स्क्रयाबलमा भक्तपुरको गोल्डेन गेट र विनायक शिक्षा निकेतन बन्यो नेशनल च्याम्पियन

माघमा इन्टरनेशनल च्याम्पियनशिपमा भिड्ने

कास्की, मंसिर ८ । स्क्रयाबल क्लब पोखराद्वारा पर्वतको कुश्मास्थित आदर्श इंग्लिस बोर्डिङ्ग स्कूलमा आयोजित पाँचौ राष्ट्रिय अंग्रेजी स्क्रयाबल च्याम्पियनशिप २०१९ मा भक्तपुरको गोल्डेन गेट इंग्लिस सेकेण्डरी स्कूलका आयुशा अवाल र दीक्षांत परियार तथा मध्यपुरको विनायक शिक्षा निकेतनका जलज प्रजापति नेपालबाट नेशनल च्याम्पियन बन्दै अन्तर्राष्ट्रिय स्क्रयाबल च्याम्पियनशिपको लागि छानिन सफल भएका छन् । उनीहरु यसै वर्ष २३ जिल्लामा छुट्टाछुुट्टै रुपमा आयोजित जिल्ला च्याम्पियनशिपबाट छानिएर आएका २९ वटा विद्यालयका ६० जना च्याम्पियनहरु बीच भएको उक्त राष्ट्रिय च्याम्पियनशिपबाट जम्मा २० जना नेशनल च्याम्पियनहरु अन्तरराष्ट्रिय च्याम्पियनशिपका छानिने प्रावधान अनुरूप उत्कृष्ट प्रस्तुति सहित छानिन सफल भएका हुन् ।

उक्त च्याम्पियनशिपमा भक्तपुरबाट गत भाद्र ३१ गते गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलमा आयोजित जिल्ला च्याम्पियनशिपबाट छानिएका गोल्डेन गेट, विनायक शिक्षा निकेतन र प्रोवेस एकेडेमी गरी ३ वटा विद्यालयहरु सहभागी भएका थिए । नेशनल च्याम्पियनशिपको अन्तिम चरणको प्रतिस्पर्धामा गोल्डेन गेटकी आयुशा अवाल २१० अंकको स्कोर सहित भक्तपुरका प्रतियोगी मध्ये सर्वोत्कृष्ट भईन् भने गोल्डेन गेटकै दीक्षांत परियारले १७९ अंक र विनायक शिक्षा निकेतनका जलज प्रजापतिले १३७ अंक ल्याई तिनै जना नेशनल च्याम्पियन बने । उनीहरु अब आउँदो माघ १ गते पोखराको रेन्बो स्कूलमा आयोजना हुने अन्तर्राष्ट्रिय स्क्रयाबल च्याम्पियनशिपमा बंगलादेश, भुटान, भारत, मलेशिया, आदि देशका नेशनल च्याम्पियनहरुसँग भिड्ने छन् । प्रोवेस एकेडेमीकी रुचिना गोसाँई पनि पहिलो चरणबाट १५६ अंकसहित दोस्रो चरणसम्मका लागि छानिएकी थिईन् ।

स्क्रयाबल क्लबका भक्तपुर संयोजक तथा गोल्डेन गेटका प्रिन्सिपल एवं को—फाउंडर सिङ्ग लामाले भक्तपुरको यो पहिलो सहभागिता ऐतिहासिक र गौरवशाली रहेको बताउँदै स्क्रयाबल खेलले विद्यार्थीहरूको भर्वल—लिंग्विस्टिक, भिजुअल—स्पशियल तथा म्याथ—लजिकल इंटेलीजेंसको भरपूर विकास गर्ने भएकोले सबै विद्यालयले सानै उमेरदेखि विद्यार्थीहरुलाई यसको अभ्यास गराउनु पर्ने आवश्यकता औंल्याए ।

:293 Views

Leave a Reply