँ भने धेरै मिहिनेत गर्छु । कहिलेकाहीँ अरुले मुडी मान्छे भन्ने गरेको सुनेको छु । घरमा पनि ‘तपाईँ आफ्नो काम जसरि पनि गराउनु हुन्छ’ भन्छन् । मलाई अरुले घमण्डी भनेको पनि कहिलेकाहीँ सुन्छु । जुन मलाई कहिले कतिनि लाग्दैन । म मिहिनेती छु । इमान्दार छु । म सबै कुरा सम्भव देख्छु । तर कसैले नराम्रो बोलिदिए चित्त दुखिहाल्ने मेरो नराम्रो बानी छ ।

मलाई एक्सपायर भइएला भन्ने डर लागिरहन्छ । त्यसैले अपडेट हुनको लागि नोबेल, बायोग्राफी लगायत आफ्नो कामलाई सहयोग हुने कितावहरू पढ्ने गर्छु । भ्याएको बेला पढिहाल्नु पर्छ भनी मैले आफूलाई राम्रा लाग्ने र काम लाग्ने कितावहरू संकलन गरेको छु । पढ्ने मान्छे एक्सपायर हुँदैन भन्ने मेरो मान्यता छ ।

:185 Views

Leave a Reply