बिभिषिका र जून परी

वातावरण एकदमै शान्त र रमाईलो थियो । बगैंचामा थरी–थरीका रङ्गी–चङ्गी फूलहरू ढकमक्क फुलिरहेका थिए । चारैतिर फूलको सुवास मगमगाईरहेको थियो । राता–नीला–काला विभिन्न रङ्गका ठूला–साना पुतलीहरू फूलको रस चुस्दै नाँचिरहेका थिए । अनि चरीहरू चाहिँ रूखको हाँगामा बसेर चिर्बिर–चिर्बिर गर्दै मीठो स्वरमा गीत गाईरहेका थिए ।

सानी नानी बिभिषिका रङ्गी–बिरङ्गी पुतलीहरूको नाच हेर्दै दङ्ग परेर खेलिरहेकी थिइन् । उनी कहिले पुतली सङ्गै दगुर्थिन् त कहिले फूलमाथि बसिरहेको पुतलीले थाहा नपाउने गरेर पक्रन खोज्थिन् । तर पुतली पनि चलाख थिइन्, आफूलाई पक्रन लागेको थाहा पाउने बित्तिक्कै भुर्र उडिहाल्थिन् । बिभिषिका चाहिं “पख है त तिमीलाई” भन्दै झन्झन् पुतलीलाई लखेट्थिन् । अनि पुतली चाहिं कहिले यता, कहिले उता गर्दै बिभिषिकालाई छक्याउँदै भागिरहन्थिन् ।

बिभिषिका पुतलीसङ्ग यसरी नैं खेलिरहेकी थिइन् । एक्कासी उनलाई कसैले बोलाएको जस्तो लाग्यो । बिभिषिकाले यता–उता चारैतिर हेरिन् । तर त्यहाँ मात्र उनी, पुतली र चराहरू थिए अरू कोही थिएनन् । उनलाई अचम्म लाग्यो, तर फेरी पनि उनलाई कसैले “बिभिषिका” भनेर बोलाए झैं लाग्यो । तर यसपटक भने उनले जे देखिन् त्यो विश्वास गर्न नै सकिनन् । आफूभन्दा अलि ठूली केटी फूलहरूको झ्याङ्गको माझमा बसेर उनलाई नै बोलाइरहेकी थिइन् । उनले शिरमा सुनको मुकुट लगाएकी थिइन् । उनको लुगा जूनको उज्यालो झैं सेतो र चहकिलो थियो, लुगामा जडिएका हिरा–मोती टिल–पिल, टिल–पिल गरेर चम्किरहेका थिए । अझ अचम्मको कुरा त उनको जीउमा एक जोडी सेता पखेटा पनि थिए । उनले हातमा सुनकै एउटा सेतो छडी पनि बोकेकी थिइन् ।

उनी विस्तारै–विस्तारै फूलको झ्याङ्गबाट बाहिर निस्किइन् र बिभिषिकाको हात समाउँदै भनिन् – “बिभिषिका म पनि तिमीसङ्गै खेलूँ है?” उनको आवाज संगितको धुन जस्तै मीठो र सुरिलो थियो ।

बिभिषिकाले कथाका किताबहरूमा परीहरूको बारेमा धेरै कथाहरू पढेकी थिइन् र आज भने साँच्चि नैं एउटी परी उनीसँग खेल्न भनेर आएकी थिइन् ।
“हुन्छ, हुन्छ । हामी दुबै सङ्गै–सङ्गै खेल्ने है ।” बिभिषिकाले खुसी हुँदै भनिन् ।

“तिमीलाई त मेरो नाम पनि थाहा रहेछ । तिम्रो नाम चाहिं के हो नि ? अनि तिम्रो घर कहाँ छ?” बिभिषिकाले सोधिन् ।

“म यहाँ जूनको देशबाट आएको हुँ । त्यहाँ हाम्रो ठूलो दरवार छ । मेरो बाबा–आमा त्यहीँ बस्नुहुन्छ । अनि मेरो नाम चाहिं जून परी हो ।” परीले भनिन्– “म तिमीभन्दा अलि ठूली छु हैन, त्यसैले तिमीले मलाई परी दिदी भन्नु है ।”

अब परी दिदी र बिभिषिका बगैंचामा दगुरी–दगुरी खेल्न थाले । उनीहरूले भेट्टाई खेले, लुकामारी खेले, अनि अरू–अरू खेलहरू पनि खेले । उनीहरू धेरै बेरसम्म खेलिरहे र अन्तमा थाकेपछि रूखको छहारीमा गएर बसे । परी दिदीले किसिम–किसिमका खानेकुराहरू पनि ल्याएकीरहिछन् । दुबैले बाँडि–चुँडि खाए । खानेकुरा खाईसकेपछि बिभिषिकाले “नजाऊ–नजाऊ जून किरी” र “रूखै मुनि रोटी पिङ्ग” गीत गाइन्, अनि परी दिदी चाहिं आफ्ना सेता पखेटा फिजाउँदै गजबसित नाचिन् । नाच्दा–नाच्दै परी दिदीले आफूले लगाएको सुनको मुकुट बिभिषिकालाई लगाईदिइन् । अब भने बिभिषिकालाई आफू कस्तो देखिन्छु भनेर ऐनामा हेर्न पाए हुन्थ्यो भत्रे लाग्न थाल्यो ।

