इसिइबिसि सम्मेलनः शिक्षकका लागि व्यावहारिक सिप

ललितपुर । ललितपुरस्थित ब्रिटिस स्कुलमा ‘जीवनको लागि व्यावहारिक शिक्षा’ भन्ने विषयमा प्रारम्भिक बाल्यकाल र आधारभूत शिक्षा सम्मेलन (इसिबिइसि) सम्पन्न भएको छ ।

इसिइसि (प्रारम्भिक बाल्यकाल र शिक्षा केन्द्र) को आयोजनामा भएको सम्मेलन मंसिर १४ र १५ गते २ दिन सञ्चालन गरिएको थियो । शिक्षालाई कसरी व्यावहारिक बनाउने भनेर सिकाउनका लागि सम्मेलन गरिएको बताउँदै इसिइसिका प्रबन्ध निर्देशक पिताम्बर न्यौपाने भन्छन्, ‘एसईई पास गर्न, राम्रो नम्बर ल्याउन, सर्टिफिकेट र जागिर पाउनका लागि नभई जिन्दगीभरिका लागि चाहिने सिपहरुका बारेमा विद्यार्थीहरुलाई सिकाउनु आवश्यक छ । कुनै उमेरसम्मका लागि मात्र नभई जीवनभरका लागि बाटो देखाउने शिक्षा कसरी दिने भन्ने कुरा यस सम्मेलनबाट सिक्न सकिन्छ । सहभागीले कार्यशालाबाट किताबी ज्ञानबाहेक व्यावहारिक सिप र शिक्षा पाउनुहुन्छ ।’

कार्यक्रमको पहिलो दिन फाउन्डर निर्देशक राईनी दि विटले ‘जीवनको लागि प्रयोगात्मक शिक्षा’ को परिचय दिइन् भने सिगांपुरको सेन् जेम्स प्रि–स्कुलकी प्रिन्सिपल ज्याकलिन चुङ्ले ‘कलामार्फत बालबालिकाको सोचलाई सशक्त बनाउने’ विषयमा प्रस्तुती दिएकी थिइन् । त्यस्तै नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा. लेखनाथ शर्माले ‘नेपालमा व्यवहारिक शिक्षाका लागि नीति, रणनीतिको महत्व र सरकारी निकायको भूमिका’ का बारेमा र त्रिविको मनोविज्ञान विभागकी प्रमुख तथा प्राध्यापक डा. रिता श्रेष्ठले ‘बालबालिकाको बौद्धिक विभाग र गृह वातावरण’ को बारेमा आफ्ना प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले एकदिनमा दुई वटा वर्कसपमा बस्न सक्ने व्यवस्था मिलाइएको थियो । एक पटकमा १४ वटा वर्कशप सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको दोस्रो दिन नेपालबाट फ्रिलाइन्सरको रुपमा काम गर्दै आइरहेकी क्यारी मिशलले ‘जीवनका लागि व्यावहारिक शिक्षाः प्रारम्भिक बाल्यकालको शिक्षामा ग्लोबल प्रवृत्ति र स्थानिय तनाव’ का बारेमा प्रस्तुती दिए भने काठमाडौँ विश्वविद्यालय शिक्षा संकायका प्राध्यापक डा. बालचन्द्र लुइटेलले ‘बालबालिकाको भविष्य सृजना गर्न मद्दत गर्दैः प्रारम्भिक र आधारभूत शिक्षाको परिवर्तनकारी दृष्टिकोण’ का विषयमा बोलेका थिए । त्यस्तै जापानको कोनान् महिला विद्यालयकी प्राध्यापक आन मायदाले ‘प्रारम्भिक उमेरमा पढ्ने र सिकाउने एजेन्सी’ को बारेमा बोलेकी थिइन् ।

सम्मेलनको अन्तिममा इसिइसिका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले ‘जीवनका लागि प्रयोगात्मक शिक्षा’ का बारेमा जानकारी दिएका थिए ।

चितवनको हेब्रोन मन्टेश्वरीकी प्रिन्सिपल आलीस् जोन्ले सम्मेलनबाट बालबालिकालाई सहभागीता गराउँदै काम गर्नुपर्ने कुरा सिकेको बताउँदै उनी भन्छिन्, ‘मैले डायोजिक टक कार्यशालामा बसेर त्यहाँबाट समान सहभागीता कसरी गर्ने भन्ने कुरा सिकेँ । त्यस्तै बल्कहरु खेल्न नयाँ तरिकाका बारेमा थाहा पाएँ । यो कार्यक्रमबाट सिकेका कुरा म मेरा शिक्षक–शिक्षिकालाई पनि सिकाउने छु ।’

त्यस्तै काभ्रेको बनेपास्थित हिकारी किन्डरगार्डेनकी शिक्षिका उमा खत्री प्रि–स्कुलमा कसरी गृहकार्य गराउने र कथा भन्ने तरिकाका बारेमा सिकेको उल्लेख गरिन् । उनले नानीबाबुलाई घोकाएर मात्र नभई प्रयोगात्मक रुपमा ज्ञान र सिप सिकाउनका लागि यो सम्मेलन उपयुक्त रहेको बताइन् ।

सम्मेलनमा प्रि–स्कुल र प्राइमरि स्कुल, शिक्षामा रुचि राख्ने व्यक्तित्व, अभिभावक लगायत जम्मा ३२६ को सहभागिता रहेको आयोजक समूहले जानकारी दिएको छ ।

:637 Views

Leave a Reply