परी दिदीले कुरा बुझिहालिन् । “तिमीलाई आफू कस्तो देखिएँ भनेर हेर्न मन लाग्यो होला हैन त? एकैछिन पर्ख ल त ।” यति भनेर परी दिदीले बिभिषिकालाई आफ्नो सुनको छडीले यसो छोइदिइन् । सुनको छडीले छुने बित्तिकै उनले लगाएको लुगा पनि परी दिदीको जस्तै हिरा–मोती जडेको सेतो हुनपुग्यो । अनि परी दिदीले यसो छडी घुमाएको त एउटा ऐना पो देखा पर्यो । बिभिषिकाले ऐना अगाडि उभिएर आफूलाई हेरिन् । साँच्चि नैं उनी परी दिदी जस्तै राम्री देखिएकी थिइन् । उनको जीउमा पनि परी दिदीको जस्तै एक जोडी सेता पखेटा थिए ।

“अब हामी आकाशमा घुम्न जाने ल त ।” भन्दै परी दिदी उडिन् । बिभिषिका पनि परी दिदीको पछि–पछि उड्न थालिन् । उनीहरू दुबै जना उड्दै–उड्दै बादलभन्दा पनि माथि पुगे । आकाशमा उड्न पाउँदा बिभिषिकालाई एकदमै रमाईलो लागिरहेको थियो । त्यहाँबाट उनले सेता हिमाल, अग्ला–अग्ला पहाड अनि ठूल्ठूला समुन्द्रहरू पनि देखिन् । बिभिषिकालाई त अझै पनि उडिरहन मन लागिरहेको थियो । तर परी दिदीले अब झरौं भनेकोले उनलाई झर्न करै लाग्यो । उनीहरू दुबैजना हात समातेर बिस्तारै–बिस्तारै बगैंचामा ओर्लिए ।

अब भने परी दिदीको घर फर्कने बेला भयो । परी दिदीले भनिन्–“बिभिषिका, आज तिमीसङ्ग खेल्दा धेरै रमाईलो भयो । अब मेरो घर जाने बेला भयो, तिमी बस ल । म जान्छु ।”

तर बिभिषिकालाई भने परी दिदी सङ्ग छुट्टिन मनै लागेको थिएन । “नाइँ के, तिमी सधैं म सङ्गै बस न । अनि तिमी र म सधैं सङ्गै–सङ्गै खेल्ने, हुन्न परी दिदी?”

“अहँ, हुन्न हुन्न । मेरो बाबा–आमाले पीर मान्नुहुन्छ । तिमीसङ्ग खेल्न म फेरी पनि आउँछु नि ल । त्यतिखेर आउँदा म तिमीलाई राम्रा–राम्रा खेलौनाहरू ल्याईदिन्छु । ल त, म गएँ । बाइ ।” परी दिदी उडेर गइहालिन् ।

परी दिदी जाने वित्तिकै बिभिषिकाको लुगा पहिलेको जस्तै भयो र पखेटा पनि हरायो ।

अब बिभिषिका भने रून थालिन्– “नाईँ, के म मान्दिन के । तिमी त छुच्ची दिदी । अब म तिमीसङ्ग कहिल्यै पनि बोल्दिन के ।” बिभिषिका रोइनैरहिन् ।
“ओहो ! कस्तो अबेरसम्म सुतिरहेको । ल हेर, घाम झुल्किसक्यो । छिटो उठ छिटो उठ । स्कुल जान अबेर हुन्छ ।” आमाले सिरक तान्दा पो बिभिषिका झसङ्ग भइन् ।

उनी त सपनामा पो परी दिदीसङ्ग खेलिरहेकी रहिछन् । उनी आफैलाई हाँसो पनि उठ्यो । तर सपनामा परी दिदीसङ्ग खेलेको दृश्य सम्झँदा बिपनामा पनि बिभिषिकालाई रमाईलो लागिरहेको थियो ।

(बच्चा बेलामा सधै सोनपरी बन्ने सपना देख्ने अनि कल्पनाको दुनियाँमा सोनपरी सङ्गै रमिरहने मेरी ठूली भान्जी बिभिषिकाप्रति सप्रेम समर्पित ।)

:368 Views

Leave a Reply